ग्लोबल नेपाली
९ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा नेपाली आज स्वदेश फर्किएका छन्।
नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा र तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा ९ महिनाअघि युक्रेन पुगेका थिए।
उनीहरूलाई नेपाली दूतावास जर्मनी, गैरआवासीय नेपाली संघ र युक्रेनस्थित श्रीलंकाको वाणिज्यदूतको संयुक्त पहलमा त्यहाँबाट उद्धार गरिएको हो। उनीहरूको हवाई भाडाको व्यवस्था भने गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दोलखाका शेर साम्बो शेर्पाले भाषा अध्ययन तथा रोजगारीको सिलसिलामा आफूहरू माल्दोवा हुँदै युक्रेन पुगेको बताए।
'हामीलाई सुरूमा युक्रेनले ९० दिनको भिसा दिएको थियो। हामी त जान चाहेका थिएनौं। तर ख्यालख्यालमै भिसा लाग्यो अनि भारतीय कन्सल्टेन्सीले पैसा तिर्नुपर्छ भनेपछि गएका हौं,' शेर साम्बोले भने, 'भारतबाट दलालले पटक/पटक फोन गरेर लडाइँ भएको रूस र युक्रेनको सीमामा मात्रै हो। त्यहाँ खासै समस्या छैन भन्यो। त्यसपछि हामी कलेजको शुल्क २ लाखसहित ८ लाख तिरेर गएका हौं।'
![ucraine-(6)-1738933924.jpg](https://www.setopati.com/uploads/posts/ucraine-(6)-1738933924.jpg)
युक्रेन पुग्दा उनीहरूसँग जम्मा ७ दिनको मात्र भिसा थियो। युनिभर्सिटीले भिसा थप्ने प्रक्रिया मिलाउने भनेर १५ सय डलर थप लिइसकेको थियो। भिसा थप्ने प्रक्रिया लम्बिएपछि उनीहरू बाहिर निस्किन थाले। त्यही बेलामा युक्रेनी सेनाको हिरासतमा पुगेको शेर साम्बोले बताए।
'सुरूमा त पासपोर्ट हेरेर हामीलाई छोडेको थियो। जब ट्रेनबाट झरेर नेपाल जस्तै गाउँ देखेर घुम्न थाल्यौं। त्यही बेलामा बोर्डर गार्डले आएर हामीलाई समातेको हो,' शेर साम्बोले भने, 'हामीलाई गिरफ्तार गरेको भोलिपल्टै अदालतमा लग्यो। अदालतले तत्कालै डिपोर्टको आदेश दियो तर हामीसँग डकुमेन्ट अनि हाम्रो दूतावास लगायत कुनै कार्यालय नभएर समय लाग्यो।'
आफूहरू प्रलोभनमा परेर युक्रेन गए पनि अरू कोही नजान समेत उनीहरूले आग्रह गरेका छन्। अझै पनि भारतको बाटो हुँदै युक्रेन जाने गरिएकाले त्यसलाई रोक्न समेत उनीहरूले सरकारसँग माग गरेका छन्। आफूहरूलाई नेपाल फर्काउने क्रममा जर्मनीका लागि नेपाली राजदूत शैल रूपाखेती, एनआरएनए अध्यक्ष बद्री केसी र युक्रेनका लागि श्रीलंकन अनरी काउन्सिलर किरिल कार्नेटको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए।
अर्का युवा फुर्वा शेर्पाले आफूहरूले कल्पना गरेको भन्दा फरक अवस्था त्यहाँ पाएको बताए।
'अध्यागमन हिरासतमा रहेका बेला युक्रेनको सेनाले पटक पटक नेपाल पठाउन प्रयास गरेको थियो,' फुर्वाले भने, 'हामीलाई हप्ताको दुई दिन फोनमा कुरा गर्न दिइएको थियो। हामीले शारीरिक यातना भोग्न नपरे पनि मानसिक यातना भने भोग्नुपर्यो।'
युक्रेनी सेनाले स्वास्थ्य परीक्षण गरेर राखेको भन्दै शेर साम्बो शेर्पाले कानुनको अभावकै कारण उनीहरूले नेपाल पठाउन नसकेको बताए।
आफूहरूको कागज बनेको एक महिनामा भिसा लगाएर पठाइएको उनले बताए।
युद्ध छ भन्ने थाहा पाए पनि टिकटकमा आएको विज्ञापनको प्रलोभनमा परेर युक्रेन गएको शेर साम्बोले बताए।
'युद्धले गर्दा युक्रेनमा काम गर्नेको अभाव छ। त्यहाँका कामदारहरू काम छोडेर भागेका छन्। मासिक १ लाखभन्दा धेरै कमाइ हुन्छ भनिएको थियो,' शेर साम्बोले भने, 'सुरक्षित तरिकाले कमाइ हुन्छ भने किन नजाने भनेर गएको हो। तर हामी यसर फस्न पुग्यौं। धन्न बाँचेर आइयो। ठूलै युद्ध जितेजस्तो भएको छ।'
![ucraine-(7)-1738933924.jpg](https://www.setopati.com/uploads/posts/ucraine-(7)-1738933924.jpg)
![ucraine-(4)-1738933923.jpg](https://www.setopati.com/uploads/posts/ucraine-(4)-1738933923.jpg)
![ucraine-(5)-1738933923.jpg](https://www.setopati.com/uploads/posts/ucraine-(5)-1738933923.jpg)
![ucraine-(1)-1738933922.jpg](https://www.setopati.com/uploads/posts/ucraine-(1)-1738933922.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी