विदेशिने रहर कमैलाई हुन्छ। तर नेपालीका लागि यो बाध्यता बनिसकेको छ। कोही विदेश आएर सोचेभन्दा बढी प्रगति गर्छन् त कोही निरास भएर फर्केका छन्। कोही लाख लिएर फर्किन्छन् भने कोही बाकसमा लास भएर फर्किन्छन्।
पछिल्लो केही वर्षदेखि युरोपको पोर्चुगल नेपालीका लागि पहिलो रोजाईको देश भएको छ। यहाँ कमाईँभन्दा पनि युरोपमा बसोबास गर्न सहज हुने कार्ड बन्ने र कार्ड बनेको ५ र ६ वर्षमा पासपोर्ट पाइने तथा अन्य युरोपेली मुलुकमा स्थायी बसोबासका लागि सहज हुने हुँदा नेपाली मात्र होइन, हामीजस्ता कम विकशित मुलुकका नागरिक पनि पोर्चुगल आउन रूचाउँछन्।
पछिल्लो तथ्यांक अनुसार तीस हजारभन्दा बढी नेपाली पोर्चुगलमा छन्। यही नेपालीको भीडमा सुन्दर सपना बोकेर बिदेस जाने युवामध्ये एक हुन् रञ्जन।
२६ वर्षीय रन्जनको परिवार सुरूमा रामेछापबाट अवसरको खोजी गर्दै सर्लाही बसाई सर्यो।
सर्लाहीको एक सुकम्बासी बस्तीमा परिवारसँग बस्ने राजनलाई एउटा आश्रमले १२ सम्म पढाइदियो। १२ पास गरेसँगै उनले सानोतिनो काम गर्दै उच्च शिक्षा अध्ययन गर्न थाले।
स्नातक सकेपछि एउटा ट्राभलमा काम पाए। तलब राम्रो थियो। पढाईसँगै परिवारको गुजारा राम्ररी चलिरहेको थियो। एकाएक कोरोना महामारी सुरू भयो। ट्राभल बन्द भयो। ट्राभलसँगै उनको जागिर सकियो।
त्यसपछि केही दिन पठाओमा यात्रु बोक्न थाले। घरखर्च चलाउन गाह्रो हुन थाल्यो। कोरोनाले थलिएको अर्थतन्त्रमा गुमेको जागिरले परिवारको दायित्व धान्न समस्या पर्दै गयो। बिरामी बुवा र भाउजुको मिर्गौला रोगले थपिएको ऋण बढ्दै गयो।
यसैबीच एउटै घरमा डेरा गरेर बसेका साथीले आफू युक्रेन जान लागेको र त्यहाँ गएपछि मासिक १ लाख भन्दा बढी कमाई हुने बताइदिए।
उनकै सल्लाहमा युक्रेन पठाउने एजेन्टलाई भेटे। एजेन्टले पनि अहिले पैसा नचानहिने तर वर्क परमिट हात परेपछि ७ लाख बुझाउनुपर्ने बताए। ती एजेन्टले युक्रेनमा कमाई नै १ लाख भन्दा बढी हुने र त्यहाँबाट युरोपको सेनजेन देश हंगेरीको ३ महिनाको भिसा लगाईदिने विश्वास दिलाए र १ देखि २ महिनाभित्रमा उडाउने बताइदिए।
नभन्दै १५ दिनमा वर्कपरमिट आयो। राजन मख्ख परेँ। दलाललाई १ लाख दिए। दलालले आज भोलि भन्दा भन्दै डिसेम्बर २६ मा भिसा लागेको पासपोर्टको फोटो पठाइदिए र भने- ‘चाडैं उड्ने हो भने पैसा पठाउनू।’
राजनले सयकडा ४ को व्याजमा पैसा खोजेर एजेन्टलाई बुझाए। तर एजेन्टले उनलाई उडाउने समय बढ्दै गयो। आज भोलि भन्दाभन्दै भिसा लागेको २ महिना २८ दिनपछि जनवरी २४ मा २ दिन भिसा अवधि बाँकी हुँदा उनलाई उडाउने भयो।
घरबाट बिदा भएर आए।
एजेन्टले सुरूमै उनलाई एयरपोर्टको सेटिङका लागि भनेर ३० हजार रूपैयाँ र खोप कार्डका लागि ३५ सय लाग्ने बताएको थियो। सोही अनुसार उनले उक्त पैसा एजेन्टलाई थपिदिएका थिए।
यसरी पुगेँ काठमाडौंबाट- युक्रेनहुँदै पोर्चुगलसम्म उनकै शव्दमा
२४ जनवरीमा हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्यौं। म सँगै अरू तीन जना साथीहरू थिए। दिउँसै हामीले पासपोर्ट र वर्कपरमिट पाएका थियौं।
वर्कपरमिटमा हाम्रो तलब ६५ हजार ग्रीमाना थियो। एक लाख नेपाली भन्दा केही बढी हुने भनिए पनि यति धेरै रकम देख्दा मनमा चिसो पस्यो।
जब बोर्डिङ पास लियौं, त्यसपछि पासपोर्टमा छाप हान्ने ठाउँमा केही समय कुराए। त्यसपछि अगाडि बढ्न अनुमति दिए। ३० हजारको सेटिङ त्यसैका लागि रहेछ भन्ने पछि थाहा भयो।
फ्लाईदुवईको उडानबाट हामीले नेपाल छोड्यौं। बिरामी बुबा सयकडा ४ को ऋण २ जिउकी श्रीमती अनि साहुको ऋण तिर्न विदेसिएकी आमालाई सम्झदै मनमा अनेकौ सपना बुनेर दुवई एअरपोर्टमा झरेको पत्तै भएन।
दुबईमा ९ घन्टा लामो ट्रान्जीटपछि हामी फ्लाई दुबईको अर्को उडानमार्फत युक्रेनको राजधानी किभ पुग्यौं।
एअरपोर्ट अध्यागमनमा हामीलाई ५ घन्टासम्म रोक्यो।
युक्रेन पनि भ्रष्ट र सेटीङमा नेपालभन्दा कम रहनेछ। केही समयपछि भारतीय दलाल आएर हामीलाई छुटायो। उसलाई नेपालको दलालले दिनु भने अनुसार जनही २ हजार डलर दियौं।
हामीले सोच्यौं दलालले अब सोझै हामीलाई कम्पनीमा लैजाने छ र काम सुरू हुन्छ। तर उसले एउटा ट्याक्सीमा राखेर होटल पुर्यायो। ट्याक्सी भाडा हामीलाई नै तिर्न लगायो। होटलमा बस्दै गयौं। दैनिक २५० युक्रेनी ग्रीमाना तिर्नुपर्थ्यो।
२ दिन पछाडि २६ जनवरीमा भिसाको म्याद सकियो। नेपालबाट जाँदा सुरूमा ३ महिनाको भिसा लाग्ने र त्यहाँ पुगेपछि टिआरसी बन्नुपर्ने हो। तर हामीलाई भिसा सकिन ३ दिन अगाडि मात्र उडाएको थियो। भिसा सकिएपछि हामीसँग दलालले बार्गेनिङ गर्नका लागि यसो गरिएको रहेछ।
भिसा अवधि सकियो। भिसा थप गर्न र भने अनुसारको कम्पनीमा काम लगाउन उक्त दलाललाई अनुरोध गर्दा नेपालकै व्यक्तिलाई भन्न भने। नेपाल फोन गर्दा ‘धैर्य गर’ मात्र भन्थ्यो।
यता बस्ने होटल पनि त्यस्तै थियो। हामी इलेक्ट्रीक जगमा पानी तताएर नेपालबाटै लगेको चाउचाउ प्लास्टीकको गिलासमा हालेर खाने गर्थ्यौ।
भिसा सकिसकेको भएकाले बाहिर जानु सहज थिएन। न काम छ, न खाना पकाएर खान पाईन्छ। अब हामी होटल नबसेर होस्टलमा बस्ने निधो गर्यौं।
एक जना नेपालीले आफू बस्ने होस्टलमा लिएर गए। त्यहाँ १०० अमेरिकी डलरमा १ महिनासम्म बस्न पाईनेरहेछ। खाना बनाएर खान पाईनेरहेछ।
युक्रेन आएको ११ औं दिन हामीले भात पकाएर खान पायौं।
हामी होटलबाट होस्टल गएपछि दलालले टिआरसी बनाइदिने भन्दै हाम्रो पासपोर्ट लिएर गयो। ‘अब तिमीहरूको टिआरसी कार्ड बन्छ अनि काममा जानेछौं’ भन्यो। तर आज आजभोलि भन्दा भन्दै २० दिन बित्यो केही भएन।
होस्टलमा चेकिङ आउँथ्यो, हामी लुक्थ्यौं। २२ दिन बित्यो। न काम छ, न त हातमा पासपोर्ट। नेपालमा सम्पर्क गर्दा सधैं चिल्ला र झुटा कुरा मात्र गर्छ। युक्रेनमा रहेको भारतीय दलालले वास्तै गर्न छोड्यो।
हामीसँगै बसेको एक भारतीयलाई होस्टलको भाडा नतिरेर होस्टल सञ्चालिकाले निकाली दिइन्। अब हाम्रो हालत पनि यही हुने हुने थियो। दलाल भन्छ-प्रहरीबाट चै जसरी पनि जोगिनू नत्र गाह्रो पर्छ। नभन्दै २२ फेब्रुअरीमा प्रहरीले भेट्यो।
पासपोर्ट देखाउन भन्यो। हामीसँग पासपोर्ट थिएन। प्रहरीले भ्यानमा हालेर लग्यो र आप्रवासीलाई राख्ने हिरासतमा राख्यो। हामीले त्यहाँ सबै घटनाबारे बेली विस्तार लगायौं। सबै अनुसन्धान गरेपछि प्रहरीले हामी कानुनी बाटोबाटै युक्रेन आएको पत्ता लगायो।
हामीले हाम्रो पासपोर्ट लाने दलालको फेसबुक, इन्टाग्राम, युट्यूव र मोबाइल नम्बर सबै दियौं। यो कुरा दलालले थाहा पाएछ। आफू फसिने भन्दै अर्कैको हातमा हाम्रो पासपोर्ट प्रहरीकहाँ पठाइदियो।
प्रहरीले हाम्रो पासपोर्ट लिएर हामीलाई ओभरस्टेको जरीवाना तिरेर नेपाल फर्कन भन्यो।
हामीले नेपालको दलाललाई सबै बतायौं। सधैं चिल्ला कुरा गरिहने दलालले कहिले नक्कली टिकट पठाईदियो। कहिले पैसा पठाइदिने भन्न थाल्यो।
हाम्रो मुख्य दलाल मोहन पाण्डे भन्ने भारतीय रहेछ। उसले अझै पनि हामीलाई त्यहाँबाट निकाल्ने भन्दै थियो।
यसैबीच हामीलाई प्रहरीले अर्को हिरासत लग्यो। कुनै हालतमा हामी डिपोर्ट हुनेनै भयौं। तर टिकट हामी आफैंले काट्नुपर्ने भयो। पैसा छैन, दलालले नाटक मात्र गर्छ।
२२ तारिखमा हामीलाई प्रहरीले लिएर गएको थियो। २४ तारिखको बिहान ७:२५ बजे रसियाले पहिलो पटक युक्रेनमा बम हानेछ।
हामीले बाहिरी दुनियाँ थाहा पाएनौं। २४ तारिख बिहान १० बजे तिर प्रहरीले हतार-हतार हिरासतमा भएका हामी सबैलाई पासपोर्ट दिँदै जान भन्यो।
हामीले आफूलाई ल्याएको होस्टलमै छोडिदिन भन्यौं। प्रहरीले त्यही पुर्याईदियो। हामी त्यहाँ पुग्दा होस्टल खाली थियो। सबै होस्टलबाट निस्केर सिमातिर लागिसकेका रहेछन्।
हामी होस्टलमै बस्यौं। २५ तारिक हाम्रो होस्टल नजिकै रूसले शक्तिशाली बम खलाल्यो, हेर्दाहेर्दै एउटा ठूलो भवन ध्वस्त भयो।
हामीसँग न पैसा थियो, न त भिसा नै। कुनै उपाय थिएन। दलाललाई खबर गरेर सबै यथार्थ बताएँ। धर्धरी रूदै वाट्सएपमा भ्वाईस म्यासेज पठाए। तर दलालले उल्टै हामीलाई थर्कायो। केही उपाय लागेन।
हामीसँग पैसा थिएन। कोही अरूसँग माग्ने उपाय पनि थिएन। सहर सबै बन्द थियो। शहर एक किसिमले सबै सिस्टमबाट पूर्ण बाहिर थियो। अब यहाँबाट निस्कने उपायनै भएन। न खाने पैसा छ न केही सामान। भोकभोकै बसियो।
अबको विकल्प भनेको आर्मी भएर मर्ने कि, आप्रवासी भएर मर्ने भन्ने भयो। अब यसै मर्ने उसै मर्ने बरू मर्नुनै छ भने आर्मी भएर मर्ने विचार आयो।
यदि आर्मी भएर लडाईँमा मरिएछ भने भोलि परिवारले केही पैसा पाउलान् र युद्व सकिएपछि युक्रेनले परिवारलाई केही राहत देला भन्ने सोचेर आर्मी हुने निधो गरियो।
म सँग त्यहाँको अध्यागमन प्रहरी प्रमुखक नम्बर थियो। उसलाई मैले ह्वाट्सएपमा म्यासेज गरेँ। उनले त्यसका लागि लिंक र युक्रेन आर्मीको हटलाईन नम्बर दिए। तर उक्त फोनमा सम्पर्क हुन सकेन। फेरि उनै प्रहरी अधिकारीलाई फोन गरेँ।
होस्टल साहुलाई पनि हामी आर्मी हुन चाहेको भन्यौं। २-३ दिनसम्म जवाफ आएन। अब जसरी पनि निस्कनुपर्छ भन्ने सोच्यौं। रातभरी हामीसँग भएको पिठोको २०० वटा जती सुक्का रोटी र दाल पकाएर कोकाकोलाको बोतलमा हाल्यौं। अनि बाटो लाग्यौं।
बाटोमा त्यो खानेकुरा पनि फाल्नुपर्यो। अब भोकभोकै हिँड्नुपर्यो। आकासमा हेलिकप्टर घुमेका घुम्यै छन्। बमको आवाज पनि आएका आयै छन्।
हामी ५ घन्टाको यात्रामा भोकजाइना ट्रेन स्टेसन पुग्यौं। त्यहाँ २ घन्टाको पर्खेपछि निभिभ जाने ट्रेन चढ्यौं। यो निःशुल्क थियो। १२ घन्टापछि हामी निभिभ पुग्यौं। हामी निभिभबाट युक्रेन र पोल्यान्ड बोर्डर जानु थियो।
हामी जतिसक्दो चाँडो पोल्यान्ड पुग्नु थियो। त्यसैले निभिभबाट ८० किलोमिटर टाढाको पोल्यान्डको सेन्नायी वोर्डरमा जान ट्रेन कुर्यौं। ट्रेन आयो, तर उक्त ट्रेनले बालबालिका र ६० वर्षभन्दा माथिका महिलालाई मात्र लानेरहेछ।
हामी जान पाएनौं। त्यहाँ हामी ६ जना नेपाली थियौं। त्यो रात त्यही बस्यौं। भोको पेट थियो। किन्ने ठाउँ केही छैन। रातको तीन बजे अलि पर बत्ती बलेको देख्यौं।
त्यहाँ पाउरोटी, कफी, फलफूल, कोक बाँडेको रहेछ। कोक र पाउरोटी खायौं। अब १-२ दिनचैं भोकले नमरिने भयौं।
त्यहाँ हामी ६ जनामध्ये केहीसँग अलिअलि पैसा रहेछ। त्यहाँबाट बोर्डर पुर्याउन १ जनाको १ हजार युक्रेनी लिँदोरहेछ। हामीसँग ५ हजार मात्र भयो।
हामीले ५ हजारमा ६ जनालाई लगिदिन अनुरोध गर्यौं। तर मानेन। हामीले यो पैसाले जहाँसम्म पुग्छ त्यही पुर्याउन भन्यौं। करिब ३५ किलोमिटर यतै गाडीले हामीलाई छोडिदियो।
त्यहाँबाट हामी पुनः पैदल अगाडि बढ्यौं। हाम्रा लगेज बिस्तारै-बिस्तारै फाल्दै हिँड्यौं। बाटो बाटोमा मनकारीले दिएको चियाकफी र पाउरोटी खाँदै हामी बाटो लाग्यौं। अतिनै जाडो थियो। कस्टकर यात्रा गरेर १८ घन्टामा हामी अब पोल्याण्डको बोर्डर छिर्न पालो कुरेको स्थानमा पुग्यौं।
त्यहाँबाट युक्रेनी आर्मीले समूह-समूह बनाएर अगाडि लैजादो रहेछ। हामीलाई युक्रेनको वोर्डर पार गरेर पोल्याण्डको वोर्डर छिर्न २ दिन लाग्यो।
युक्रेन पट्टिको वोर्डरमा कालेहरूले नसालु स्प्रे छरेर लुट्ने गर्दारहेछन्। हाम्रा केही नेपाली पनि यसरी लुटिए। त्यसपछि हामी २३ जनाको समूह बनाएर बलियो भयौं।
केही नेपालीहरू डिप्रेसनमा गएका थिए। हामी सबै मिलेर उनीहरूलाई सहयोग गर्यौं। हामी सबै जसोतसो पोल्यान्ड छिर्यौं।
हामीलाई त्यहाँ एनआरएननसहित अन्य कुनै संस्थाले केही सहयोग गर्न सकेनन्। गर्नसक्ने अवस्था पनि थिएन।
हामीलाई पोल्याण्डको सेन्नायी बोर्डरबाट पोलिस प्रहरीको गाडीले क्यामसम्म लग्यो। अब पोल्यान्ड आएपछि ठूलो राहत महसुस भयो। त्यहाँ पैसा मगाउनेले पैसा मगाए। भोलिपल्ट हामी बर्लीन जाने भन्दै ट्रेन स्टेशसन पुर्याइदिन भन्यो। प्रहरीले लगिदियो।
त्यहाँबाट बोर्डर क्रस गरेर ट्रेन चढ्नु पर्नेरहेछ। म र मेरो साथीलाई त्यहाँ जर्मनी प्रहरीले केरकार गर्न लग्यो। हामीलाई ३२ घन्टासम्म उनीहरूले अध्यागमनको हिरासतमा राखे।
त्यसपछि हामीलाई वर्लीनसम्मको ट्रेन चढाईदिए। त्यहाँ स्वयमसेवक रहेछन्। उनीहरूलाई म पोर्चुगल जान चाहेको भनेपछि मलाई र अर्का एक साथीलाई फ्रान्सको पेरीससम्म जाने बस चढाईदिए। निःशुल्क बसमा पेरिस आयौं।
पेरिस आएपछि केही खर्च थिएन। एक जना मनकारी दाजुले एक दिनको होस्टेल भाडा तिरिदिनु भयो।
भोलिपल्ट कतारमा रहेका एक आफन्तसँग २५० युरो मगाएँ। त्यसपछि पेरिसबाट पोर्चुगलसम्म १३५ युरो तिरेर टिकट काटेँ।
पोर्चुगलमा चिनेको आफ्नो कोही थिएन।
पहिले म काठमाडौंमा बसेका घरबेटीको सहयोगमा २ वर्ष पहिले पोर्चुगल आएका एक जना नेपाली दाजुसँग सम्पर्क भयो। उहाँलाई सबै कहानी भनेपछि उहाँ मलाई लिन आउने वचन दिनुभयो।
मार्च १० गते साँझ ७ बजे पोर्चुगलको लिजवनमा झर्ने बित्तिकै अपरिचीत दाजुले पोर्चुगलमा तपाईलाई स्वागत छ भन्दा भावविह्वल भएँ।
नेपालबाट बोकेर आएको सबै सपना चकनाचुर भयो। तर अझैं आश मारेको छैन। जसरी डढेको वनमा वर्षापछि हरियो घाँस पलाउँछ त्यसरी नै आउँदो दिनमा आफ्नो सपना पुरा हुनेछ कि।
देशको स्थिति अनि बेरोजगार युवाको भावनामा खेल्ने दलालहरू अनि फितलो श्रमनीतिको कारण दर्जनौं युवा विश्वका कुना काप्चामा पीडित छन्।
जबसम्म दलाल र विचैलीयालाई कारबाही गरिन्नँ तबसम्ब नेपालमा मानव तस्कर र ठगको रजाई भइरहन्छ।
कुराकानीमा आधारित