श्रीलंकामा पहिलो पटक वामपन्थी राष्ट्रपति चयन भएका छन्।
आइतबार राति सकिएको मतगणनाबाट बामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके राष्ट्रपति निर्वाचित भएका हुन्।
श्रीलंका उनी राष्ट्रपति चुनिँदै गर्दा दुईवटा रेकर्ड बनेका छन्।
पहिलो पटक वामपन्थी राष्ट्रपति र पहिलो पटक दोस्रो रोजाईको मतगणना गरिएको हो।
आइतबार पहिलो रोजाइको मतगणनामा कसैको पनि ५० प्रतिशत मत नपुगेपछि दोस्रो रोजाइको मतगणना भएको थियो।
श्रीलंकाको राष्ट्रपतीय निर्वाचन प्रणाली अन्तको भन्दा फरक छ। लिमिटेड र्यांक्ड भोटिङ प्रणालीमा हुने निर्वाचनमा मतदाताले वरीयता तोकेर तीन जना उम्मेदवारलाई भोट हाल्न पाउँछन्। सुरूमा सबै मतदाताको पहिलो रोजाइका भोट गनिन्छन्। कुनै उम्मेदवारले यसमा सदर मतको ५० प्रतिशतभन्दा बढी ल्यायो भने सो उम्मेदवार विजयी हुन्छ।
तर कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याए सबभन्दा बढी मत ल्याउने दुई जना मात्रै दौडमा बाँकी रहन्छन्। त्यसपछि ती दुई उम्मेदवारबाहेक अरूलाई पहिलो रोजाइ मानेका मतदाताले पहिलो दुई उम्मेदवारलाई दोस्रो वा तेस्रो रोजाइमा पारेका छन् कि छैनन् भनेर हेरिन्छ। उनीहरू दोस्रो वा तेस्रो रोजाइमा परेका छन् भने त्यसलाई पनि तत् तत् उम्मेदवारको भोट भनेर गनिन्छ।
यसरी गन्दा बढी मत ल्याउने उम्मेदवारलाई निर्वाचित घोषणा गरिन्छ।
निर्वाचन प्रणाली त्यस्तो भए पनि सन् १९८२ मा भएको पहिलो राष्ट्रपतीय निर्वाचनदेखि अहिलेसम्म हरेक पटक कसै न कसैले पहिलो रोजाइकै भोटका आधारमा ५० प्रतिशत कटाएर निर्वाचन जितेको छ। दोस्रो र तेस्रो रोजाइको भोट अहिलेसम्म गनिएकै थिएन।
पहिलो रोजाईमा दिशानायेकेले ४० प्रतिशत मत पाएका थिए। वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो स्थानमा भएका कारण दोस्रो चरणमा प्रतिस्पर्धाबाट बाहिरिएका थिए। दोस्रो चरणमा विपक्षी दल नेता साजिथ प्रेमदासालाई हराउँदै दिशानायेके राष्ट्रपति निर्वाचित भएका हुन्।
यसपालिको राष्ट्रपति निर्वाचनमा पहिलोटक दोस्रो रोजाइको भोट गनिएको हो।
दिशानायेके निर्वाचित भएसँगै श्रीलंकामा अब उनको दल नेशनल पिपुल्स पावरले सरकार बनाउनेछ।
जितपछि उनले सदियौंदेखिको जनताको सपना साकार भएको बताएका छन्। उनले जित आफ्नो नभई सम्पूर्ण देशवासीको रहेको बताएका छन्। उनको विजयी र्यालीमा हजारौं मानिसहरू सहभागी भएका थिए।