झण्डै ७५ वर्षदेखि युद्धको स्थितिमा रहेका उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समय फरक खालको युद्ध चलिरहेको छ।
सन् १९५० मा सुरू भएको कोरिया युद्ध सन् १९५३ मा अमेरिका, उत्तर कोरिया र चीनबीच युद्धविराम भएपछि रोकियो। तर दक्षिण कोरियाले सो युद्धविराममा हस्ताक्षर नगरेकाले प्राविधिक रूपमा दुई कोरिया अहिले पनि युद्धमै छन्।
सोही कारण उत्तर र दक्षिण कोरिया बीचको सीमा विश्वको सबभन्दा धेरै सैनिकीकरण भएको सीमा हो। तर ३८ औं प्यारलल भनिने सो सीमामाथि अहिले भने हतियार नभएर फोहोर र पर्चा एकअर्कामाथि प्रहार भइरहेको छ।
उत्तरले दक्षिणमाथि पछिल्ला दिनमा आणविक हतियार बोकेको मिसाइल नभएर फोहोरले भरिएका प्लास्टिकका पोका बोकेका सयौं बेलुन बर्साइरहेको छ। चुरोटका ठुटा, पुराना कपडाका झुत्रा-झुत्री, मल लगायत फोहोर उत्तरले दक्षिण कोरियामा खसाइरहेको छ।
उत्तर कोरियासँग जैविक र रासायनिक हतियार समेत भएकाले दक्षिण कोरियाले आफ्ना नागरिकलाई ती बेलुन र पोका नचलाउन सचेत गराएको छ। दक्षिण कोरियाले सेना लगाएर ती फोहोरको जाँच गरिरहेको छ।
उत्तरले बर्साएको फोहोरको बदला दक्षिण कोरियाले भने सीमामा चर्को आवाजमा ‘लाउडस्पिकर’ बाट के-पपका गीत बजाएर र उत्तर कोरियाली शासन व्यवस्था विरोधी पर्चा सीमाको उत्तरपट्टि खसाएर लिइरहेको छ।
दक्षिण कोरियाले लगातार गीत बजाउने र पर्चा झारेपछि आइतबार मात्रै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले सो कार्य बन्द गर्न चेतावनी दिएकी छन्।
किमपछि उत्तर कोरियाको सबभन्दा शक्तिशाली मानिएकी उनले ‘लाउडस्पिकर’ बजाउने र पर्चा छर्ने काम तुरून्तै नरोके दक्षिण कोरियाले नयाँ प्रतिक्रिया भोग्नुपर्ने भनेकी छन्। उनले यो धेरै खतरनाक अवस्थाको सुरूआत हुन सक्ने भनेर धम्क्याएकी छन्।
उता दक्षिण कोरियाका अधिकारीहरूले भने उत्तर कोरियाले पनि आफ्नो सीमामा ‘लाउडस्पिकर’ लगाउन थालेको बताएका छन्।
उत्तर र दक्षिण कोरियाले दशकौंदेखि सीमामा ‘लाउडस्पिकर’ बजाएर र पर्चा खसालेर आफ्नो देश राम्रो र विकसित भएको भन्दै अर्का देशका नागरिक र सैनिकलाई आफ्नोतर्फ बोलाइरहेका छन्। तर अहिलेको जस्तो फोहोर खसाउने काम भने पहिले भएको थिएन।
उत्तर र दक्षिण कोरियाबीच राम्रो सम्बन्ध नभए पनि दुवै देशले शान्तिपूर्ण एकताका लागि प्रयास गरिरहेका छन्। तर पछिल्लो समयमा भने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियालाई प्रधान शत्रु घोषणा गरेर शान्तिपूर्ण एकताको सम्भावना समाप्त भएको बताउँदै आएका छन्।
अमेरिकाले दक्षिण कोरियाको सुरक्षाको ग्यारेन्टी दिएको छ र त्यसका लागि त्यहाँ आफ्ना सेना पनि राखेको छ। अमेरिकाले अहिले रूससँगको युद्धका लागि युक्रेनलाई र हमासविरूद्धको युद्धमा इसराइललाई हतियार दिइरहेको छ। त्यसैले अमेरिका कोरियाका लागि अहिले लड्न नसक्ने ठानेर किमले दक्षिण कोरियामा हमला गर्न सक्छन् भनेर कतिले अनुमान गरिरहेका छन्।
यस्तो समयमा उत्तरले दक्षिण कोरियामाथि मिसाइल र बम नभएर फोहोर बर्साउनु विश्व शान्तिका लगि राम्रै मान्नुपर्ने हुन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)