रूसको मस्कोस्थित कन्सर्ट हलमा अन्धाधुन्ध गोली चलाउने चार जनाविरूद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
शनिबार पक्राउ परेका चार जनालाई आइतबार मस्कोस्थित अदालतमा उपस्थित गराई कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
पक्राउ पर्नेहरूमा ३२ वर्षीय डलेर्दझोन मिर्जोयभ, २९ वर्षीय शैदाक्रमी रचाबलिजोदा, २६ वर्षीय शमसिदिन फरिदुनी, २० वर्षीय मुहम्मदसोबर फइजोव छन्।
उनीहरू चारै जना ताजकिस्तानका नागरिकहरू रहेको र केही समयदेखि रूसमा बस्दै आएको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।
चारै जनाविरूद्ध आतंकवादको मुद्दा चलाइएको छ। उनीहरूले आफूविरूद्ध लगाइएको आरोप पनि स्वीकार गरिसकेका छन्।
आइतबार अदालतमा उपस्थित गराउँदा चारै जना घाइते अवस्थामा थिए। कसैको आँखा सुन्निएको, कसैको अनुहारमा चोटपटक र एकजना ह्वीलचियरमा थिए।
घाइते अवस्थामा रहेका उनीहरूलाई दुई/तीन जना सेनाले घिसार्दै अदालतमा उपस्थित गराएका थिए।
बयानका क्रममा उनीहरूमध्ये मिर्जोयभ तीन महिनादेखि रूसको दक्षिणी भूभाग साइबेरियाको नोभोसिबिर्स्कमा बसिरहेको खुलेको छ। उनको भिसाको म्याद पनि सकिइसकेको पाइएको सिएनएनले उल्लेख गरेको छ।
रचाबलिजोदाले आफूसँग रूसी कागजपत्र भएको दाबी गरेका छन्। तर कहाँ राखे भन्ने बिर्सिएको बताएका छन्।
फरिदुनी रुसको क्रास्नोगोर्स्कस्थित पोदोल्स्कस्थित एक फ्याक्ट्रीमा काम गर्ने गरेको बताएका छन्। ह्वीलचियरमा ल्याइएको फैजव अहिले बेरोजगार बसिरहेको बताएका थिए। केही सयअघि इभानोभोमा बार्बर सपमा काम गर्ने बताएका छन्।
उनीहरूलाई थप अनुसन्धानका लागि २२ मे सम्म हिरासतमा राख्न आदेश भएको रूसी सञ्चारमाध्यहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन्।
शुक्रबार कन्सर्ट हलमा आक्रमण हुँदा १३३ जनाको मृत्यु भएको छ। सोही हाराहारीमा घाइते भएका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिँदै संलग्नहरूलाई कडा कारबाही गर्ने बताएका थिए।
शुक्रबारको आक्रमण दुई दशक यताकै ठूलो आक्रमण भनिएको छ।