चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना संक्रमण भित्रिएको आशंकामा परीक्षणलाई कडा पारेको छ।
चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ संक्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाइ गरेको हो ।
चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ संक्रमित विरामीमा यूरोपमा कोरोना भाइरस संक्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ ।
चिनियाँ अधिकारीहरूले राजधानी बेइजिङको सिनफादी मासु बजारमा काम गर्ने वा व्यवसाय गर्ने व्यक्तिमा संक्रमण भेटिएपछि वरपरका विद्यालय तथा वस्तीहरूलाई बन्दगरी त्यहाँका सयौँ हजार नागरिकको कोरोना संक्रमण परीक्षण सुरू गरेको छ।
यसैबीच राजधानी बेइजिङ्मा थप २५ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको र योसँगै दोस्रो चरणमा संक्रमित हुनेको संख्या १८३ पुगेको छ।
पछिल्लो चरणमा संक्रमण भेटिएका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको संक्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए।
चीनमा पछिल्लो चरणमा फैलिएको संक्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उनको दावी रहेको छ।
सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा संक्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन्।
यसै आधारमा चीनमा पछिल्लो समय देखिएको संक्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो।
चीनले सीफुडका १५ हजार ६३८ नमूना संकलन गरी परीक्षण गरेको थियो तर ती सबैमा कोरोना भाइरसको संक्रमण भेटिएको थिएन।
(रासस)