गैर आवासीय नेपाली संघ(एनआरएनए) माल्टाको आयोजनामा माल्टामा नेपाल महोत्सव भएको छ।
अप्रिल १४ अर्थात नेपाली नया वर्षको अवसर पारेर एनआरएनए माल्टाको आयोजनामा नेपाल महोत्सव भएको हो।
माल्टाको राजधानी भ्यालेट्टास्थित संसद भवन अगाडि भएको कार्यक्रम भव्य तरिकाले सम्पन्न भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स)ले बताए।
महोत्सवले माल्टामा रहेका नेपालीलाई नेपाल सम्झाउने अनि एक आपसमा जमघट गर्ने अवसर दिएको एनआरएनए माल्टाका अध्यक्ष खनालको दाबी छ।
युरोपेली मुलुक माल्टामा १० हजार भन्दा धेरै नेपाली छन्।
'भ्यालेट्टाको केन्द्रबिन्दु नै नेपाली भेषभूषाले रंगिन बनेको थियो। रातो रङको पृष्ठभूमिमा चन्द्र र सूर्यले सुशोभित हाम्रो राष्ट्रिय झण्डा जब लहरायो, तब त्यहाँ उपस्थित हरेक नेपालीको हृदय गर्व, सम्मान र देशप्रेमले भरियो,' उनले भने, 'नेपाली गीत, सांस्कृतिक झाँकी, नृत्य, भेषभूषा र हाम्रो सांस्कृतिक पहिचानले त्यो दिन भ्यालेट्टालाई मिनी नेपाल बनायो जसले लुम्बिनीदेखि सगरमाथासम्मको आत्मा बोकेको अनुभूति दिलाएको थियो।'
माल्टामा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्थाहरू, समाजहरू सबैको प्रस्तुति उत्कृष्ट रहेको नेपाल महोत्सव कार्यक्रमका संयोजक निरोज श्रेष्ठले बताए।
उनले माल्टा र गोजोका कुना–कुनाबाट आफ्नो व्यस्तताको बाबजुद कार्यक्रममा उपस्थित नेपाली झन्डा र संस्कृतिको गौरव बढाउन सफल भएको दाबी गरे।
कार्यक्रमका सह-संयोजक विजय परियारले माल्टाको आकाशमुनी नेपाल अनुभूति गर्न पाएको बताए। त्यो केबल एउटा कार्यक्रम मात्र नभइ नेपाली संस्कृति र एकताको उत्सव भएको उनको भनाइ छ।
कार्यक्रममा करिब ४ हजार जनाको उपस्थिति थियो।
नेपाल महोत्सवमा तामाङ समाज,गुरूङ समाज,मगर समाज, पूर्वाञ्चलन समाज,नेपाली सोसाइटी माल्टा,नेवार समाज,राई समाज, लगायतले आफ्नो संस्कृति झल्किने झाँकी प्रस्तुत गरेका थिए।
नेपाली नयाँ वर्षको अवसर पारेर गरिएको सो कार्यक्रममा माल्टाका लागि पर्यटन दूत प्रकाश भण्डारी,एनआरएनए आइसिसी युरोप सेक्रेटरी भुवन अर्याल, हरि बिसी, सत्य झा,रोशन गिरीले आ-आफ्नो धारणा राखेका थिए।
माल्टाका परराष्ट्र तथा पर्यटनका लागि स्थायी सचिव क्रिस्टोफर कुटाजार,माउण्टेनिङ एशोसिएशन माल्टाका अध्यक्ष साइमन एल्डेन,पहिलो माल्टाली माउण्ट एभरेष्ट बेस क्याम्प भ्रमणकर्ता पिएरे फारुगिया लगायतको कार्यक्रममा उपस्थिति थियो।



-1744778450.jpg)
-1744778450.jpg)
-1744778451.jpg)
