अस्ट्रेलियाको सिड्नीमा वाणिज्यदूतको नयाँ कार्यालय स्थापना भएको छ।
न्यु साउथ वेल्समा स्थापना भएको कार्यालयको अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले उद्घाटन गरेकी छन्।
उद्घाटन कार्यक्रममा बोल्दै राजदूत यादवले आफूले आर्थिक कूटनीति र उच्चस्तरीय भ्रमणमा ध्यान दिने बताइन्।
‘हामीले आफ्नै भवन बनाउन पर्नेछ। नेपाल र अस्ट्रेलिया सीधा हवाई उडान मेरो प्राथमिकतामा छ,’ उनले भनिन्, ‘कन्सुलेट कार्यालयले राम्रोसँग काम गरून्। मेरो तर्फबाट सहजीकरणको काम हुन्छ।’
न्यु साउथ वेल्सका वाणिज्यदूत सञ्जीव शर्माले नेपाली समुदायको समस्या समाधानमा आफूले सक्दो प्रयास गर्ने बताए।
‘मैले पर्यटन प्रबद्र्धनमा काम गर्छु। अस्ट्रेलियाबाट नेपाल पर्यटक लैजानु मेरो प्राथमिकता हुनेछ,’ उनले भने, ‘दोश्रो पुस्तालाई नेपाल चिनाउनको लागि युथ एडभाइजरी काउन्सिलमार्फत् मेरो सक्रियता रहन्छ। म तपाईंहरूसँगै मिलेर अगाडि बढ्छु।’
अस्ट्रेलियन नेपाली पत्रकार संघ (एन्जा) का अध्यक्ष चिरञ्जीवी देवकोटाले राजदूतले पार्टी र समुदाय भन्दामाथि उठेर काम गर्नुपर्ने बताए।
वाणिज्यदूतको कार्यालय नेपाली मौलिकता झल्किने गरी स्थापना गरिएको छ।