युक्रेनको रक्षा मन्त्रालयका एक उच्च अधिकारी पक्राउ परेका छन्।
युक्रेनी सैनिकका लागि हतियार खरिदमा ४० मिलियन डलर बराबरको घोटाला गरेको आरोपमा त्यहाँको प्रहरीले रक्षा मन्त्रालयका एक उच्च अधिकारीलाई पक्राउ गरेको हो।
पक्राउ गरिएका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन।
सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा ती अधिकारीले एक कम्पनीसँग हतियार खरिद सम्झौता गरेका थिए। युक्रेनको सुरक्षा सेवा (एसबियु)का अनुसार हतियार खरिद गर्दा ती अधिकारीले वास्तविकभन्दा बढी मूल्य राखेको र सो अनुसार ४० मिलियन अमेरिकी डलर ट्रान्सफर गरिदिएका थिए।
तर हतियार भने डेलिभर नभएको युक्रेनी रक्षा मन्त्रालयका सूचना अधिकारी इलारिअन पभल्युकले सिएनएनलाई बताएका छन्।
हतियार खरिद सम्झौता भएर रकम समेत पठाइसक्दा हतियार डेलिभरी नभएकाले युक्रेनी रक्षा मन्त्रालयले उक्त रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको पभल्युकले बताएका छन्।
एसबियुले त्यससँग सम्बन्धित कागजातहरू समेत भेटेको बताएको छ।
हतियार खरिद सम्झौतामा घोटाला भएको पुष्टि भए ती अधिकारीलाई कम्तिमा १५ वर्ष जेल सजाय हुने एसबियुले बताएको छ।
भ्रष्टाचारको आरोप लागेपछि गत सेप्टेम्बरमा मात्रै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा मन्त्री ओलेक्सी रेज्निकोभलाई बर्खास्त गरेका थिए।