गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले कल्याणकारी कोषको स्थापना गरेको छ।
नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एनआरएनए अध्यक्ष सोमेश अर्यालले कल्याणकारी कोषको स्थापना गर्न प्रस्ताव गरेका थिए।
अर्यालले प्रस्ताव गरेलगत्तै आठ लाख तीस हजार जम्मा भएको छ। सहयोग रकमममा प्रतिबद्धता आउने क्रम जारी छ।
एनआरएनए अध्यक्ष अर्यालका अनुसार अफ्रिकामा समस्यामा पर्ने नेपालीहरुको लागि तथा नेपालमा प्राकृतिक विपत्ती र अन्य परोपकारी कार्यमा उक्त कोष मार्फत सहयोग गरिनेछ।
यसअघि एनआरएनए नाइजेरियाले चितवन, कैलाली, सुनसरी, रसुवा, खोटाङ, मकवानपुरमा विद्यालय भवन, पुस्तकालय र प्रयोगशालाहरु निर्माण गरिसकेको छ ।
त्यस्तै एनआरएनए नाइजेरियाले भूकम्प, बाढी, पहिरो, इबोला र कोरोनालगायत विपत्तिमा उल्लेखनीय सहयोग गरेको थियो। त्यसैगरी मानव तस्करहरूले अफ्रिकामा अलपत्र पार्ने नेपालीको उद्धार र तिनलाई तत्काल सहयोगमा एनआरएनए नाइजेरियाले नेतृत्वदायी भूमिका खेलिरहेको छ।