ग्लोबल नेपाली
जापानमा 'नेपाल हाउस' बन्ने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानले नेपाल हाउस बनाउन साढे पाँच रोपनी जग्गा किनेको छ।
एनआरएनए जापानका अध्यक्ष नवीन निउरेका अनुसार चिवा भन्ने ठाउँको कामातोरी स्टेसन नजिकै जग्गा किनिएको छ। टोकियोबाट एक घण्टामा नेपाल हाउस पुग्न सकिनेछ।
'झन्डै साढे तीन करोड रूपैयाँमा जग्गा किनेका छौं। अब पाँच/६ करोड रूपैयाँमा नेपाल हाउस बनाउन सकिन्छ,' नवीनले भने, 'जापानमा बसेका सबै नेपालीको स्वामित्व हुने गरी नेपाल हाउस बनाउँछौं।'
नेपाल हाउसमा सबै जातजातिले आआफ्ना चाडपर्व मनाउने र विभिन्न कार्यक्रम गर्ने सुविधा हुनेछ।
नेपाल हाउसमा अलग्गै एउटा भवन हुनेछ जसमा विभिन्न कारणले समस्यामा परेका नेपालीहरूले समस्या समाधान नहुन्जेल 'सेल्टर' पाउने छन्।
'जापानमा नेपालीहरूको संख्या बढ्दै गएको छ, समस्या पनि थपिँदै गएको छ,' नवीनले भने, 'अप्ठ्यारोमा परेका नेपालीहरूलाई सुरक्षित रूपमा बस्ने सुविधा दिन नेपाल हाउसमा एउटा सेल्टर बनाउने हाम्रो योजना छ।'
एनआरएनए जापानका अनुसार हाल जापानमा नेपालीको संख्या २ लाख ५० हजार हाराहारी छ।
एसियाको विकसित मुलुक जापान नेपाली विद्यार्थीका लागि पढाइको र कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको छ।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]