ग्लोबल नेपाली
माल्टा दक्षिणी युरोपको सानो टापू मुलुक हो जहाँ कुल जनसंख्या जम्मा पाँच लाख हाराहारी छ।
त्यो सानो मुलुक पनि रोजगारीका लागि नेपाली युवाहरूको रोजाइमा पर्छ। त्यहाँ करिब १० हजार नेपाली रहेको अनुमान छ। तिनै मध्येका एक हुन् ताप्लेजुङका भवानी विष्ट।
उनी माल्टा पुगेको साढे दुई वर्ष भयो। हाल निर्माण क्षेत्रको काममा छन्। यो काम गाह्रो भए पनि राम्रो अवसर र कमाइ भएको उनी बताउँछन्।
भवानी प्रयोग भइसकेका पुराना निर्माण सामग्री निकालेर सफा गर्ने र पुनः प्रयोगका लागि तयार पार्ने काम गर्छन्।
'मेरो काम मर्मतको जस्तै हो। भवनमा प्रयोग भइसकेका ब्लक र ढुंगाको प्लास्टर उप्काउने, धुने, रङ लगाएको छ भने सफा गरेर नयाँ जस्तै बनाउने काम गर्नुपर्छ। काममा खासै चाप हुँदैन। गाह्रै काम भए पनि बिस्तारै बिस्तारै गर्न सकिन्छ,' उनले भने।
मेहनत अनुसार कमाइ राम्रै हुने उनले बताए। ओभर–टाइम (अतिरिक्त समय) समेत काम पाउँदा महिनामा औसत एक लाख नेपाली रूपैयाँसम्म बचत गर्न सकिन्छ।
माल्टा खर्चिलो पनि छ। कमै खर्च गर्दा पनि कमाएको आधा जति सकिन्छ। त्यहाँका रोजगारीदाताले बस्नेखाने सुविधा दिँदैनन्। सबै खर्च आफैले बेहोर्नुपर्ने उनले बताए।
साथीहरूसँग मिलेर बस्दा पनि कोठाभाडा र खानामा मासिक एक लाख रूपैयाँ हाराहारी खर्च हुन्छ।
'यहाँ कोठाभाडा निकै महँगो छ। इन्टरनेटको पैसा तिर्नुपर्छ। ठिक्क खर्च गर्दा पनि कमाएको आधा यहीँ सकिन्छ,' उनले भने, 'आम्दानीबाट कर पनि तिर्नुपर्छ। सबै खर्च हिसाब गर्दा माल्टा खर्चिलो ठाउँ हो तर पनि बचत राम्रै हुन्छ।'
उनको कम्पनीले हप्तामा एक दिन आइतबार बिदा दिन्छ। काम गरेको घण्टाका आधारमा तलब आउँछ। स्थानीय भाषा र अंग्रेजी भाषामा दोहोरो कुरा गर्न जानेपछि काम पाउन र गर्न सजिलो हुने उनको अनुभव छ।
सानो देश भएकाले नेपालीहरू जताततै भेटिन्छन्।
'सुरूमा आउँदा के होला, कस्तो होला भन्ने डर लागेको थियो। यहाँ अंग्रेजी त्यति धेरै बोल्नुपर्दैन तर स्थानीय भाषा जान्नुपर्छ,' भवानीले भने, 'धेरैजसो भारतीयहरू भेटिन्छन्। हिन्दी पनि चल्छ।'
उनका अनुसार खाडी मुलुकको तुलनामा माल्टामा कमाइ राम्रो छ। माल्टा जानुअघि उनले साउदी अरब र कतारमा काम गरेका थिए। यी दुवै मुलुकमा सुरक्षा गार्ड थिए। दुई–दुई वर्ष काम गरे। मासिक कमाइ ३० देखि ४० हजार रूपैयाँ जति हुन्थ्यो।
'लगभग १० वर्षअघि म कतार गएको थिएँ। त्यहाँ एउटा स्टोरमा सामानको सुरक्षा गर्नुपर्ने काम थियो। साउदी अरबमा पनि त्यस्तै काम थियो,' उनले भने, 'खाडीमा खासै कमाइ भएन। जाँदा लागेको ऋण तिर्न र घरखर्चमै पैसा सकियो।'

खाडीबाट घर फर्केर उनले बिहे गरे। केही वर्ष घरमै बसे। माल्टामा रहेका चिनजानका एक जनाले राम्रो छ भनेपछि उनी पनि गएका हुन्।
माल्टा जान पाँच लाख रूपैयाँ खर्च भएको थियो। त्यो पैसासँगै घरमा अन्य ऋण पनि थियो। माल्टाको कमाइले दुई वर्षमा सबै चुक्ता गरेको उनले बताए।
अब कति समय माल्टा बस्ने, उनले कुनै ठोस योजना बनाएका छैनन्। उनले आफ्नो खर्चमा परिवार लैजान पाउँछन्। तर त्यस्तो पनि सोचेका छैनन्। तत्कालै नेपाल फर्केर आफ्नो कुनै काम गर्न पनि पुँजी नभएकाले आँट गर्न नसकेको उनले बताए।
भने, 'यहाँ कति वर्ष काम गर्छु, टुंगो छैन। काम गर्दै जाऊँ, भविष्यमा कस्तो हुन्छ!'
माल्टा जान चाहनेलाई भवानीले सुझाब पनि दिए — आफूले गर्ने कामबारे राम्रो जानकारी लिनुपर्छ। जस्तो काम आइपरे पनि गर्न सक्छु भन्ने हिम्मत राख्नुपर्छ। अंग्रेजी भाषा कम चल्ने भए पनि सिकेर जानुपर्छ। कामको सीप सिकेर जाँदा अझ राम्रो हुन्छ।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]