अस्ट्रेलियाको न्यु साउथ वेल्सका वाणिज्य दूत सञ्जीव शर्माले दोहोरो करको प्रावधान हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा न्यु साउथ वेल्सका वाणिज्य दूत शर्माले लगानीको वातावरण बनाउनका लागि दोहोरो कर प्रणाली हटाउन पर्ने माग राखेका हुन्।
‘नेपालमा विदेशी लगानी ल्याउनको लागि सहज वातावरण बनाउनुपर्छ। अहिले पनि कतिपय अफ्ठ्यारा प्रावधानहरू बाँकी छन्। यसलाई मिलाउन पर्छ भनेर भनेको छु,’ शर्माले भने, ‘प्रधानमन्त्रीज्यूले विदेशी लगानीलाई सहज बनाउन सरकार प्रतिबद्ध छ भनेर भन्नुभयो। उहाँले त्यसकै लागि सरकारले अध्यादेशसमेत ल्याएको बताउनुभयो।’
भेटमा आफूले प्रधानमन्त्री ओलीलाई अस्ट्रेलिया भ्रमणको निम्तो दिएकोसमेत उनले बताए।
‘मैले प्रधानमन्त्रीज्यूलाई अस्ट्रेलियाको भ्रमण गर्नुपर्छ भनेर भनेको छु। हामीले त्यहाँ राजनीतिक भेटघाट मिलाउन सक्छौं,’ उनले भने, ‘यसअघि पनि त्यो तयारी भएको थियो। अहिले अस्ट्रेलियामा चुनावको तयारी भए पनि अब छिट्टै उच्चस्तरीय भ्रमण गर्नुपर्छ भने सुझाव दिएको छु।’