बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि नाम रहेको खुलासा भएको छ।
राष्ट्रपति ट्रम्पका महान्यायाधीवक्ता पाम बन्डीले गत मे महिनामै एपस्टिनसँग सम्बन्धित फाइलहरूमा ट्रम्पको पनि नाम रहेको भनेर उनलाई जानकारी गराएको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले रिपोर्ट सार्वजनिक गरेको छ।
अमेरिकी मिडिया सिएनएनले पनि मे महिनामा बन्डीले ट्रम्पलाई न्याय विभागले एप्स्टिनसम्बन्धी कागजातहरू पुनरवलोकन गर्दा उनको नाम पनि फाइलमा परेको जानकारी दिएकी थिइन् भनेर लेखेको छ।
ट्रम्पलाई त्यसबारे जानकारी गराउँदा ट्रम्पसँगै सहन्यायाधीवक्ता जनरल टोड ब्लान्च पनि सहभागी थिए।
बन्डीले त्यही बैठकमा अरू पनि चर्चित व्यक्तिहरूको नाम फाइलमा उल्लेख भएको बताएकी थिइन्। तर उनीहरूले स्पष्ट रूपमा एपस्टिनका ग्राहकको सूची नभेटिएको र उनको मृत्यु पनि आत्महत्या नभएको भन्ने प्रमाण फेला नपरेको बताएकी थिइन्।
न्याय विभागका स्रोतहरूले सिएनएनलाई बताएअनुसार फाइलमा ट्रम्पसम्बन्धी केही आधारहीन दाबीहरू समावेश थिए। त्यसलाई विभागले विश्वसनीय नठानेको भनेर सिएनएनले लेखेको छ।
'बन्डीले जुन फाइल ट्रम्पलाई देखाएकी थिइन्, त्यसमा ट्रम्पको नाम भएको हामीलाई थाहा छ। यो केही नयाँ विषय होइन,' ह्वाइट हाउसका एक अधिकारीले सिएनएनसँग भनेका छन्।
तर ट्रम्पले हालै पत्रकारहरूसँगको कुराकानीमा बन्डीले आफूलाई त्यस्तो जानकारी नदिएको बताएका थिए। 'त्यस्तो जानकारी दिइएको थिएन। उनले छोटो ब्रिफिङ मात्रै गराएकी हुन्,' ट्रम्पले भनेका थिए।
एपस्टिनसँग सम्बन्धित फाइलमा ट्रम्प एपस्टिनको निजी विमानमा यात्रा गरेको भनेर उल्लेख रहेको वाल स्ट्रिट जर्नलको रिपोर्टलाई आधार बनाएर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेको छ।
वाल स्ट्रिट जर्नलले २२ वर्षअघि एपस्टिनको ५० औं जन्मदिनमा ट्रम्पले उनलाई पत्र लेखेको समाचार छापेपछि ट्रम्प विवादमा तानिएका थिए।
एपस्टिन र उनकी बेलायती प्रेमिका गलिन म्याक्सवेलले अमेरिकाका धनाढ्य र शक्तिशाली राजनीतिज्ञहरूका लागि 'कलिला किशोरीहरू व्यवस्था गर्ने' भनेर केही दशक अघिदेखि चर्चा हुँदै आएको थियो।
उनीहरूले न्यूयोर्क र फ्लोरिडाको पाम–बिचमा रहेका आफ्ना महलमा शक्तिशाली व्यक्तिहरूका लागि मनोरञ्जनको व्यवस्था गर्थे। एपस्टिनको क्यारेबियनमा एउटा निजी टापु नै थियो। उनले आफ्ना पाहुनालाई त्यहाँ लैजान निजी विमान प्रयोग गर्थे।
यस्तो धन्दा चलाउँदा पनि शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धका कारण एपस्टिनमाथि कुनै छानबिन भएको थिएन।
एपस्टिनले आफ्ना शक्तिशाली ग्राहकको सूची नै बनाएर राखेका छन् भन्ने पनि ट्रम्पका समर्थकको दाबी थियो। त्यही सूची बाहिरिने डरले डेमोक्र्याटिक पार्टीका शक्तिशाली नेताले एपस्टिनको हत्या गरेको उनीहरू बताउँथे।
उनीहरूले यस्तो आरोप लगाउनुमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसँग एपस्टिनको घनिष्ठ सम्बन्ध एउटा मुख्य कारण थियो।
सन् २००१ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि क्लिन्टनले धेरैपटक एपस्टिनको निजी जहाजमा यात्रा गरेको फ्लाइट लगले देखाएको छ।
ट्रम्पले पनि आफ्नो राजनीतिक लाभका लागि ती आरोपलाई बढावा दिए। दोस्रो कार्यकालका लागि चुनाव प्रचार क्रममा उनले भने, 'मैले चुनाव जितेँ भने एपस्टिनको ग्राहक सूची सार्वजनिक गर्छु।'
उपराष्ट्रपतिका उनका उम्मेदवार जेडी भान्सले पनि 'एपस्टिनको सूची जारी गर्नुपर्छ' भनेका थिए।
यति मात्र होइन, ट्रम्पले अमेरिकी अनुसन्धान संस्था एफबिआईको प्रमुख बनाएका काश पटेल र उपप्रमुख बनाएका डयान बान्जिनोले त उक्त सूची एफबिआईसँग छ भनेर दाबी नै गरेका थिए। त्यो सूची बाहिरिए डेमोक्र्याटिक पार्टी संकटमा पर्ने बान्जिनोको भनाइ थियो।
ट्रम्पले महान्यायाधिवक्ता बनाएकी पाम बन्डीले पनि गत फेब्रुअरीमा ट्रम्पलाई समर्थन गर्ने 'फक्स न्यूज' सँग कुरा गर्दै उक्त सूची आफ्नो डेस्कमा रहेको बताएकी थिइन्। पछि उनले कुरा फेर्दै ग्राहकको सूची नभएर एपस्टिनको फाइल आफ्नो डेस्कमा रहेको बताइन्।
यी सबै घटनाक्रमका कारण ट्रम्प सरकारले उक्त सूची र एपस्टिनसँग सम्बन्धित सबै कुरा सार्वजनिक गर्ने उनका समर्थकको अपेक्षा थियो।
तर ट्रम्प सरकारले सूची त के, यसबारे कुनै पनि नयाँ विवरण सार्वजनिक गरेन। सार्वजनिक गरिएका सबै कुरा पहिल्यै थाहा भइसकेका थिए।
एपस्टिनसँग सम्बन्धित फाइलमा ट्रम्पको नाम रहेको भनिए पनि कुन प्रसँगमा उनको नाम रहेको भन्ने नखुलाइएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
सुरूवातमा ट्रम्प र ह्वाइट हाउसले एपस्टिनसँग सम्बन्धित फाइलमा ट्रम्पको नाम उल्लेख नरहेको दाबी गरेको थियो।
समाचार लेख्ने वाल स्ट्रिट जर्नलविरूद्ध ट्रम्पले मुद्दासमेत हालिसकेका छन्। उक्त समाचार प्रकाशन हुनुअघि नै वाल स्ट्रिट जर्नलले त्यसबारे गरेको प्रश्नमा ट्रम्पले त्यसलाई फेक न्युज भन्दै प्रकाशन भए अदालत जाने चेतावनी दिएका थिए।
ह्वाइट हाउसकै एक अधिकारीले भने एपस्टिनसँग सम्बन्धित फाइलमा ट्रम्पको नाम रहेको विषयमा अस्वीकार नगरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पले एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न महान्यायाधीवक्ता बन्डीलाई निर्देशन समेत दिएका थिए।
उनकै पार्टीका समर्थक र मेक अमेरिका ग्रेट अगेन (मागा)ले पनि एपस्टिनसँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्नुपर्ने बताउँदै आएका छन्। यद्यपि अदालतले विशेष सुनुवाइसम्बन्धी दस्तावेजहरू सार्वजनिक गर्न नमिल्ने बताएको थियो।
ट्रम्पका समर्थकहरू अरू विषयमा ट्रम्पका नीतिहरूमा विरोध नजनाए पनि एपस्टिनसँग सम्बन्धित फाइलहरूका विषयमा पनि ट्रम्प आफ्नै समर्थकबाट घेरिन थालेको भनेर रोयटर्सले लेखेको छ। रिपब्लिकन पार्टीभित्रै पनि ट्रम्प अफ्ठेरोमा परेको बताइएको छ।
रोयटर्सले हालै गरेको सर्वेक्षणअनुसार पनि दुई तिहाईभन्दा बढी अमेरिकी नागरिकहरू ट्रम्प प्रशासनले एपस्टिनका ग्राहकहरूको विषयमा सत्य लुकाएको विश्वास गर्ने सार्वजनिक भएको छ।
यस विषयमा आम नागरिकको ध्यान हटाउनका लागि ट्रम्पले विषयान्तर गरे पूर्वराष्ट्रपति बाराक ओबामामाथि आफ्नो चुनाव विफल पार्ने प्रयास गरेको आरोप लगाएका छन्।
केही दिनअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टबाट बाराक ओबामालाई एफबिआइका अधिकारीहरूले पक्राउ गरी जेल चलान गरेको एआई भिडिओ सार्वजनिक गरेका थिए।
ओबामको प्रशासनले ट्रम्पको उक्त आरोप हास्यास्पद भनेर खारेज गरिसकेको छ।
एपस्टिन प्रकरणमा डेमोक्र्याटिक सांसदहरूले संसदमा विषय उठाउने र फाइल सार्वजनिक गर्न दबाब दिने तयारी गरेपछि ट्रम्पकै आग्रहमा सभामुख माइक जनसेनले संसदको अधिवेशन दुई दिन अगाडि नै अन्त्य गरिदिएका छन्।
संसदको अर्को अधिवेशन आगामी सेप्टेम्बरमा हुनेछ। अधिवेशन अन्त्यपछि डेमोक्र्याटिक सांसदहरूले उक्त विषय सेप्टेम्बरकै अधिवेशनमा पनि उठाउने बताएका थिए।
ट्रम्पले एपस्टिनलाई लेखेको भनिएको पत्रमा के छ?
समाचारअनुसार सन् २००३ मा एपस्टिनको ५०औं जन्मदिनको अवसरमा ट्रम्पसहित केही साथीहरूले अश्लील पत्र लेखेका थिए।
एपस्टिनकी प्रेमिका म्याक्सवेलको अनुरोधमा लेखिएको भनिएका ती पत्रको बेहोरा नै वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको छ। जर्नलका अनुसार ट्रम्पको पत्रमा एक नग्न महिलाको आकृतिभित्र शब्दहरू लेखिएका थिए।
यो समाचारका लागि ट्रम्पसँग पनि प्रतिक्रिया मागिएको जर्नलले लेखेको छ।
ट्रम्पले भने त्यस्तो पत्र आफूले नलेखेको भन्दै जर्नललाई समाचार नछाप्न भनेका थिए। समाचार छापिए मुद्दा हाल्ने धम्कीसमेत दिएको जर्नलले लेखेको छ।
वाल स्ट्रिट जर्नलको यस्तो समाचारपछि एपस्टिनको मामिलामा नयाँ तरंग आएको छ।
ट्रम्प राजनीतिमा आउनुअघि एपस्टिनको चर्चा मुख्यत: क्लिन्टनसँगको सम्बन्धलाई लिएर हुन्थ्यो। ट्रम्प राष्ट्रपति भएपछि पुराना सामग्री खोतलेर उनको र एपस्टिनको सम्बन्ध केलाइँदै छ।
सन् १९९० दशक र २००० को सुरूआतमा एपस्टिन र ट्रम्पको राम्रो सम्बन्ध थियो। एपस्टिन, ट्रम्प, एपस्टिनकी प्रेमिका म्याक्सवेल र ट्रम्पकी पत्नी मेलानियाले विभिन्न सामाजिक कार्यक्रममा खिचाएका तस्बिर पनि सार्वजनिक भएका छन्।
एनबिसी टिभीको पुरानो भिडिओ फुटेजमा ट्रम्पलाई उनको एक रिसोर्टमा भएको पार्टीमा एपस्टिनसँग देख्न सकिन्छ। उक्त फुटेजमा ट्रम्पले एक महिलालाई आफूतिर तान्दै गरेको र उनको नितम्बमा धाप मारेको देखिन्छ।
'न्यूयोर्क' पत्रिकाले सन् २००२ मा एपस्टिनबारे लेखेको एक लामो लेखमा ट्रम्पको पनि प्रतिक्रिया लिइएको थियो।
'मैले जेफ (एपस्टिन) लाई १५ वर्षदेखि चिनेको छु। धेरै गज्जबका मान्छे! उनीसँग बस्दा धेरै रमाइलो हुन्छ। यो पनि भनिन्छ, सुन्दर महिलाहरू मलाई जति मन पर्छ, उनलाई पनि त्यति नै मन पर्छ। र, तीमध्ये धेरैजसो कम उमेरका छन्। यसमा कुनै शंका छैन, जेफ्री आफ्नो सामाजिक जीवनको आनन्द लिन्छन्,' ट्रम्पले त्यति बेला भनेका थिए।
एपस्टिनको निजी विमानमा समेत ट्रम्पले सातपटक यात्रा गरेको फ्लाइट लगले देखाउँछ भनेर 'द न्यूयोर्क टाइम्स' ले लेखेको छ। ट्रम्प स्वयंले पनि एपस्टिनको निजी विमानमा यात्रा गरेको स्वीकार गरेका छन्। तर उक्त विमानमा कहिले पनि एपस्टिनको निजी टापुमा नगएको उनले दाबी गरेका छन्। त्यस्तै, एपस्टिनसँग कुनै अवाञ्छित गतिविधिमा संलग्न नभएको पनि भनेका छन्।
यी दुई जनाको सम्बन्ध सन् २००४ पछि बिग्रिएको थियो। अमेरिकी पत्रिका 'द वासिङ्टन पोस्ट' का अनुसार फ्लोरिडाको पाम–बिचमा रहेको एउटा महल कसले किन्ने भनेर उनीहरूबीच झगडा भएको थियो। त्यो महल एपस्टिनले भनेभन्दा धेरै दाममा ट्रम्पले किनेका थिए।
सन् २०१९ मा एपस्टिन दोस्रोपटक पक्राउ पर्दा राष्ट्रपति रहेका ट्रम्पले करिब १५ वर्षदेखि उनीसँग कुरा नगरेको बताएका थिए।
'पाम–बिचमा सबैले चिनेझैं म पनि उनलाई चिन्थेँ। म उनको प्रशंसक थिइनँ, त्यो म तपाईंलाई भन्न सक्छु,' ट्रम्पले त्यति बेला ह्वाइट हाउसमा भनेका थिए।
एपस्टिनसँग निकट रहेका बेला ट्रम्पले पनि बालिकाहरूसँग यौन सम्बन्ध राखेका थिए कि थिएनन् भनेर अहिलेसम्म खुलेको छैन। तीन जनासँग विवाह गरेका र धेरै महिलासँग सम्बन्ध राखेका कारण ट्रम्पमाथि शंका गर्न सकिन्छ। तर त्यतिले मात्र पुष्टि हुँदैन।
एपस्टिनले २०१९ मै जेलभित्र आत्महत्या गरेका थिए। उनकी प्रेमिका म्याक्सवेल भने अहिले पनि जेलमै छिन्।