ग्लोबल नेपाली
पश्चिम पहाडी जिल्ला स्याङ्जाका गोपाल बस्याल सन् २०११ को सुरूमै युएई (युनाइटेड अरब इमिरेट्स) को दुबई गए। उनी कामको खोजीमा तीन महिनाको भिजिट भिसामा गएका थिए।
गोपाल नेपालमा बिबिएस (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन) तहको पढाइ पूरा गरेर गएका थिए। उनले कुनै कम्पनीमा अकाउन्टेन्ट (लेखापाल) को काम त कसो नपाइएला भन्ने सोचेका थिए तर त्यसो भएन।
आफूले सोचे अनुसार काम खोज्न निकै भौंतारिए। तर पाएनन्। अन्ततः भिसाको म्याद सकिनै लाग्दा एउटा क्याफेमा बारिस्ता भएर काम गर्ने अवसर पाए।
'दुबई पुगेको केही दिनमै ठिकैको जागिर त पाएको थिएँ। तर अझै राम्रो खोज्छु भन्दाभन्दै तीन महिना बित्न आँटेपछि मासिक १२ सय दिराम पाउने गरी बारिस्ताको जागिर गर्ने टुंगो गरेँ,' गोपालले भने।
काम टुंगो गरेर गोपाल नेपाल आए। आफ्ना केही जरूरी काम सकेर दुबई फर्के।
काम गर्न थालेको केही महिना भएको थियो। एक दिन रेलमा यात्रा गर्दै थिए, खचाखच मान्छे थिए। त्यहाँ उनले केही मान्छेले नेपाली भाषामा कुरा गरेको सुने।
ती नेपालीहरू अस्ट्रेलियाको फ्रेन्चाइज रेस्टुरेन्ट 'जोन्स द ग्रोसर' ले कतारमा बारिस्ता मागेको भनेर गफ गर्दै थिए। उनले त्यसबारे केही सोधखोज गरेनन्। सुनेकै आधारमा 'जोन्स द ग्रोसर' खोजी गरेर आवेदन गरे।
आवेदन गरेकै दिन कम्पनीले बोलायो। त्यसै दिन अन्तर्वार्ता भयो, जागिर पनि पक्का भयो।
काम गर्न कतार जानुपर्ने भएपछि दुबईको क्याफे छाडे। एक वर्ष नहुँदै छाड्नुपरेकाले अतिरिक्त सुविधा केही पनि पाएनन्।

कतारमा गोपाल दुबईमा पाएको भन्दा करिब तेब्बर पारिश्रमिक पाउनेवाला थिए। त्यसले उनलाई उत्साहित बनाएको थियो। उनले सन् २०१२ को सुरूतिरै जोन्स द ग्रोसरमा काम थाले।
हाल त्यहीँ काम गरिरहेका उनी भन्छन्, 'बारिस्ताबाट बढुवा हुँदै अहिले अपरेसन म्यानेजर पदमा छु। यो कन्ट्री हेड पद हो।'
जोन्स द ग्रोसरमा पिज्जा, बर्गर, स्यान्डविच, सलाद, सुप, पास्ता लगायतका परिकार पाइन्छ। कतारमा दोहा विमानस्थल परिसरमा दुइटा र सहरमा एउटा गरी तीन वटा रेस्टुरेन्ट छन्।
'तीन वटामा सय जना जति कामदार छन्। चाँडै दुइटा रेस्टुरेन्ट थप्ने तयारी छ,' उनले भने, 'म कन्ट्री हेड भएकाले सबै रेस्टुरेन्ट मेरै जिम्मामा हुन्छन्।'
उनका अनुसार जोन्स द ग्रोसर रेस्टुरेन्ट ११ वटा देशमा फैलिएको छ। एसिया क्षेत्र युएईमा रहेका व्यवस्थापकले हेर्छन्। युएईमा यसका १७ वटा रेस्टुरेन्ट छन्।
मेहनत, लगनशीलता र कामको निरन्तरताले उनलाई यो उच्च जिम्मेवारीमा पुर्याएको हो।
'मैले दुबईमा धेरै ठक्कर खाएँ। त्यसले मलाई पाठ सिकायो। हामी नेपाली काम गर्न सक्छौं,' उनले भने, 'कामसँगै भाषाको सीप र नेतृत्व क्षमता चाहिने रहेछ। मैले धेरै मेहनत गरेको छु।'
गोपाल कतार जानासाथ ब्रिटिस काउन्सिलको अंग्रेजी भाषा कक्षामा भर्ना भए। दुबईमा हन्डर खाएपछि उनी अंग्रेजी भाषा सिक्ने निष्कर्षका पुगेका थिए।
दुबईमा काम खोज्ने सिलसिलामा एउटा कफी सपमा अन्तर्वार्ताका लागि गएका थिए। त्यहाँ अंग्रेजी भाषामा प्रश्न सोधिएको थियो तर उनी बोल्न सकेनन्, अलमलिए। त्यसपछि प्रश्नकर्ताले हिन्दीमा सोधे। गोपालले त्यसको पनि जबाफ दिन सकेनन्।

'सामान्य अंग्रेजी त आउँथ्यो तर कसरी जबाफ दिने भनेर सोच्दासोच्दै बोल्न सकिनँ। तिमी अंग्रेजी र हिन्दी बोल्न जान्दैनौ, हाम्रो रेस्टुरेन्टमा नेपाली ग्राहक आउँदैनन् भनेर फर्काइदियो,' उनले सुनाए।
त्यो घटनाले उनलाई चोट पर्यो। उनले अंग्रेजी भाषा फरर्र बोल्न जान्ने हुन्छु भन्ने अठोट गरे। कतारमा ६ महिनाको आम्दानी अंग्रेजी भाषा सिक्नमा खर्च गरेको उनले बताए।
उनी सन् २०१८ मा 'कन्ट्री हेड' तहमा पुगेका हुन्। रेस्टुरेन्ट थपिँदा जिम्मेवारी पनि थपिन्छ।
तर गोपाल आफ्नो कमाइबाट निकै सन्तुष्ट छन्।
'मैले काम गरिरहेको कम्पनी धेरै ठूलो त होइन तर धेरै वर्ष काम गरेकाले होला, आफ्नै घर जस्तो लाग्छ। कमाइ पनि राम्रै छ,' उनले भने।
गोपालले कतारमै भेट भएकी नेपालीसँग बिहे गरे। उनीहरूका एक सन्तान छन्।
(सेतोपाटी ग्लोबलका अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्
ग्लोबल नेपालीबारे यो इमेलमा सम्पर्क गर्नुहोस्- [email protected]