गैरआवासीय नेपाली संघ(एनआरएनए)ले बुधबार गरेको एनआरएनए कन्क्लेभप्रति एकता महाधिवेशनबाट निर्वाचित एनआरएनएले आपत्ति जनाएको छ।
११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले बुधबार गरेको एनआरएनए कन्क्लेभमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी थिए।
एनआरएनए विवादसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी ढंगले कार्यक्रम गर्दा गलत सन्देश गएको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले बताए।
'हाम्रो विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको बेला कार्यक्रम गर्नै हुँदैनथ्यो। गरेको भए पनि सामूहिक रुपमा गर्न सकिन्थ्यो। सामूहिक रुपमा कार्यक्रम गरेको भए सबै पार्टीका नेताहरुको सहभागिता रहन्थ्यो,'अध्यक्ष श्रेष्ठले सेतोपाटीसँग भने,'कार्यक्रममा पूर्व अध्यक्षहरु मध्ये कसैको उपस्थिति रहेन। त्यो कार्यक्रम एनआरएनएको भन्दा पनि एमाले पक्षधरको जस्तो मात्र देखियो।'
अदालतमा विचाराधीन मुद्धाबारे प्रधानमन्त्रीले समेत बोल्न नहुने उनको तर्क छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बद्री केसी नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको बताएका थिए।
आफूहरुले संयमता अपनाउँदा अपनाउँदै पनि त्यसलाई कमजोरी ठानिएको भन्दै अध्यक्ष श्रेष्ठले आपत्ति जनाए।
'हाम्रो संयमतालाई कमजोरी ठानेर दम्भ देखाइयो। हामीले वार्ता गरौ सम्झौता गरौं भन्दा त्यसलाई बेवास्ता गर्ने अनि एकतर्फी रुपमा कार्यक्रम गरेर के गर्न खोजेको हो?,' अध्यक्ष श्रेष्ठले भने, 'हामी अत्यधिक लचक भइरहेका छौं। तर उहाँहरुले एकता चाहेको हो कि बिखण्डन चाहेको हो?'
यसरी आफूखुशी एकलौटी ढंगले कार्यक्रम गर्दै जाने हो भने यसको प्रभाव राष्ट्रिय समन्वय परिषद (एनसिसी)हरुमा समेत पर्ने उनको चेतावनी छ।