परदेशमा रोजगारी, पढाइ र घर-धन्दाबाट बचेको समय सिर्जनशील काममा लगाउने हेतुले गठित नेपाली महिलाहरुको सक्रिय समूह हो- क्रिएटिभ नेपालिज् वेमन्स इन डेनमार्क।
सन् २०१२ मा स्थापना भएको सो संस्थाले स्थापना कालदेखि नै डेनमार्कमा रहेका नेपाली महिलाको फुर्सदको समयलाई कसरी रचनात्मक र उपयोगी काममा लगाउने भनेर अभ्यासहरू गर्दै आएको छ।
महिलाहरुको प्रतिभा प्रस्फुटन गर्नेदेखि समसामयिक सीप, अध्ययन र सहकार्यको विभिन्न कार्यक्रममार्फत डेनमार्कमा सो संस्थाले छुट्टै र विशेष पहिचान बनाइसकेको छ। महिलाहरुका सिर्जनशीलता, संस्कृतिक संलग्नता र एकीकृत सहभागितालाई स्पष्ट पारिसकेको सो संस्थाले हालै डेनमार्क आएर संघर्ष गर्दै आफूलाई सफलताको सिँढी चढेका केही महिलाहरुको प्रेरक कथा प्रस्तुत गर्ने कार्यक्रमको नाम थियो- म अनि मेरो यात्रा।
अनुसन्धान प्राविधिज्ञ एलिना मास्के, सफल उद्यमी प्रेरणा जोशी, स्वास्थ्यकर्मी संगीता शर्मा र सूचना-प्रविधि क्षेत्रकी शर्मिला थापाले आ-आफ्ना संघर्षका कथा र मेहनत, लगनशिलताले हासिल गरेको सफलताबारे जीवनयात्रा प्रस्तुत गरेका थिए। उनीहरुको प्रस्तुति नयाँ र वर्तमान संघर्षशील महिलाहरुका लागि प्रेरक थियो, कार्यक्रमका सहभागीले भने।
विभिन्न समयमा विभिन्न सामाजिक कार्यमा साथ र सहयोग उपलब्ध गराउँदै आएको उक्त संस्थाले यसपटक बुटवल रुपन्देहीस्थित सुस्त मनस्थिति बाल बिद्या मन्दिरका लागि तीन लाख नेपाली रुपैयाँ दिने निर्णय सुनायो। सहभागीहरुले ताली बजाए- वाह, क्या गजब !
१ सय ८ औं अन्तर्राष्ट्रिय नारि दिवसको सन्दर्भ पारि गत आइतबार आयोजित कार्यक्रममा संस्थाले तेस्रो अधिवेशन पनि सम्पन्न गरेको थियो। अधिबेशनको शुभकामना दिंदै गैर आवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष यमलाल सुबेदीले महिलाहरुले समग्र नेपाली समाजकै लागि अनेक उदाहरणीय कामहरु गर्दै आएको र भविष्यमा त्यसको निरन्तरताको अपेक्षा गरे।
संस्थाकी अध्यक्ष गरिमा घलेले महिलाहरुको प्रयासमा सबैको साथ पाउँदा हौसला मिलेको बताइन्। महासचिव मिना पौडेल घिमिरेले वार्षिक कार्यक्रम प्रस्तुत गरेकी कार्यक्रममा संस्थापक अध्यक्ष सरस्वति कार्कीले स्वागत मन्तव्य दिइन्।
अधिवेशनले आगामी कार्यकालका लागि इन्दिरा तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्यो। नयाँ कार्यसमितिको उपाध्यक्षमा मिना पौडेल, उपाध्यक्ष्यमा मिना पौडेल घिमिरे, महासचिवमा स्मिता बस्नेत, कोषाधक्ष्यमा निरा थापा र सचिबमा अनिता घिमिरे चुनिए। एनआरएनए अध्यक्ष यमलाल सुबेदी, पूर्व महिला पधादिकारी यमुना कँडेल र सरस्वति कार्की सम्मिलित निर्वाचन समितिले नमिता अधिकारी, सुनिता गुरुङ, सबिता छेत्री, इन्दु तिमिल्सेना, गीता अर्याल र संगीता भण्डारीलाई कार्यसमिति सदस्यमा चयन गर्दै आगामी दिनहरुमा झन् धेरै श्रीजनात्मक र उत्साहजनक काम गर्न शुभकामना प्रदान गर्यो।