आइल्याण्डको चारैतिर नदि छ। नदिमा पुल छैन। पुल नभएपछि सडक सुविधा हुने त कुरै भएन। बर्षातमा डुंगा चल्ने सोही स्थानमा हिउँदमा भने धमाधम गाडी चलिरहेका हुन्छन्। सुन्दा अपत्यारीलो लाग्न सक्छ तर यो सत्य हो।
उत्तरी क्षेत्रको तापक्रम माइनसबाट तलतिर झर्दै जाँदा नदिको माथील्लो भागमा पानी जम्न थाल्छ। तापक्रम लगातार माइनस २० भन्दा तल झरेपछि नदिको माथील्लो भागमा जमेको आइस बाक्लिँदै जान्छ। आइसको मोटाइ निश्चित बिन्दुमा पुगेपछि त्यसले गाडिको तौललाई धान्न सक्ने हुन्छ र त्यसमाथीबाट गाडी चलाउन सम्वन्धित क्षेत्रका अधिकारीहरुले अनुमति दिन्छन्। यसरी यसरी हिउँदमा मात्र चलाउन मिल्ने गरि बनाइएको सडकलाई “विन्टर रोड” भनिन्छ। कार, जीप मात्र होइन ट्रक र ट्यांकर समेत चल्ने गर्दछन् विन्टर रोडमा।
यहि विन्टर रोडको प्रतिक्षामा बसेका हुन्छन् सहज आवतजावतका लागि ओन्टेरीयाको उत्तरी क्षेत्रका बासिन्दा।
क्यानडाको ओन्टेरियो प्रान्तलाई उत्तरी ध्रुब जोडने जेम्स बे को नगिचै रहेको आइल्याण्डको नाम हो मुझ फ्याक्ट्री। टोरोण्टोबाट करिव ९ सय किलोमिटर उत्तरमा पर्ने यो आइल्याण्डमा २६ सयको संख्यामा क्रि नाम गरेका आदीबासीहरु बस्छन्।
मुजफ्याक्ट्रीको वरपर मुजनी, क्यास्काच्युन, फर्ट अल्बानी, पिवानुक र अटवाविस्केट गरि ५ वटा स साना रैथाने आदीबासीहरुकै समुदाय छन् जहाँ करिव १० हजारको संख्यामा मानिसहरु बसोबास गर्छन। सवैलाई हिउँदमा आजेजातेको चाँजोपाजो मिलाउने काम विन्टर रोडले नै गर्छ।
यी मध्ये मुजनीसम्म कक्रिनबाट रेलमार्ग जोडिएको छ। बाहेकका अन्य समुदायमा हिउँदमा विन्टर रोड र बर्षातमा डुँगाबाट आवतजावत हुने गर्छ।
समरमा डुँगा र हिउँदमा गाडीले मात्र पनि यहाँका बासिन्दाको यातयातको आवस्यकता पुरा हुँदैन। अक्टोबर, नोभेम्वरमा हिउँ पर्न शुरु गर्छ। नदिमा हिउँ जम्मा हुन थालेपछि डुँगा चल्दैन र गाडी चलाउन मिल्ने गरि नदिमा आइस जमिसकेको हुँदैन, त्यसबेलाको नियमित साधन हेलिकोप्टर हो। हिउँ पर्न शुरु गर्दा र पग्लींदा बर्षको २ पटक करिव २ देखि ३ महिनासम्म यहाँ हेलिकोप्टर चल्ने गर्छ।
मुझ रिभर नामको नदिले मुझफ्याक्ट्रीलाई आइल्याण्ड बनाएको हो। यो नदि मुझफ्याक्ट्रीबाट करिब २५ किलोमिटर उत्तरतर्फ बगेपछि जेम्स वे मा मिसिन्छ। जेम्स वे, हड्सन र बफिन वे हँुदै उत्तरी ध्रुव ग्रिनल्याण्ड संग जोडिन्छ। यो भन्दा माथी जेम्सवे तिर बस्ती छैन।
यहाँका बासीन्दा केहि पुस्ता अघिसम्म नेपालका राउटे जस्तै फिरन्ते प्रकृतिका थिए। समरमा मुझफ्याक्ट्रीमा आएर आलु, गाजर लगाएतका तरकारी खेती गर्थे र हिउँदमा शिकर खेल्न जाने उनिहरुको पुरानो परम्परा हो। तर अहिले भने आधुनिकतासंग जोडिएका कारण नयाँपुस्ताले आधुनिक जिवनशैली अपनाउँदै आएका छन्। पुर्खौली पेशालाई उनिहरुले शोखका रुपमा लिने गरेका छन्। बर्षको २ पटक शिकार गर्न जाने र बन्यजन्तु मारेर बर्ष भरिलाई पुग्ने गरि मासुको जोहो गर्ने परम्परा भने अझै पनि निरन्तर छ। तर खेतिपातीको काम धेरैले छाडिसकेका छन्।
यहाँका एक बृद्ध भन्छन् “आज भन्दा ५० बर्ष पहिले यहाँ बिजुलि थिएन। माइनस ५० को जाडोमा बाहिरै दिसा पिसाब गथ्र्यौँ, कहिले काहिँ त धेरै चिसोले गर्दा पिसाब गर्न बस्यो आउदै नआउने ”। उनी थप्छन “हामीलाई समर भन्दा विन्टर रमाइलो लाग्छ किनकि विन्टर रोडका कारण डुलधुमका लागी सजिलो हुन्छ।”
हिउँ र चिसोबाट बच्न उनिहरुले गोलघर, जसलाइ स्थानिय भाषामा टिपि भन्दछन्, निर्माण गर्दथे र त्यसभित्र निरन्तर आगो बालिरह्न्थे। विद्युतको सुविधासँग जोडिएपछि त्यस्ता टिपिहरु अहिले देखाउनका लागि मात्र राख्ने गर्छन्।
परिबार पाल्ने कर्मका लागी समय र सन्दर्भले मलाई यहि ठाउँमा डोर्यायो जहाँ चौथो हिउँद बिताइरहेको छु। दक्षिण मेस्किकोबाट उत्तरतिर चरनका लागी सयौँ माइलको दुरी पार गर्दै यहाँ आउने चराहरु जसरी दक्षिण एसियाबाट उत्तरी ध्रुवमा चर्न आएको म। माइनस ५० को चिसोसंग पौठेजोरी खेल्ने अबसर मिलेको छ। जीबन जिउने क्रमका फरक अनुभुती मध्ये एक सम्झन लायक समयावधी हो भन्न रुचाउँछु।
विहानै उठ्नु भालुभुत्ले ज्याकेट, बाघकाने टोपी, स्कि पाइन्ट र बख्खु पन्जा लगाएर काममा जानु अनि बेलुकि त्यहि पहिरनमा घर फर्किनु यो सिजनमा मेरो दिनचर्या हो। घरबाहिरको डुलघुम करिब ५ महिनाका लागि वन्द प्राय हो, किनकि यहाँको तापक्रम हिउँदमा औषत माइनस ३० भन्दा तल नै हुन्छ। माइनस ३० को चिसोमा के को हिँडडुल ?
२ बर्ष पहिले यहाँ ५ परिवार नेपाली थियौं। ३ परिवार बेंशि झरिसक्नुभएको। २ परिवार अझै लेकतिरै छौ, बेँशी झर्ने दिनको पर्खाइमा कहिले साइत जुर्ने हो टुंगो छैन।