अरब मुलुक कतारमा कोरोना भाइरसका संक्रमित बढेसँगै यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न/गराउन सुरू गरेको छ।
पछिल्लो समय कतारमा दैनिक ३-४ हजारको संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परेपछि शनिबारदेखि शनिबार पुनः प्रतिबन्धलगायतका कार्य कतार सरकारले सुरू गरेको छ।
जनस्वास्थ्य मन्त्रालय कतारका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। जसमध्ये २ हजार ७ सय ९४ स्थानीय र बाहिरी मुलुकबाट आएका ६९३ यात्रु छन्। हालसम्म कतारमा सक्रिय संक्रमितको संख्या १८ हजार ७ सय ९१ रहेको छ।
कतारस्थित नेपाली दूतावासलेसमेत कतार सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न कतारमा रहेका नेपालीसहित सबै आप्रवासीलाई अनुरोध गरेको छ।
शनिबारदेखि बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग, एहतराज एप, कम्तीमा १ मिटरको दुरी कायम र निजी सवारीसाधनमा ४ जना भन्दा बढी बस्न नपाउने गरी सरकारले गरेको निर्णय पूर्ण पालना गर्न निर्देशन दिएको छ।
एक मिटरको दुरीमा शुक्रबारको नमाज प्रथना गर्न पाइने १२ वर्ष मुनिका बालबालिकालाई प्रवेश नदिइनेलगायतका प्रतिवन्धहरू छन्।
खुल्ला स्थानमा भएको विवाह हलमा ८० र बन्द हल भित्र ४० जनासम्मले पार्टी गर्न पाइने तर सबैले खोप लगाएको हुनुपर्नेछ।
कतारमा अहिले सुपर मार्केट, मस्जिद, मेट्रो लगायत सार्वजनिक स्थानमा आवतजावत गर्नेलाई एहतराज एप महत्वपूर्ण भएको देखिन्छ। जुन एपले पुर्ण भ्याक्सिन लिएको देखाउनुपर्छ।