हामी गाउँमा पढ्दाताका हातले बुनेको धागोको झोला भिरेर डायरी र पेन लिएर स्कुलमा आउने पत्रकारको कति मान सम्मान अनी मान्यता हुन्थ्यो। हामी पनि ‘अहो! उहाँ त पत्रकार रे’ भनेर वडो सम्मानका साथ बोल्ने गर्थ्यौं।
२०५४ सालतिर स्कुलमा भित्ते पत्रिका सञ्चालनमा आयो। त्यहाँ काठको बाकसमा तार वा सिसाबाट भित्र देखिने गरि लेख रचना प्रत्येक महिना लेखिन्थ्यो। आनन्द पौडेल सर प्रधान सम्पादक हुनुहुथ्यो। अनि हामीले लेखेका लेख पनि त्यहाँ प्रकाशित हुन्थ्यो। हामीले हातले लेखेका रचनाहरू नामसहित भित्ते पत्रिकामा देख्दा गाउँभरी ‘अहो! यो त पत्रकार पो भएछ’ भनेर कुरा गर्थे। अनि म पनि मनमनै सोच्थेँ, ‘म पनि त्यो झोला भिरेर आउने भवानीसर लालजस्तो कहिले बन्ने होला?’
त्यतिबेलाको पत्रकारिता साच्चिकै पत्रकारिता थियो। रिपोटिङ गर्न गएपछि कापीमा लेखेर पत्रिकाको कार्यालयमा फ्याक्स गरिदिनु पर्थ्यो। छापेर आएपछि त्यसको न कसैले कपी गर्थ्यो न त सारेर जस्ताको तस्तो अर्को पत्रिकामा छाप्थ्यो।
त्यतिबेला जिल्ला र गाउँमा पत्रकारको छुट्टै छवि थियो। स्थानीय स्तरको कुनै पत्रिकामा समाचार आउँदा पनि त्यसको प्रभाव निकै राम्रो हुन्थ्यो।
समय फेरिदै गयो। आम सञ्चार र छापाहरू विघुतीय माध्यमबाट सुरू हुन थाल्यो। फेसवुक, ट्वीटर, व्लग तथा वेवसाईटहरूबाट समाचार लेखिन थाले।
एउटाले लेखेको समाचार छिनभरमै सयौंले कपि गरि आफ्नामा राख्न थाले। साच्चै भन्ने हो भने पत्रकार दिन २ गुणा र रात चौगुणाले बढ्न थाले।
एउटाले लेखेको कुनै समाचार यति धेरैले कपी गर्छन् कि क्षणभरमै भाईरल हुन्छ, जतासुकै त्यही समाचार हुन्छ।
कतिपय त मानवीय संवेदनाको ख्याल नै नराखी समाचार प्रकाशन गर्छन्। समाचार ब्रेक गर्ने र पैसा कमाउने निहित स्वार्थ भएकाले ज्यूँदै मान्छेलाई पनि ‘स्वर्गारोहण’ भनेर समाचार छापिदिन्छन्। त्यही समाचार कपी/पेस्ट गरिने भएकाले समाचार पढ्नेले श्रद्धाञ्जली दिन भ्याईसकेका हुन्छन्। तर मान्छे ज्युँदै हुन्छ। यो पत्रकारिता पछिल्लो समय मौलाएको छ।
यतिबेला नेपालसहित संसारभर रहेका नेपाली पत्रकारहरू चुनावी माहोलमा होमिएका छन्।
पहिला लाग्थ्यो, पत्रकारको चुनाव भनेको पत्रकारकै लागि हो। अझ सकृय पत्रकारको लागि पत्रकारको हक र हितको लागि नेतृत्व चुनिने भन्ने लाग्थ्यो। तर पछिल्लो समय पत्रकारितामा चरम विकृति भित्रिएको छ।
अरूकोबारेमा लेखेर गाउँ, घर र समाजका समस्या उजागर गर्दै सम्बन्धित निकायलाई खबरदारी गर्ने राज्यको चौथो अंगको स्थिति साच्चिकै अहिले दयनीय छ।
एउटा व्यक्तिगत व्लग या अनलाईन खोलेर कसैको चरित्रहत्या गर्यो अनि कसैको स्तूति गायो। यस्तै विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाईनको समाचारलाई अनुवाद गर्यो, दायाँ बायाँ मिलायो अनि समाचार लेख्यो र पत्रकार भयो। कति सजिलो है अहिलेको पत्रकारिता!
नेपालमा मात्रै नभएर विदेशमा पनि नेपाली पत्रकार चिन्ने समय भनेको पत्रकार महासंघ को चुनावनै रहेछ। पत्रकारको चुनावमा पो पत्रकार चिनिने रहेछ।
युरोपका धेरै मुलुकमा अहिले पत्रकार महासंघ नेपालका शाखा खुलेको छन्। पोर्चुगल, वेल्जीयम, युकेलगायतका देशमा पत्रकारको संघसंस्था खुलेका छन्। तर ती पत्रकारको सस्थाका पदाधीकारी देख्दा अचम्म लागेर आउँछ।
जिन्दगीमा कहिल्यै समाचार नलेखेका, कसैको १/२ आलोचना र विरोधको लेख लेखेकै भरमा पत्रकार महासंघ सदस्य लिएका पनि छन्।
त्यति मात्र होईन १० औं वर्ष अघि नेपालका केही टेलिभिजन र पत्रिकामा करारमा काम गरि १-२ पटक रिपोटिङ गरेर वर्षो अघि त्यो पेसा छोडेकाहरू पनि पत्रकार महासंघको उच्च पदमा छन्।
विदेस मा न कहिल्यै समाचार लेखेका छन् न त कहिल्यै रिपोटिङनै गरेका छन्। तै पनि उनीहरू पत्रकारको संस्थाभित्र अटाएका छन्।
केही दिन पहिला पत्रकार महासंघ, युरोपको निर्वाचन भयो। त्यहाँ पदका यति धेरै आकांक्षी देखिए कि, सात जना उपाध्यक्ष र ५ जना सचिव बनाउँदा पनि अझै कति पत्रकारलाई भाग नपुगेर अर्को समानान्तर समिति गठन गर्न भ्याए। अझै यस्ता समानान्तर समिति कति बन्ने हुन् हेर्दै जानुपर्ला।
नेपालमा पनि यस्तै हालत छ। वास्तविक पत्रकारहरू सधै पछि छन्। अनि नेताको चाकडी गर्नेहरू पार्टीकै भागबण्डामा चुनाव लड्छन्। जसले कहिल्यै कलम चलाउँदैन उ नै पत्रकारको हक र हितका लागि भनेर निर्वाचित हुन्छन्।
अब उसलाई फेरि देश विदेशबाट क-कसले चाकडी र सम्मान गर्छन्। उनीहरूलाई नै काखी च्याप्छ।
वास्तविक लेखक र पत्रकार सधै पछाडिका पछाडि। जब पत्रकारको चुनाव आउँछ। अनि कहिल्यै नसुनिएको नाम कहिल्यै लेख नपढिएका नामहरू आफूनै वरिष्ठ पत्रकार भएको भन्दै नेतृत्वको लागि हानाथाप गर्छन्।
अनि यस्तैले जित्छन् र जिताईन्छ पनि। यस्तैले गर्दा वास्तविक पत्रकार सधै पछाडि परेको छन्। अनि यीनै श्रमजीवी पत्रकारहरू नै शोषित छन्, पीडित छन्।
वास्तवमा कहिल्यै कलम नचलाउने, तर पत्रकारको मुकुन्डो भिर्ने यी र यस्ता पत्रकार चिन्ने मौका भनेको देस या विदेस जहाँ भए पनि पत्रकार महासंघको चुनावनै रहेछ भन्ने प्रष्ट भयो।