प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सरकार र पार्टी कसैको हस्तक्षेप हुन नहुने बताएका छन्।
एनआरएनए अध्यक्ष बद्री केसी सहितका पदाधिकारीसॅंग भएको भेटमा प्रधानमन्त्री ओलीले एनआरएनएलाई गैर-राजनीतिक संस्था बनाउनुपर्ने पनि बताए।
उनले ११ औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको एनआरएनए अध्यक्ष बद्री केसीले जानकारी दिए।
'दसौं महाधिवेशनमा विवाद भएको हो। त्यो विवादबारेको फैसला ११ औं महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११ औं महाधिवेशनलाई मान्यता दिइसकेको छ,' प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै केसीले भने, '११ औं महाधिवेशन भइसकेपछि अरू महाधिवेशन जरूरी छैन।अरू कुनै महाधिवेशन भए पनि त्यो भयो, सक्कियो।'
भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय समन्वय समिति (एनसिसी) अधिवेशनपछि मात्र एनआरएनए महाधिवेशन हुने धारणा राखेको उपाध्यक्ष विनोद श्रेष्ठले बताए।
प्रधानमन्त्री ओलीले हरेक २ वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिकारिक हुने बताएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ।
शेष घले नेतृत्वको उच्चस्तरीय समितिले शनिबार र आइतबार गरेको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठको नेतृत्वमा कार्यसमिति बनाएको छ। कार्यक्रमको उद्घाटन गर्न परराष्ट्र मन्त्री आरजु राणा देउवा गएकी थिइन् भने समापनमा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गएका थिए।