चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूससँग युद्ध लडिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीबीच टेलिफोन वार्ता भएको छ।
पिपुल्स डेलीका अनुसार चिनफिङ र जेलेन्स्कीबीच बुधबार फोनमा कुराकानी भएको हो।
कुराकानीका क्रममा चिनफिङले जारी रूस-युक्रेन युद्धमा आफ्नो देशले आगोमा घ्यु थप्ने काम नगर्ने बताएका छन्।
यसअघि आजै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि चिनफिङसँग टेलिफोनमा कुराकानी भएको र त्यो निकै महत्वपूर्ण भएको बताएका थिए।
गत वर्ष फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलो पटक चिनफिङले जेलेन्स्कीसँग कुरा गरेका हुन्। रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भने उनले यो अवधिमा पाँच पटक कुरा गरेका छन्। गत महिना उनले रूसको भ्रमण नै गरेका थिए।
चीनले अन्तर्राष्ट्रिय फोरमहरूमा रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेको छैन। मस्को भ्रमणका क्रममा चिनफिङले युद्ध रोक्ने शान्ति प्रस्ताव पनि सार्वजनिक गरेका थिए। तर उनको प्रस्ताव युक्रेनसहित पश्चिमा देशहरूले अस्वीकार गरिदिएका थिए।
आजको कुराकानीका क्रममा चिनफिङले युद्धका सबै पक्षबीच कुराकानीको वातावरण बनाउन विशेष चिनियाँ दूतलाई युक्रेन पठाउने बताएको सिसिटिभीले उल्लेख गरेको छ।