अर्जेन्टिनाका राष्ट्रपतिमा जाभियर मिलेई निर्वाचित भएका छन्।
आइतबार भएको मतदानबाट चरम दक्षिणपन्थी नेता मिलेई अर्जेन्टिनाका राष्ट्रपति चयन भएका हुन्।
समाचार संस्था रोयटर्सका अनुसार मिलेईले ५६ प्रतिशत मत पाउँदा उनका प्रतिद्वन्द्वी वामपन्थी नेता सर्जिओ मास्साले ४४ प्रतिशत मत पाए।
अर्जेन्टिनामा बढ्दो आर्थिक संकटकाबीच मिलेई राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनीमाथि १४० प्रतिशतसम्म पुगेको मुद्रास्फिती नियन्त्रणमा ल्याउनेदेखि खराब बन्दै गएको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी आएको छ।
द न्युयोर्क टाइम्सका अनुसार मिलेईले मुद्रास्फिती नियन्त्रण गर्नेदेखि अर्थतन्त्र सुधारका विभिन्न योजनालाई आफ्नो चुनावी एजेन्डा बनाएका थिए।
मिलेईको विजयीलाई अर्जेन्टिनामा अर्को डोनाल्ड ट्रम्पको जन्म भएको विश्लेषण गर्न थालिएको छ। ट्रम्पले पनि राष्ट्रपति निर्वाचित भएका मिलेईलाई बधाइ दिएका छन्।
राष्ट्रपति निर्वाचित भएपछि मिलेईले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र भएकोमध्येमा पर्ने अर्जेन्टिनाको अवस्था सुधार्न ठूलो मेहनत गर्नुपर्ने बताएका छन्।
‘देशको अवस्था नाजुक छ, हामीले यसलाई सुधार गर्न द्रूत गतिमा काम गर्न जरूरी छ,’ उनले भनेका छन्।
उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि तत्काल गर्न सकिने कुराहरूसमेत बताएका छन्। न्युयोर्क टाइम्सका अनुसार उनले धराशायी भएका सरकारी कम्पनीहरूलाई निजीकरण गर्ने, १८ सदस्यीय मन्त्रिमण्डल ८ सदस्यीय बनाउने लगायतका योजना अघि सारेका छन्।
अर्थशास्त्रीसमेत रहेका मिलेईले अर्थतन्त्रसम्बन्धी विभिन्न पुस्तकहरूसमेत लेखेका छन्। उनले आगामी डिसेम्बर १० मा शपथ लिनेछन्।