डेनमार्कको राजधानी कोपन्हेगनमा पनि गणतन्त्र दिवस एक बिशेष र भव्य कार्यक्रमका साथ मनाइयो।
अन्तर्राष्ट्रिय भेसाक डे- बुद्ध जयन्ती, सगरमाथा आरोहण दिवस र गणतन्त्र दिवस एकै दिन परेको सन्दर्भमा ती बिशेष दिनहरुको जानकारी प्रवाह र पर्यटन प्रबर्धनको मुख्य उद्देस्य राखेर कोपन्हेगनको व्यस्त पैदल मार्ग क्षेत्र (वाल्किंग स्ट्रीट)मा खुला रुपमा नेपाली कला, संस्कृतिको प्रदर्शन सहित सो दिवस मनाइएको हो।
नेपाली दूतावास कोपन्हेगनले डेनमार्कस्थित विविध नेपाली संघ-संस्थाको सहकार्यमा नेपाली नाच-गान, झाँकी, भेषभुषा प्रदर्शन लगायतका गतिविधिबाट व्यस्त सडकमा हिंडिरहेका सयौं विदेशी नागरिकहरुलाई आकर्षित गरेका थिए। परम्परागत पोशाकमा सजिएका कलाकार तथा सहभागी नेपाली संग कैयन बिदेशीहरुले चाखपूर्वक फोटो समेत खिचाए।
नेपालमै लोप होला जस्तो अवस्थामा पुगेको परम्परागत नेपाली पन्चेबाजा कार्यक्रमको मुख्य आकर्षण रहयो। पन्चेबाजाको तालमा उपस्थित नेपालीहरु छमछम नाचे भने बिदेशी दर्शकहरु कुम र कम्मर हल्लाई-हल्लाई मज्जा लिए। कार्यक्रम सकिंदा केही विदेशीले 'यति चांडै सकियो ?' भनेको सुन्दा नेपाली गीतसंगीतबाट उनीहरु लोभिएका प्रष्ट भयो।
कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले उक्त तीन वटै दिवसहरु यसपटक एकै दिन परेको बताउँदै ती दिवसहरुको महत्वमाथि प्रकाश पार्नुभयो। यस्तो प्रकारको कार्यक्रम भविष्यमा पनि आयोजना गरिने बताए।
कार्यक्रममा डेनिस पार्लियामेन्टकी युल्दिज एक्दोगन समेत उपस्थित थिइन्।