केही दिन अगाडि साँझपख लिजवनको चोकमा हिड्दै थिएँ। एक जना भाईलाई अर्कोले बधाई दियो, ‘ल बधाई छ हौ सोल्टा।’ उसले पनि भन्यो, ‘धन्यवाद सोल्टा, तर २ महिना लाग्यो नि यार,’ भन्दै दुःखेसो पोख्यो।
अलि तल एउटा पार्क नजिकै पनि बधाई छ है भन्दै २ /४ जना झुम्मिएको देखेँ। बधाई खानेले भन्दै थियो- १७ महिनाको ट्याक्स गएपछि बल्ल आयो। तै पनि डिसेम्वरमा।
रोसीयो नजिकै झिनझीनामा के पुगेको थिएँ एक मित्रले फोनमा कुरा गर्दै थियो- ‘आज भयो २८ महिनाको ट्याक्स गएर अब ४५ दिन भित्रमा कार्ड आउँछ रे, त्यसपछि दसैंमा नेपाल आउँछु।’
बाटो हिड्दै थियो दियालो रेस्टुरेन्टमा मःम खान पस्यौ। त्यहाँ पनि एकजनाले ३७ महिनामा कार्ड आयो भन्दै थियो भने अर्कोले १४ महिनामै पासपोर्ट आयो भन्दै बधाई खाँदै थिए। बधाईको मूल्य र सन्तुष्ठी एउटै थियो, तर फरक एउटाले अप्लाई गरेको १४ महिनामा पासपोर्ट पायो अर्कोले फिङ्गर भएको ३७ महिनामा कार्ड पायो।
त्यहाँ आउने मध्ये सबैको आ-आफ्नो खुसी र गुनासा थिए। कोही भन्दै थिए- सोसियल अप्लाई गरेको ७१ दिन भयो आएको छैन, कोही भन्दै थिए- मेरो ९ महिना पहिले सेफ इन्ट्री गरेको डेट आएको छैन।
यस्तै अर्कोले गुनासो गर्दै थियो- ‘मेरो डि भिसा हो, खै फिङ्गर त भयो कार्ड कहिले आउने हो,’ अनि कोही भन्दै थिए, ‘पासपोर्ट अप्लाईको लागि भाषा पढ्नु छ।’
सबैले आ-आफ्नो गुनासा र अफ्ठेरा बताउँदै थिए। गुनासा फरक भए पनि समस्या समान थिए। त्यहाँ हामी मःमः खाएर उकालो लाग्यौ।
भाले पार्कमा एक जना कालो झोला बोकेका तालु खुईलिएका नेपालीजस्ता देखिने मान्छे देखियो। नजिकै गएर हेर्दा सन् २०१० मा युरोप हानिएको जहाजको सिटमासँगै बसेर कतारसम्म आएका गजे (गजाधर) दाई पो रहेछन्। लामो कपाल लरक्क लर्किएको थियो, अहिले त तालु खुइले भएछ। ८ वर्ष अगाडिको उनको कपाल सबै झरेछ।
‘भाई यो सहनशिलताको सहर हो जसले सहन्छ धैर्य गर्छ ऊ लक्ष्यमा पुग्छ। तर, समय काटेर लक्ष्यमा पुगेर के गर्नू...’, कुरा गर्दै गयौं उनले अधुरो जवाफ दिए।
मैले सोधेँ- के भयो र दाइ? उनले भने सविस्तार भने- भाइ म युरोप आएँ यहाँ आएपछि सुरूका दिनमा कार्ड मात्र बनोस्। कार्ड बनेपछि त दिन फिर्लान् नि भन्ने भयो। कार्ड पनि बन्यो। कार्ड बनाऊन कम्ता दुःख गर्नु परेन। २०१०/२०११ मा अहिले जसरी कृषिमा काम पनि थिएन महिनाको १५० युरोमा काम गरेर कार्ड बनाए। कार्ड बनाएपछि फेरि परिवार ल्याउन डकुमेन्ट बनाउन उतिकै झन्झट।
परिवारको लागि घर कन्ट्याक्टलगायत यावत कुरा गरेँ बल्ल १७ वर्ष पुगेकी छोरी बोलाए। त्यसपछि फेरि बुढी र छोरो पनि बोलाए। यता कामको बोझ परिवार बोलाउँदाको खर्च। त्यही माथि ऋणको बोझ।
परिवार बोलाएँ अब आनन्द होला भने। तर, छोरी १८ वर्षकी भइ। जागिर खान थाली २/४ महीना त तलब पनि दिइकी थिइ। त्यसपछि छोरीले पनि विवाह गरिछन्। मेरो स्वीकृति थिएन। बिहे गरिन् छोरीको कार्डबाट ज्वाईँले कार्ड बनाए खुसीकै कुरा हो। तर, छोरीले मेरो संघर्ष बुझिन। त्यसपछि अन्तिम रिन्यू गरेँ। भाषा पढेँ कसो पास भएँ। भाषा पास भए। यता छोरो युरोप आएको काम गरेर यसो २/४ पैसा सघाउला भनेको ऊ त कहिले कुन पार्कमा फुटवल, कहिले कुन चोकमा कालेहरूसँग गाँजा खाँदो रहेछ। वाक्क बनायो भाइ म २०१० मा जुन जोस जाँगर उमंगका साथ युरोप आएको थिएँ। नेपालमा भन्दा यहाँ एकपछि अर्को, अर्कोपछि अर्को समस्या र अभावले जेल्दो रहेछ।
सुरूमा फिनान्स बनाउन गाह्रो त्यसपछि सोसियल बनाउन गाह्रो। त्यसपछि सेफ इन्ट्री अनि फिङ्गर र गतिलो घर कन्ट्याकट अनि पारिवारिक मिलनको लागि कागजपत्र तथा परिवार बोलाउ अनि भाषा पढ, अनि पासपोर्ट अप्लाई गर, यहाँ जे गर्दा पनि पैसा लाग्ने। जति कमायो सबै यही तिर्नुपर्दा उही हाता लाग्यो शून्य हुँदोरहेछ भाइ।
मैले भने, ‘हो त दाइ यहाँ यस्तै छ’, मैले थपे, ‘दाइको त पासपोर्ट आयो अब कता जानु हुन्छ?’
उनले भने, ‘मेरो पासपोर्ट आयो बुढीको आएको छैन। बेल्जियमको लग्जम्वर्क जाऊँ कि, डेनमार्क जाऊ या लन्डन खै भाइ थाहै छैन। यसो हजार १५ सय युरो सापटी पाए म हिँडीहाल्ने थिएँ। त्यहाँ राम्रो कमाई हुन्छ रे। आफ्नो मान्छे पनि छन्,’ दाजुले सजिलै उत्तर दिए।
मैले पनि मेरो डेनमार्कको अनुभव भने, ‘दाजु त्यहाँ जाने बित्तिकै काम पाईँदैन तपाईँले त्यहाँ कानुनी कागज पत्र बनाउनुपर्छ हरेक देशका आ-आफ्नो नियम कानुन हुन्छन् त्यही अनुसार चल्नुपर्छ।’
मैले यति भन्दा दाजुले हाँस्दै तालुमा हात राखेर भने, ‘हो भाइ थाहा छ मेरो आफन्ती छन्। यहाँ संघर्ष गरेर रातो पासपोर्ट पाईयो अब कमाउने हो। दुःख गरियो परिवार ल्याए, केटाकेटीलाई ठाऊमा ल्याएँ। मेरो कर्तव्य यही हो। म पनि अब ५/१० वर्ष काम गर्ने हो ३७ वर्षमा युरोप आईयो, अहिले ४५ भईयो। यहाँ अभाव र समस्याले गुज्रिए पनि पासपोर्ट पाईयो नेपालका मन्त्रीले बोक्ने पासपोर्ट पाईयो। अब रमाउने हो, कमाऊने हो। गीतमा भनेझै ४० कटेसी रमाउला होईन त।’
पासपोर्ट पायपछि कमाऊला त्यही कमाईले रमाऊला ल है भाई म लागे भन्दै उनी विदा भए, म पनि आफ्नो बाटो लागेँ।
मन मनै सोचेँ, ‘के गजाधर (गजे) भने जसरी पासपोर्ट पायपछि रमाऊन सकियला र?, आज भोलि म पनि भन्छु ४० कटेसी होईन पासपोर्ट पायसी रमाउला। युरोका मुठा मुठा समाउला।।
... जय होस्