सिरियाको राजधानी दमास्कसमा रहेको आफ्नो दूतावास परिसरमा सोमबार इसराइलले हवाई आक्रमण गरी आफ्ना तीन जनरलसहित सात सैन्य अधिकृत मारेको इरानले आरोप लगाएको छ।
इरानको रिभोलुसनरी गार्ड्सको एक विज्ञप्ति अनुसार सो आक्रमणमा उसको बाह्य सैन्य र खुफिया सेवा कुद्स फोर्सका तीन जनरल र अन्य चार जना अधिकृत मारिएका छन्।
इसराइली सेनाले आक्रमणको आधिकारिक जिम्मेवारी नलिए पनि चार इसराइली अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा आफूसँग इसराइलले सो आक्रमण गरेको स्वीकार गरेको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।
दमास्कसमा भएको सो आक्रमणमा कुद्स फोर्सका सिरिया र लेबननमा गरिने गोप्य कारबाहीको नेतृत्व गर्ने ६५ वर्षीय जनरल मोहम्मद रेजा जाहेदी, जाहेदीका ‘सेकेण्ड-म्यान’ जनरल मोहम्मद हादी हज रहिमी र सो क्षेत्रमा कुद्स फोर्सको सैन्य कमाण्डर जनरल होसेन अमान अल्लाही मारिएका छन्।
जाहेदी अक्टोबर ७ मा हमासको नेतृत्वमा इसराइलमा भएको आक्रमणपछि इसराइली आक्रमणमा परेर मारिने सबैभन्दा उच्च इरानी अधिकारी हुन्।
दशकौंदेखि चलिरहेको इसराइल-इरानको छद्म युद्धमा इसराइलले बेला-बेलामा इरानी परमाणु वैज्ञानिक र सैन्य अधिकृतको हत्या गर्ने गरेको भए पनि एकै पटक तीन-तीन जना जनरल मारिएपछि इरानले कडा प्रतिक्रिया जनाएको छ।
इरानले इसराइलविरूद्ध प्यालेस्टाइनी संगठन हमास र इस्लामिक जिहाद र लेबननको लडाकू समूह हिजबुल्लाहलाई हतियार र तालिम दिएर प्रायोजन गर्छ। सिरियाको गृह युद्धमा राष्ट्रपति बसर अल असदलाई साथ दिएको इरानले इसराइल विरोधी गतिविधिका लागि सिरियाको भूमि पनि प्रयोग गर्ने गरेको छ।
तर पनि आफ्नो दूतावास परिसरमै आक्रमण गरेर वरिष्ठ सैन्य अधिकृत मारिनुलाई इरानले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भनेको छ।
इरानी खुफिया एजेन्सीसँग गजा युद्धका बारेमा प्यालेस्टाइनी इस्लामिक जिहादका नेता लगायतले बैठक गरिरहेको स्थानमा इसराइलले आक्रमण गरेको मानिन्छ। तर इरानले भने आफ्नो दूतावास परिसरमा रहेको वाणिज्य दूतावासको भवनमा आक्रमण भएको दाबी गरेको छ।
इरानका राष्ट्रपति इब्राहिम राइसीले 'अन्तर्राष्ट्रिय कानूनको निर्लज्ज उल्लंघन गरी गरिएको अमानवीय आक्रमण' भन्दै त्यसको जवाफ इरानले दिने बताएका छन्।
इरानमा विभिन्न ठाउँमा सरकार समर्थकले प्रदर्शन गर्दै इसराइलसँग यसको बदला लिन आह्वान गरेका छन्।
इसराइललाई हतियार र आर्थिक सहायता दिने भएकाले यो घटनाबारे अमेरिकासँग पनि इरानले जवाफ मागेको छ।
राजधानी तेहेरानमा रहेको स्वीट्जरल्यान्डका राजदूतलाई बोलाएर अमेरिकालाई जरूरी सन्देश पुर्याउन इरानले भन्यो भनेर विभिन्न समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। अमेरिका र इरानको दौत्य सम्बन्ध नभएकाले स्वीट्जरल्यान्डले इरानमा अमेरिकाको प्रतिनिधिको भूमिका निर्वाह गर्छ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा घटनाबारे छलफल गर्नका लागि रूसले मंगलबार आकस्मिक बैठक बोलाएको छ।
अमेरिकासँग राम्रो सम्बन्ध नभएका कारण विगतदेखि नै नजिक रहेका रूस र इरान रूसले युक्रेनमा आक्रमण गरेपछि झन् घनिष्ठ भएका छन्।
युक्रेनसँगको युद्धमा धेरै हतियार प्रयोग गरिरहेको रूसलाई इरानले ड्रोन र हतियार अनि गोला बारूद दिएर सहयोग गरिरहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)