घट्दो जनसंख्याको कारण श्रमिकको संख्यामा आएको गिरावटलाई कम गर्न चीनले सन् २०२५ देखि लागु हुने गरी अवकाश पाउने उमेर पाँच वर्षसम्मले बढाएको छ।
चिनियाँ संसदको स्थायी कमिटीले १५ वर्ष भित्रमा विस्तारै परिवर्तन गर्ने गरी अवकाशका लागि उमेर हद बढाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
सन् १९७८ पछि पहिलो पटक परिवर्तन गरिएको अवकाशको उमेर अनुसार पुरूषले अब ६३ वर्षमा अवकाश पाउने छन् भने महिलाले ५५ वर्षमा व्यवस्थापकीय अहोदामा रहेका महिलाले भने ५८ वर्षमा अवकाश पाउने छन्।
विस्तारै लागु हुने नयाँ उमेर हदका लागि चीनले कुन सालको कुन महिनामा जन्मेको पुरूष र महिलाले कहिले अवकाश पाउने छन् भनेर तालिका बनाएको छ।
सो तालिका अनुसार जनवरी सन् १९७१ मा जन्मिएको पुरूषले ६१ वर्ष ७ महिनाको उमेरमा अगस्ट सन् २०३२ मा अवकाश पाउने छ भनेर समाचार संस्था एसोसिएटेड प्रेसले लेखेको छ।
त्यस्तै मे सन् १९७१ मा जन्मिएको पुरूषले ६१ वर्ष ८ महिनाको उमेरमा जनवरी सन् २०३३ मा अवकाश पाउने छ। १५ वर्ष पछि भने सबै पुरूष र महिलाले क्रमश: ६३ र ५५ वर्षमा अवकाश पाउने छन्।
चीनमा अहिले पुरूषले ६० वर्ष र महिलाले ५० वर्षमा अवकाश पाउँछन्। यो विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरूमा सबैभन्दा कम मध्ये पर्छ।
पछिल्लो पटक अवकाशको उमेर सन् १९७८ मा बढाउँदा चिनियाँ जनताको आयु ६६ वर्ष रहेकोमा अहिले ७८ वर्ष पुगेको छ।
काम गरेर कर तिरिरहेको मान्छेले अवकाश पाएर पेन्सन लिन थाल्दा उसले राज्य कोषमा योगदान गर्नुको साटो त्यहाँबाट उल्टै पैसा जान्छ। मान्छेको आयु बढ्दै जाँदा अवकाश पाएपछि उनीहरूले पेन्सन पाउने समय बढ्दै जान्छ। धेरै वर्षसम्म पेन्सल ख्वाइरहँदा राज्यकोषमा भार बढ्छ भने पेन्सन पाएर काम नगरी बस्दा अर्थतन्त्रमा पनि नकारात्मक असर पर्छ।
चीनको नयाँ अवकाश नीतिले घट्दो जनसंख्याका कारण भएको श्रमिकको अभाव कम गर्नेछ। त्यसले श्रमिक अभावका कारण अर्थतन्त्रको वृद्धीदरमा हुने ह्रासलाई कम गर्ने छ। अर्को तर्फ अवकाशको उमेर बढाउनाले पेन्सनका कारण राज्यमा पर्ने भारलाई पनि कम गर्नेछ।
अवकाशको अहिलेको उमेर कायम रहने हो भने सन् २०३५सम्ममा पेन्सन कोष टाँट पल्टिनेछ भनेर चाइनिज एकाडेमी अफ सोसल साइन्सेसले प्रक्षेपण गरेको छ। पेन्सन कोषलाई बलियो पार्न सन् २०३० देखि लागु हुने गरी श्रमिकले लामो समयसम्म त्यसका लागि योगदान दिनुपर्नेछ। त्यो समयलाई अहिलेको १५ वर्ष देखि विस्तारै बढाएर २० वर्ष पुर्याइनेछ।
पेन्सन पकाउन धेरै वर्षसम्म काम गर्नुपर्ने नियम कतैका पनि जनताले हत्तपत्त रूचाउँदैनन्। त्यसैले एकै पटक पाँच वर्षले अवकाश पाउने उमेर बढाउँदा जनता धेरै रिसाउलान् भनेर चीनले थोरै-थोरै गर्दै सन् २०४० सम्ममा मात्रै पाँच वर्ष बढ्ने गरी नयाँ नीति ल्याएको हो। यसअघि पनि चीनले अवकाश पाउने उमेर बढाउनु पर्ने निर्क्यौल गरे पनि विरोध होला भनेर बढाएको थिएन।
अहिले पनि चिनियाँ जनता नयाँ नीतिका कारण रिसाउने छन् तर अर्थतन्त्रले धान्नै नसक्ने भए पछि चीनले उमेर हद बढाएको हो।
चीनले यो शताब्दीको अन्त्यसम्ममा कुनै पनि देशले इतिहासमा भोगेको सबैभन्दा ठूलो जनसंख्या गिरावट भोग्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।
संयुक्त राष्ट्रसंघले केही महिना अघि सार्वजनिक गरेको 'वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२४' का अनुसार सन् २१०० सम्ममा चीनको जनसंख्या आधा भन्दा बढीले घटेर सन् १९५० को दशकको अन्त्यतिरको आकारमा फर्किने सम्भावना ५० प्रतिशत रहेको छ।
सन् २१०० सम्ममा, चीनको जनसंख्या ७८ करोड ६० लाखले घटेर सन् १९५० को दशकको उत्तरार्धको हाराहारी पुग्ने छ।
त्यस्तै संख्याका हिसाबले चीनले अबका तीन दशकमा सबैभन्दा धेरै जनसंख्यामा गिरावट खेप्ने छ। सन् २०५४ सम्ममा चीनको जनसंख्या २० करोड भन्दा बढीले घट्ने छ।
जनसंख्याको आधा हिस्सा ओगट्ने पुरूषले बच्चा नजन्माउने भएकाले जनसंख्यालाई घट्न नदिन जनसंख्याको अर्को आधा हिस्सा ओगट्ने महिलाले आफ्नो जीवनकालमा कम्तीमा दुई बच्चा जन्माउनु पर्छ। केही बच्चाको सानैमा मृत्यु हुने भएकाले जनसंख्या सन्तुलनमा राख्न (रिप्लेसमेन्ट रेट) का लागि एक महिलाले आफ्नो जीवनकालमा २.१ बच्चा जन्माउनुपर्ने विज्ञहरू बताउँछन्।
सन्तान जन्माउने उमेरका महिला थोरै भएको, बिहे ढिला गर्न थालेको र बच्चै नजन्माउने प्रचलन बढ्न थालेको लगायत कारणले चीनमा जनसंख्या त्यसरी घट्ने भनेर सो प्रतिवेदनले भनेको छ।
जन्मदर घट्दै गयो भने काम गर्न सक्ने नागरिकको संख्या पनि विस्तारै घट्दै गएर आर्थिक विकासमा नकारात्मक असर पर्ने अर्थविदहरूको भनाइ छ। स्वास्थ्य विज्ञान र स्वास्थ्य सेवाको विकासले मान्छेको आयु पनि बढ्दै जाँदा न्यून जन्मदर भएको देशमा काम गरेर कर तिर्नेको तुलनामा पेन्सन खाएर बस्नेहरूको अनुपात बढेर राज्यलाई झन् धेरै भार पर्छ।
पछिल्ला वर्षमा अमेरिकासँग प्रतिस्पर्धामा उत्रिएको चीनको जन्मदर र जनसंख्या घट्दै गइरहेको छ। चीनको कम्युनिष्ट सरकारले जनसंख्या नियन्त्रण गर्न सन् १९७९ देखि एक बच्चामात्रै जन्माउन पाउने नीति ल्याएर कडाइका साथ लागू गरेको थियो।
साढे तीन दशकपछि सन् २०१५ मा सरकारले एक बच्चाको नीति हटाए पनि चीनमा जन्मदर बढ्न सकेको छैन। एक बच्चाको नीति हटाए पनि जन्मदर नबढेपछि चीन सरकारले दुई वर्षअघि तीन बच्चा जन्माउन दम्पतीलाई प्रोत्साहन गर्ने निर्णय गरेको थियो।
तेस्रो बच्चा जन्माउन प्रोत्साहनस्वरूप रिटायर्ड हुने समय सार्ने, युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिने, चाइल्ड केयर सेवा सुधार्ने र सुत्केरी बिदा बढाउने लगायत निर्णय गरिएको थियो। तर पनि चीनको जनसंख्या र जन्मदर घटिरहेको छ। अहिले चीनको जन्मदर झरेर १.१५ पुगेको बताइन्छ।
घट्दो जनसंख्याको नकारात्मक प्रभावबाट जोगिन अन्ततः चीनले पनि विस्तारै अमेरिका लगायत धनी देशको जस्तो धेरै वर्षसम्म काम गर्नसक्ने उमेरका आप्रवासी भित्र्याउनुपर्ने हुन्छ। अहिलेलाई भने चीनले घट्दो जनसंख्याको कारण श्रमिकको संख्यामा आएको गिरावटलाई कम गर्न अवकाश हुने उमेर पाँच वर्षले बढाएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)