केही समयअघि मात्र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङलाई देशको परिवर्तित राजनीतिक परिस्थितिले ऊर्जा मन्त्रालयको नेतृत्वमा ल्याइपुर्याएको छ। विद्युत प्राधिकरण यही मन्त्रालय मातहत पर्छ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्।
२०८१ चैतमा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई हटाउने निर्णय गरेको थियो। साढे चार महिना कार्यकाल बाँकी रहँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाएर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेका थिए।
व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय कुलमानलाई हटाएर हितेन्द्रदेव नियुक्त गरेपछि ओली सरकारको चर्को आलोचना भएको थियो।
त्यस बेला घिसिङले निष्ठाका साथ देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरेका थिए।
आफूले उद्योगहरूको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटाएको गुनासो गर्दै उनले भनेका थिए, 'बक्यौता उठाउने मेरो प्रयास नै मलाई हटाइनुको प्रमुख कारण बनेको छ। बक्यौता उठाउनु अपराध हो?'
उनले अहिले ऊर्जा मन्त्रालयको पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका छन्।
यसरी ओली सरकारले प्राधिकरणबाट बर्खास्त गरेका घिसिङ ओली सरकार हटेलगत्तै त्योभन्दा माथिल्लो तहको मन्त्रालयकै नेतृत्वमा आउनुले अब घिसिङ र हितेन्द्रदेव कसरी मिलेर अघि बढ्लान् भन्ने प्रश्न उठेको छ।
पछिल्लो केही समययता प्राधिकरणको नेतृत्व परिवर्तनलाई हेर्ने हो भने घिसिङ र शाक्यले एकअर्कालाई प्रतिस्थापन गरेको देखिन्छ।
२०७८ साउन २५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर घिसिङलाई नियुक्त गरेको थियो।
शाक्य २०७७ माघ २७ गते चार वर्षका लागि उक्त पदमा नियुक्त भएका थिए। तर वर्षदिन काम गर्न नपाउँदै उनलाई बर्खास्त गरियो र घिसिङलाई कार्यकारी निर्देशक बनाइयो। शाक्यले त्यसविरूद्धमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। त्यसको सुनुवाइ भएन।
छोटो समयमै बर्खासीमा परेका कारण जनताले उनको कार्यक्षमता अनुभव गर्न पाइसकेका थिएनन्। यसले उनको बर्खासीको कतै विरोध भएन। बरू ओलीले 'सालो केटो' नियुक्त गरेको र पछि हटाइएको भन्दै धेरैले खुसी व्यक्त गरेका थिए। जबकि, हितेन्द्रदेव शाक्य ओलीका सालो होइनन्।
प्राधिकरणमा लामो समय बिताएका कर्मचारीहरू घिसिङ र शाक्य दुवैलाई 'काबिल' इन्जिनियर मान्छन्।
विगतमा दुवैको राम्रो व्यक्तिगत सम्बन्ध रहे पनि पछि छुट्टाछुट्टै राजनीतिक दलले च्यापेका कारण उनीहरू टाढिन पुगेको कर्मचारीहरूको भनाइ छ।
'हितेन्द्रजी कसैको नातावाद–कृपावादले नियुक्त हुनुभएको थिएन। कुलमानजी र उहाँ दुवै जनाले प्राधिकरणका सिनियर कर्मचारीबाट अवकाश पाउनुभएको हो। दुवैले यो क्षेत्रमा विज्ञता हासिल गर्नुभएको छ। दुवै ऊर्जा क्षेत्रका काबिल इन्जिनियर हुनुहुन्छ। नियुक्ति फरक फरक राजनीतिक नेतृत्वबाट भयो, त्यति मात्र फरक हो,' प्राधिकरण प्रशासनका एक कर्मचारीले भने।
हितेन्द्रदेवले अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत तयारी चरणको परियोजनामा धेरै खटेर काम गरेका थिए। त्यस बेलाको कामबाट प्रभावित भएर उनी तत्कालीन प्रधानमन्त्री ओलीको रोजाइमा परेका थिए।
घिसिङले एमसिसी परियोजनाको प्राविधिक विषयमा बोले पनि राजनीतिक विषयमा नबोल्ने बताएका थिए। शाक्यले भने खुलेरै त्यसको पक्षमा बोल्ने गरेका थिए। यसले पनि ओलीको रोजाइमा परेको कतिपयको तर्क छ।
हितेन्द्रदेव र कुलमान दुवै प्राधिकरणका राम्रा इलेक्ट्रिकल इन्जिनियरमा गनिन्छन्। शाक्य प्रसारण लाइनका जानकार पनि मानिन्छन्।
पुर्ख्यौली घर पूर्वी इलाम बजार भएका शाक्यले सन् १९८८ मा भारतको एनआइटीबाट स्नातक, नर्वेबाट डिप्लोमा र नेपालबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। हाल उनी काठमाडौं विश्वविद्यालयमा 'इलेक्ट्रिसिटी मार्केट डिजाइन' विषयमा पिएचडी अनुसन्धानरत छन्।
हाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालिरहेका शाक्य लामो समय प्राधिकरणमा काम गरेका अनुभवी कर्मचारी हुन्। उनले ३६ वर्षअघि इन्जिनियरका रूपमा प्राधिकरणमा सेवा सुरू गरेका थिए। प्राधिकरणअन्तर्गत पावर ट्रेड, सिस्टम प्लानिङ एन्ड प्लान्ट अप्रेसन लगायत विभिन्न विभागको निर्देशकका रूपमा काम गरेका छन्।
उनले बेतलबी विदामा रहेर विश्व बैंक, केएफडब्लु लगायत अन्तर्राष्ट्रिय संघ–संस्थामा परामर्शदाताका रूपमा समेत काम गरेका थिए। सन् २००९–२०१० मा कन्सल्टेन्ट टिम लिडर भएर अफगानिस्तानको विद्युत युटिलिटी संस्था डिएबिएसमा पनि काम गरेका थिए।
सन् २०१५ को राष्ट्रिय प्रसारण प्रणाली मास्टरप्लान, २०१६ को नेपाल–भारत सीमापार प्रसारण प्रणाली मास्टरप्लान र २०१७ को सस्टेनेबल डिस्ट्रिब्युटेड जेनेरेसन एन्ड ग्रिड एक्सेस फर अल योजनामा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
त्यस्तै, सन् २०१७ देखि २०२० सम्म उनी एनइए इन्जिनियरिङ कम्पनीका संस्थापक प्रबन्ध निर्देशक थिए। यसबाट ठूला जलविद्युत आयोजना र ठूला प्रसारण लाइनको डिजाइन तथा परामर्श सेवाको क्षेत्रमा काम गरेका थिए।
प्राधिकरणको सेवामा कुलमानभन्दा केही वर्षअघि नै हितेन्द्रदेवको प्रवेश भएको थियो। हितेन्द्रले २०४५ सालमा सातौं तह इन्जिनियर पदमा अस्थायी सेवाबाट प्राधिकरण प्रवेश गरेका थिए। २०४६ सालमा त्यही पदमा स्थायी भएर सेवा सुरू गरे।
अर्कातिर रामेछापको बेथानगाँउमा जन्मिएका कुलमान २०५१ सालमा प्राधिकरणमा प्रवेश गरेका हुन्। उनले भारतको जम्सेदपुरबाट सन् १९९४ मा बिएस्सी इलेक्ट्रिकल इन्जिनियरिङ गरेका छन् भने पुलचोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। उनले विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियर पदबाट जागिर सुरू गरेका थिए।
घिसिङले प्राधिकरणका जलविद्युत परियोजनाहरू, वितरण प्रणाली, पावर ट्रेडिङ लगायत क्षेत्रमा काम गरे।
२०७३ भदौ ३० गते उनी पहिलोपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए। त्यति बेला देशमा दैनिक १८ घन्टासम्म लोडसेडिङ हुन्थ्यो। उनले आफ्नो पहिलो कार्यकालमै लोडसेडिङ अन्त्य गरे। विद्युत चोरी नियन्त्रण लगायत विभिन्न सुधारका काम पनि गरे। यसले नै उनको लोकप्रियता बढेको हो।
घिसिङ र शाक्य दुवैले आ–आफ्नो क्षेत्रबाट प्राधिकरणका लागि जिम्मेवारीपूर्वक काम गरेको सहकर्मीहरू बताउँछन्।
सहकर्मीहरूका अनुसार प्राधिकरणमा काम गर्दा कुलमान र हितेन्द्रदेव दुवैको राम्रो सम्बन्ध थियो। दुईबीच मनमुटाव कहिल्यै देख्नुपरेको थिएन। पछिल्लो राजनीतिक नियुक्तिपछि भने सम्बन्ध के कस्तो छ ठ्याक्कै जानकारी नभएको एक सहकर्मीले बताए।
'अहिले राजनीतिक सम्बन्ध कस्तो छ, त्यो म जान्दिनँ। अन्यथा कामका मामिलामा व्यक्तिगत सम्बन्धमा कुनै दरार थिएनन्। उहाँहरूको सम्बन्ध राम्रो थियो,' उनले भने, 'बरू अहिले फरक राजनीतिक विचारधारा भयो होला कि!'
सेवामा हितेन्द्रदेव अगाडि प्रवेश गरे पनि कार्यकारी निर्देशकमा उनीभन्दा अगाडि कुलमानले नियुक्ति पाएका थिए। कुलमानको पहिलो कार्यकाल सकिन नपाउँदै हितेन्द्रदेवलाई नियुक्त गरिएको थियो।
'हितेन्द्रजीलाई कार्यकालको सुरूमै हटाएर कुलमानजीलाई नै जिम्मेवारी दिइयो। अहिले फेरि हितेन्द्रजी हुनुहुन्छ। कुलमानजी मन्त्रालयको नेतृत्वमा पुग्नुभएको छ। राजनीतिक नियुक्ति र राजनीतिले उहाँहरूलाई घुमाइरह्यो,' प्राधिकरणका एक उच्च अधिकारी तथा दुवैका सहकर्मीले भने, 'अहिले फरक राजनीतिक परिस्थितिमा उहाँहरू एउटै क्षेत्रमा सँगै काम गर्न आइपुग्नुभएको छ। दुवैले मिलेर काम गर्ने हो भने ऊर्जा क्षेत्रको कायापलट गर्न सक्नुहुन्छ।'
घिसिङले पदभार ग्रहण गर्दा कसैप्रति पूर्वाग्रह नराखी कार्यसम्पादनका आधारमा मूल्यांकन गर्ने बताएकाले मिलेर काम गर्ने सम्भावना देखिएको उनको भनाइ छ।
'कुलमानजी पहिलेदेखि अडिग स्वभावको हुनुहुन्छ। त्यो उहाँको पहिलेदेखिकै बानी हो। हितेन्द्रजी पनि एकदमै विज्ञ मान्छे हुनुहुन्छ। आफ्नो जिम्मेवारीमा सधैं सक्रिय रहनुहुन्छ। त्यही भएर दुवैको सम्बन्ध राम्रै हुन्छ भन्ने लागेको छ,' उनले भने, 'दुवै जना प्राविधिक विज्ञता हासिल गरेका व्यक्ति भएकाले मिलेर अघि बढ्नुभयो भने यो क्षेत्रका कमजोरी सुधारेर थप उचाइमा पुर्याउन सकिने बेला यही हुनेछ।'
यसबीच नवनियुक्त ऊर्जामन्त्री घिसिङले पदभार ग्रहण गर्दै जेन–जीले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन्।
'सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने कुरा कडाइका साथ लागू गरिनेछ। कसैप्रति पूर्वाग्रह र प्रतिशोध साधिने छैन। तर सुशासन र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न नसक्नेलाई तुरून्तै हटाइने छ,' उनले भनेका छन्।
उनले कर्मचारीहरूलाई असल नियत राखी ढुक्क भएर काम गर्न निर्देशन पनि दिएका छन्।
यति बेला कतिपयले कुलमान ऊर्जामन्त्री भएपछि शाक्यले राजीनामा दिन्छन् भन्ने चर्चा पनि गरिरहेका छन्। यस विषयमा हामीले शाक्यको सचिवालयसँग कुराकानी गर्यौं। उनको सचिवालयका अनुसार शाक्य अहिले दक्षिण कोरियाको औपचारिक भ्रमणमा छन्। फर्किएपछि मिलेर काम गर्ने बताएका छन्।
'मन्त्री जो आए पनि कर्मचारी त आफ्नो जिम्मेवारीमा रहेर काम गर्ने हो। उहाँले प्राधिकरण छाड्ने कुरा हल्ला मात्र हो। मिलेर काम गर्नुपर्ने यस्तो अप्ठ्यारो परिस्थितिमा पद नै छाडेर अझ अप्ठ्यारो बनाउने भन्ने त हुँदै हुँदैन,' हितेन्द्रदेवको सचिवालयले भन्यो।
पहिले पनि दुवै जना सँगै रहेर काम गरिरहेकाले अहिले पनि कुलमानसँग काम गर्न हितेन्द्रदेवलाई कुनै समस्या नहुने सचिवालयको भनाइ छ।
कुलमान र हितेन्द्रदेव यो क्षेत्रका प्राविधिक र अनुभवी भएकाले दुवैको संयुक्त पहलबाट ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास सचिवालयको छ।
ऊर्जा उत्पादकहरूले पनि घिसिङ र शाक्यको कार्यकाल स्वर्णिम अध्याय हुने र निजी क्षेत्रलाई अझ उत्साहित र उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गरेका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले काम गरेर देशलाई प्रमाणित गरिसकेका व्यक्ति मन्त्रालयको नेतृत्वमा पुगेकाले निजी क्षेत्रले धेरै अपेक्षा गरेको बताए।
'कुलमान घिसिङज्यूले यो क्षेत्रका दुःख आफै प्राधिकरणमा छँदा भोग्नुभएको छ। वनको समस्या होस् वा आयोजना विकास गर्दा निजी क्षेत्रले जे–जति समस्या भोगेको छ, प्राधिकरणले पनि भोगेको छ। उहाँ आएपछि पक्कै पनि यस्ता समस्या हल हुन्छन् भन्ने विश्वास छ,' उनले भने।
पहिले पनि घिसिङ प्राधिकरणको नेतृत्वमा हुँदा शाक्य निर्देशक भएर जिम्मेवारी सम्हालेको र अहिले पनि मिलेर काम गरे यो क्षेत्रको कायापलट हुन सक्ने डाँगीले बताए।
***