गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) डेनमार्कको छैठौं अधिवेशनबाट अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) निर्वाचित भएका छन्।
शनिबार कोपनहेगनमा भएको विद्युतीय मतदानमा २ उम्मेदवारलाई पछि पार्दै अधिकारीले १८० मत प्राप्त गरि विजयी भएका हुन् । प्रतिस्पर्धी शिव कार्कीले १४२ मत र दिपकराज रिजालले ८७ मत पाए।
एनआरएनए डेनमार्कमा जम्मा ४६३ मतदातामध्ये ४०९ मत खसेको थियो। अधिकारी निवर्तमान महासचिव हुन् भने रिजाल उपाध्यक्ष। कार्की एनआरएनए डेनमार्कमा पूर्व महासचिव हुन्।
अधिकारी र रिजाल जनसम्पर्क समिति निकट हुन् भने कार्की प्रवासी नेपाली मन्च नजिकका हुन्। कार्यसमितिमा अधिकारी समूहका बहुमत विजयी भएका छन् ।
आइसीसी सदस्यमा अशोक शर्मा पहिला नै निर्विरोध विजयी भएका छन्। शशी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि शर्मा विजयी भएका थिए । शर्मा एनआरएनए डेनमार्कका पूर्व कोषाध्यक्ष र पार्टी बस नेपालका सन्चालक हुन्।
‘एनआरएनए डेनमार्क र आइसीसीबीच पुलको काम गर्ने छु, केही नयाँ योजना छन् सबैको साथ र सहयोगमा सफल पार्ने सोँचमा छु,’ शर्माले भने ।
उपाध्यक्षमा राधाकृष्ण सापकोटाले २४५ र सुनिल विराजी यादवले २१८ मत प्राप्तगरि विजयी भए । चन्द्रमणी पौड्यालले १५३ मत पाएका थिए ।
कार्यकारी हैसियतका हिसाबले महासचिव पद महत्वपूर्ण मानिन्छ। महासचिवमा निवर्तमान सचिव महेशसिंह खत्रीले २३८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी राघवेन्द्र प्रताप सिंह कार्की (रविन)ले १५४ मत पाएका थिए।
खत्री जनसम्पर्क समिति निकट हुन् भने कार्की प्रवासी नेपाली मन्च नजिक रहेका छन्। सचिवमा शालिकराम शर्मा २४९ मत पाइ विजयी भए भने तिलकराज भट्टले १३१ मत ल्याए ।
कोषाध्यक्षमा मोहन के.सीले २०३ मत पाएर विजयी भए भने कृष्ण पराजुलीले १७७ मत पाउन सफल भए । के.सी नेपाली जनप्रगतिशील मन्च निकट हुन् भने पराजुली प्रवासी नेपाली मन्च नजिकका हुन् । सदस्यहरुमा प्रदिपकुमार पाण्डे २३६, भुवन खड्का २१६, केशवनिधि पन्त २१२, नरेन्द्र बहादुर पौडेल २०९, नारायण गौडेल २०८ मत प्राप्त गरि विजयी भएका छन् ।
निर्वाचन समितिका संयोजक कृष्ण पौडेलले विद्युतिय मतदान भएको डेढघण्टामा मत परिणाम सार्वजनिक गरेका थिए । ‘भब्य र सभ्य रुपमा विद्युतिय मतदान भयो र छिट्टै मतपरिणाम घोषणा गरियो, आइतबार साँझ सपथ ग्रहण कार्यक्रम रहेको छ ।’ पौडेलले भने ।