केही समय अघि स्थापना भयको स्पेनस्थित नेपाली राजदूत भरत बहादुर रायमाझीलाई हटाउने चलखेल सुरु भएको छ। दूतावासमा कार्यरत कर्मचारीको राजनीतिक मिलोमतोमा रायमाझीलाई हटाउने खेल सुरु भएको हो।
नेपाली दुतावास स्पेनमा अहिले राजदूत रायमाझीसहित गरेर ३ कर्मचारी कार्यरत छन्। प्रथम सचिव हरिहर कान्त पौडेल र द्वितीय सचिव भोजराज भट्टराईको पोस्टिङ रहेको छ। प्रथम सचिव पौडेल र राजदूत रायमाझी बीचको सम्बन्ध राम्रो छैन।
रायमाझी सैनिक जागीरेबाट राप्रपाको कोटाबाट राजदूत बनेर आएका हुन्। पौडेलको इजरायल पोस्टिङमा बाकी रहेको २ वर्षे कार्यकाल स्पेन तिर सारेर यता आए। पौडेल नेकपा एमाले निकट व्यक्ति हुन्। यही राजनीति चलखेलको कारण यी दुईको सम्बन्ध राम्रो छैन जसको कारण राजदूत रायमाझी फिर्ता पठाउने चलखेलमा पौडेल लागेका छन्।
केही समय अघि बार्सिलोनामा प्रथम सचिव पौडेल र एमालेका कार्यकर्ता बीच भेटघाट भएको थियो। उक्त भेट्घाट राजदूत रायमाझी केन्द्रित रहेको सहभागी मध्येका एकले बताए।
पौडेलले पत्रकारसँग पनि छुट्टै भेट्घाट गरेका थिए। उक्त भेट्घाट पश्चात मिडियाहरुमा राजदूत लक्षित गरेर उनका विरुद्धमा समाचार प्रकाशित भए। समाचार राजदूतको कार्यशैलीमा पूर्वाग्रह रुपमा प्रहार गरिने खालको देखिएको थियो। तर, राजदूत रायमाझी समाचार र वास्तविकतामा सत्यता नभएको दाबी गरेका छन्। आफूहरु नेपाल सरकारको नियम अनुसार नै कार्य गरेको र गरिने सेतोपाटीलाई बताए।
‘अहिले जति पनि मिडियामा प्रोपागान्डा भएका छन् सबै राजदूत हटाउने चलखेल मात्रै हो। प्रथम सचिव हरिहर कान्त पौडेलले राजदूत हटाएर आफू कार्यबाहक राजदूत बन्ने लाइनमा छन् जसले गर्दा आफ्नो आगामी प्रमोसनको लागि उनलाई बढी सहयोग पुग्नेछ, ‘स्पेनमा कार्यरत गंगा भुषालले बताए।
त्यसै गरेर स्पेनको बार्सिलोना निवासी गोपाल रेग्मीले पनि राजनीतिक चलखेल भएको प्रष्ट पारे। भुषालको कुरामा उनी सहमत देखिए। उनी भन्छन्, ‘राहदानी पाउने कुरामा दुःख नै पाएका नेपाली कम नै छन्। सैनिक विभागबाट राजदूत बनेर रायमाझीबाट पनि गल्ती हुन सक्छ। तरऽ ठूलो इस्यू बनाउनु पर्ने देखिँदैन।’
अहिले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि एमाले पार्टीको भएकाले राजदूत चेपुवामा परेका हुन्। स्रोतका अनुसार प्रथम सचिवलगायत केही व्यक्ति मन्त्रालयसम्म उनलाई फिर्ता बोलाउन लागिपरेका छन्। जुन निकै लज्जास्पद देखिएको छ।
यसै सबन्धमा नेपाली दुतावासका प्रथम सचिव पौडेललाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। दूतावासले इमेलको जवाफ पनि दिन सकेन। यस बारेमा राजदूत भरत बहादुर रायमाझीले भने, ‘मेरो पदीय हैसियतले कसले के गरे वा गरिरहेका छन् भन्ने कुरो मैले भन्न मिल्दैन तर म सैनिक विभागबाट आएको हुनाले मैले देश र जनताको हित र फाइदाका लागि सधैं पहिलो स्थानमा राख्ने गरेको छु र त्यही अनुसार काम गरिरहेको छु। कोही पनि द्विविधामा नपर्न म अनुरोध गर्दछु।’