बंगलादेशमा आम निर्वाचनको मतदान सुरू भएको छ।
आइतबार तीन सय निर्वाचन क्षेत्रमध्ये २९९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।
नौगाउँ-२ मा उम्मेदवारको मृत्यु भएका कारण त्यहाँ आइतबार मतदान स्थगित भएको बिबिसीले जनाएको छ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजधानी ढाकाको सिटी कलेज वुथ पुगेर मतदान गरेकी छन्।
मतदानपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा यसपालि पनि आफ्नो दलको विजय सुनिश्चत रहेको बताएकी छन्।
त्यहाँको प्रमुख विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टीले बिएनपीले भने चुनाव बहिष्कार गरेको छ।
बिएनपीसहित अन्य केही पार्टीहरूले पनि चुनाव बहिष्कार गरेको बिबिसीले जनाएको छ। उनीहरुले चुनावमा हड्ताल गर्ने बताएका थिए।
आइबार बिहान केही ठाउँमा ती दलका कार्यकर्ताहरूले मार्च पास गरेका थिए।
विपक्षी दलले चुनाव बहिष्कार गरेको विषयमा प्रधानमन्त्री हसिनाले दलहरू के गर्छन् भन्दा पनि देशको लोकतन्त्र कायम राख्नु मुख्य कुरा रहेको बताइन्।
‘देशमा लोकतन्त्र कायम रहिरहनुपर्छ भन्ने कुरा मुख्य हो, त्यसलाई जिवित राख्ने जिम्मेवारी अहिले मेरो काँधमा छ र म सोही अनुसार गरिरहेकी छु,’ उनले भारतीय समाचार संस्था एएनआइसँग भनेकी छन्।
उनले आफ्नो निर्णयमा जनताहरूले पनि साथ दिने बताएकी छन्।
यसपालिको चुनावमा ११.९३ करोड मतदाता छन्। चुनावमा २७ दलका कुल १ हजार ९६९ उम्मेदवार छन्।
चुनावलाई शान्तिपूर्ण तवरमा सम्पन्न गर्न ४० हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको बिबिसीले उल्लेख गरेको छ।