‘दिदी परदेशी भाइको तीजको निम्तो छ है, दर खान आउनू। यतै रमाइलो गर्नुपर्छ। हतार भए पञ्चमीको भोलिपल्ट छाड्न जाउँला नि बरू,’ मैले फोनमा यति के भनेको थिए उताबाट कान्छी दिदि सुक्क सुक्क गरेर रुन पो थाल्नु भयो।
मैले ठट्यौली पारामा दिदीलाई निम्तो गरेको त साच्चिकै पिर पो परेछ। पिर नपरोस् पनि कसरी तीजमा निम्तो गर्ने भाइ परदेशिएको छ।
परदेशिएको पनि ठ्याक्कै ९ वर्ष नेटो काटिसकेको छ। यी ९ वर्षमा कुनै पनि दिदीलाई दाइ भाइ तीजमा लिन गएका छैनन्।
फोनमा निम्तो गरेर प्रत्येक पटकको तीज गएको छ। परदेशी दाजुभाइको विवशता पक्का पनि दिदीले बुझेका छन्। हरेक वर्षको तीज र तिहार दिदीहरुको खल्लो हुने गरेको छ।
सायद पीरले होला आँखाभरी आँसु पारेर बसेको फोटो मैले उहाँको बोलीबाट पाएको छु।
मोबाइलको प्रयोग कम हुँदा म दिदीलाई नै लिन पुग्थेँ। माइली दिदी र कान्छी दिदी अली टाढा हुनुभाकोले म कान्छो काकाको साथी बनेर जान्थेँ।
दिदीहरूको मुहारमा आएको खुसीले मलाई उमंगित बनाइदिन्थ्यो। म अरू दिदीभन्दा कान्छी दिदीसँग बढी निकट थिएँ। उहाँको बिहे नहुन्जेल धेरै जसो म उहाँकै संगतमा हुन्थेँ। त्यतिखेरसम्म माइली र ठूली दिदीको बिहे भएर गइसक्नु भाको थियो।
जब दिदीहरू तीजमा जम्मा हुनुहुन्थ्यो तब अर्कै रमाइलो हुन्थ्यो। दर खाने दिन त झन् गज्जब रमाइलोको आभास हुन्थ्यो।
मलाई अझै पनि याद छ भोलि तीजको व्रत बस्नुपर्छ भनेर आमाले घिउ भात दिदीहरुलाई टन्न खुवाउनुहुन्थ्यो। रातको ठीक ११:४५ बजे अन्तिम दर हुन्थ्यो। अनी अर्को दिन तीज।
दिदीहरू पञ्चमी सकेर घर गइसकेपछि दिनहरूले सोही रमझम जमघटको लागि तिहार कुर्नुपर्थो। ९ वर्ष पहिले अहिले जस्तो आधुनिक गीतको जमाना थिएन। उहाँहरूले आफ्नै भाखामा सत्य घटनामा आधारित गीतहरू गाउने गर्नुहुन्थ्यो।
कुनै कुनै चलन चल्तिका गीतहरूले प्रत्येक वर्ष स्थान जमाउँथे।
तर ९ वर्ष पछिको समय ठ्याक्कै उल्टो भएको छ। म विदेश लाग्ने वर्ष नै मेरो कान्छो काका त्रिशूलीमा ट्रक खसेर बित्नु भयो। उहाँ आफैं ट्रक चलाउनु हुन्थ्यो। ४ दिन पछि उहाँको शव घटनास्थलबाट १० किमी टाढा त्रिशूली किनारमा भेटियो। काका पनि हामीलाई छाडेर जानुभो। हामी पनि त्यही समयमा परदेशी भयौ।
त्यसपछिका धेरै तीजहरु काकाकै यादमा दिदीहरूले रोएर बिताउनु भएको छ। हामीलाई नि निकै रमाइलो लाग्दथ्यो। अहिले रूँदा रूँदा आँसु सकिएर पनि होला मुहारमा अलिकति खुसी देखिन्छ। तर, दाजुभाइ बिनाको तीजको महशुसले पक्का पनि पिरल्दो हो। जसरी हामीलाई परदेशमा दिदीहरुको यादले पिरोल्छ।
म फुपु दिदीलाई दिदी भनेर बोलाउँछु। ठूल्दिदी, माइली दिदी अनी कान्छी दिदि। हाम्रो तर्फ ३ भाइ छौं भने माइलो काका तर्फ २ भाइ छन्। दुवैका दिदी बहिनी छैनन्।
कान्छो काका पट्टी २ बहिनी छन् तर सानै छन्। त्यसकारण पनि हामीले फुपूहरुलाई दिदी नै भन्छौ। अहिलेसम्म फुपु भनेर सम्बोधन गरेका छैनौं।
बेल्जियम आइसकेपछिका केही वर्ष तीजको बेलामा बोल्नै नसकेर फोन काटेको अनुभवले अहिले पनि दुःखित तुल्याउँछ।
काका बितिसकेपछि कान्छी काकी र हजुरआमाले सके लिन जानुहुन्छ नत्र उहाँहरू आफैं आउनुहुन्छ। तर, जमघट कम हुन्छ। हरेक तीजमा कान्छो काकाको यादले स्थान पाउँछ र माहोल भवबिहोल बन्छ। बाँकी २ दाइ विदेश।
त्यसपछिका तीजमा सधैं कान्छी काकी र हजुरआमाले दिदीलाई निम्तो गर्नुहुन्छ वा लिन जानुहुन्छ। आमा अर्थात् मेरी हजुरआमा उमेरले ४ बीसको नजिक हुनुहुन्छ। ती दिदिहरूलाई निम्तो गर्ने दर खुवाउने रमाइलो गराउने कान्छी काकी र आमा मात्रै हुनुहुन्छ।
दाजु भाइको न्यास्रो लाग्दो हो। तर, परदेशिएका दाजुभाइ कुन तीजमा आउने हुन टुंगो छैन।
मेरो घरमा मात्रै होइन धेरै परदेशिएका दाजुभाइको घरमा अवस्था उस्तै छ। दिदी बहिनीलाई तीजको मज्जा छैन। के गर्नु विवशता छ। धेरै दिदी बहिनीको तीज यस्तै विवशतामा गुज्रिएको छ।
परदेशिएका दाजुभाइको तर्फबाट सबै दिदी बहिनीले टन्न दर खानुस्, तीज मनाउनु अनी पञ्चमी गर्नुहोला। तपाईँहरूको दाजु भाइ परदेशबाट छिट्टै फर्कने छौं र पुन ९/१० वर्ष अघिको जस्तै जमघट भएर रमाइलो गरौंला।