गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तगर्तका विभिन्न ६० देशका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न भएको छ ।
आगामी सन् २०२१–२३ कार्यकालको लागि निर्वाचनमार्फत नेतृत्व चयन भएको हो। संघका महासचिव डा. हेमराज शर्माले महाधिवेशन सम्बन्धि संक्षिप्त प्रतिवेदन बुधबार सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।
निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषदमा निर्विरोध निर्वाचन भएको छ। ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषदमा भौतिक रूपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो।
शर्माका अनुसार हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ मुलुकमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् छन्। ‘तीमध्ये विभिन्न कारणवस २० वटा राष्ट्रिय समन्वय परिषद लामो समयदेखि निष्क्रिय छन्,’ शर्माले उल्लेख गरेका छन्।
विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषदमा निर्वाचन हुन बाँकी छ। राष्ट्रिय समन्वय परिषद् यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन। त्यसलाई छिटै समाधान गरेर निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको छ। यूएईबाहेक राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलमा (केही क्षेत्रमा स्थगित) निर्वाचन ८ अगष्टमा र राष्ट्रिय समन्वय परिषद् स्लोभानियाको निर्वाचन १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको शर्माको प्रतिवेदनमा उ़ल्लेख गरिएको छ।
राष्ट्रिय समन्वय परिषद्हरूका निर्वाचन सम्बन्धि विवरण क्षेत्रगत रूपमा निम्नानुसार छन्।
१. अफ्रिका क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरू: लेसोथो, लिविया, मालावी, दक्षिण सुडान
२. अमेरिकाज् क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : मेक्सिको र कोस्टारिका
अनलाइन : चिली र अमेरिका
भौतिक : क्यानाडा
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: ब्राजिल
३. एसिया प्रशान्त क्षेत्र
सर्वसम्मत तथा निर्विरोध: कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाम ।
अनलाइन : चीन, जापान र दक्षिण कोरिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया
४. यूरोप क्षेत्र
सर्वसम्मत तथा निर्विरोध: बेलारूस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्ड
अनलाइन : साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूके
भौतिक : अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगल
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: बुल्गेरिया, ग्रिस, हंगेरी, रोमानिया, यूक्रेन
५. मध्यपूर्व क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : कुवेत, ओमान र कतार
अनलाइन : बहराइन र साउदी अरेबिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: इजिप्ट, इराक, जोर्डन, लेबनान, यमन
६. ओसेनिया क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : पपुवा न्यूगिनी र न्यूजिल्याण्ड
अनलाइन : अष्ट्रेलिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्: भानुआटु
एनआरएनएको सदस्य १ लाख कटे
एनआरएनएको आगामी २०२१–२३ को कार्यकालको लागि विश्वका विभिन्न मुलुकमा रहेका १ लाखभन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेका छन्। यसअघि १ लाखभन्दा कम साधारण सदस्य थिए।
आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औं अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिको नामावली संघको (विधानमा व्यवस्था भए बमोजिम) पठाउनुपर्नेछ।
‘त्यसका लागि प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको छ। प्रतिनिधि चयन संघको विधान अनुरुप गर्न/ गराउन यसअघि नै आग्रह गरिएको छ र यसबारे थप जानाकारीसहितको सर्कुलेसन छिटै पठाईने छ,’ शर्माको प्रतिवेदनमा उल्लेख छ ।