हरेक साल फरक तर विशेष तीज कार्यक्रम गर्दै आएको क्रिएटिभ नेपलिज् ओमेन्स इन डेनमार्कले यसपाली आयोजना गरेको रेट्रो तीज साँझ- २०१८ भव्य सांस्कृतिक कार्यक्रमका बीच कोपन्हेगनमा सम्पन्न भएको छ।
गत शनिबार साँझ भेल्ब्यू कल्चर हुसेटमा सञ्चालित तीज साँझमा कोपन्हेगन र आसपास बसोबास गर्ने नेपाली महिलाहरूले दिल फुकाएर तीज गीतमा छमछमी नाच्दै परदेशको तीजलाई स्मरणीय बनाए।
तीज पर्वलाई परम्परादेखि वर्तमानसम्म जोडेर फरक पुस्ताको पहिचान प्रदर्शन गरिएको ‘रेट्रो तीज’ ले अघिल्लो पुस्ता र आधुनिक पुस्ताको तीज संस्कृतिको विशेषताहरु झल्काएको कुरा कार्यक्रममा सहभागी महिलाले बताए।
डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले महिलाहरुको सक्रियतामा आयोजित कार्यक्रमको प्रसंशासहित शुभकामना दिए। गैर आवासीय नेपाली संघ डेनमार्क, इनास डेनमार्कलगायत अन्य नेपाली संघ संस्था र तिनीहरुका प्रतिनिधिले पनि कार्यक्रमका लागि सघाएका आयोजक संस्थाले जानकारी गरायो।
आयोजक संस्थाकी अध्यक्ष इन्दिरा तिवारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा डेनमार्कका स्थानीय नेपाली कलाकारहरुले आ-आफ्ना प्रस्तुति पस्किए भने पचास क्रोनार शुल्क तिरेर सहभागी सबै नेपाली महिलाहरु तीज गीतमा धक फुकाएर नाचे।
यसैबीच कार्यक्रम भव्य रुपमा सम्पन्न भएको खुशी बाँड्दै क्रियटिभ नेपालिज वोमेन इन डेनमार्कले सहभागी र सहयोगी सबैलाई धन्यबाद दिएको छ।
अभिभावकत्व निर्वाह गर्ने नेपाली राजदूतवास डेनमार्क, एन आर एन ए डेनमार्कलगायत सम्पूर्ण डेनमार्कमा अवस्थित संघ-संस्थाका प्रमुखहरु, समाजसेवी तथा बुद्धिजीवी वर्ग र सम्पूर्ण डेनमार्कबासीहरुको उपस्थितमा कार्यक्रम सभ्य र भब्यताका साथ सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।
'रेट्रो तीज साँझलाई सफल पार्न कार्यक्रम अवधिभर खटिएका स्वयंसेवकहरु, कलाकारहरू, आमाहरुलाई र कार्यक्रमको हल उपलब्ध गरिदिनुहुने ‘रिबेसफ्ट’ की प्रोप्राइटर चित्रा श्रेष्ठलगायत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा माया गर्ने शुभचिन्तकहरुमा हृदयदेखि हार्दिक धन्यवाद ब्यक्त गर्छौ’, भनिएको छ।
साथै आगामी दिनहरुमा पनि यस्तै साथ, समर्थन, सहयोग, सल्लाह र सुझाबको अपेक्ष्या गरिएको पनि उल्लेख छ।