गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा क्यानडाबाट अभिमन्यू बस्नेतले आफ्नो उम्मेदवारी पेश गरेका छन्।
विगत १२ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय रहेका बस्नेतले आउँदो कार्यकालका लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।
सन् २०१३–१५ कार्यकालमा उनी एनसिसी क्यानडाको उपाध्यक्ष थिए। त्यसपछि दुई कार्यकाल आइसिसी सदस्य भएर काम गरे। हाल उनी अमेरिका क्षेत्रको क्षेत्रीय उपसंयोजक पदमा कार्यरत छन्।
एनआरएनएको कोषलाई सबल र समुन्नत बनाउने अठोटसहित सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बस्नेतले बताए।
संघको कोषलाई पारदर्शी बनाउने र आर्थिक अनुशासनको मापदण्ड बनाउने प्रतिबद्धता समेत उनले गरेका छन्।
संस्थालाई आर्थिक रूपमा सबल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्बन गरेर कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, कोषको पारदर्शिता र मितव्ययी परिचालनमा आफू केन्द्रित रहने उनका प्रतिबद्धता छन्।
नेपाली नागरिकता निरन्तरताको लागि समेत पहल गर्ने उनले बताए।
मध्यपूर्वी तथा एसियाली मुलुकमा कार्यरत नेपाली श्रमिकका हकहितका लागि आफूले काम गर्ने बस्नेतको भनाइ छ।