साउदी अरबको मक्कामा सयौं हजयात्रीहरूको मृत्यु भएको छ।
हजका लागि विभिन्न देशबाट साउदी अरब पुगेका सयौं हजयात्रीहरूको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो।
द न्युयोर्क टाइम्सका अनुसार शुक्रबारसम्म ४५० जना हजयात्रीहरूको गर्मीका कारण मृत्यु भएको छ। यो त्यहाँ दर्ता भए अनुसार हो।
हजका लागि नेपालसहित विभिन्न मुलुकहरूले आधिकारिक रूपमा आफ्ना देशबाट सहभागी हुनेहरूको सूची पठाउँछ।
तर त्यसबाहेक धार्मिक कर्तव्य पूरा गर्न भनेर त्यसबाहेकका इस्लाम धर्मावलम्बीहरू पनि मक्का जाने र त्यसको रेकर्ड नहुने भएकाले मृतकको संख्या एक हजार नाघ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
समाचार संस्था सिएनएनका अनुसार साउदी अरब र इजिप्टले अहिलेसम्म मृतकको संख्या सार्वजनिक नगरेकाले सो संख्या बढ्ने सम्भावना छ।
मक्का जाँदा अत्यधिक तापक्रमका कारण बाटोमै पनि सयौं हजयात्रीको मृत्यु भएको बताइएको छ।
पुष्टि भएको मध्ये अहिलेसम्म १४ जना मलेसियाका, १६५ जना इन्डोनेशियाका, ७५ जना जोर्डनका, ३५ जना पाकिस्तानका, ४९ जना ट्युनिसियाका, ११ जना इरानका, ९८ जना भारतका हजयात्रीको मृत्यु भएको छ।
जोर्डनका २७ जना अस्पतालमा भर्ना भएका १४ जना अझै बेपत्ता रहेको सिएनएनले उल्लेख गरेको छ।
साउदीमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको छ। तातो हावाका कारण आफ्नो देशका २८ हजयात्रीको मृत्यु भएको इजिप्टले विहीबार नै खुलाएको थियो।
अत्यधिक गर्मीका कारण हृदयाघात, निमोनिया र रगतमा संक्रमण जस्ता समस्याहरू देखिएपछि हजयात्रीहरूको ज्यान गएको मलेसियाका धार्मिक मामिला मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयले आफ्नो देशबाट गएका हजयात्रीहरूको मृत्युको कारण प्राकृतिक बिरामी र उमेर भनेको छ। केहीको दुर्घटनामा परेर पनि मृत्यु भएको बताइएको छ।
यसपालि संसारभरबाट १८ लाख भन्दा बढी मानिसरू हजका लागि साउदी अरब पुगेको बताइएको छ।
हजका लागि गएकामध्ये हजारौं यात्रीहरू अस्पताल भर्ना भएको पनि बताएको छ।
साउदी अरबको स्वास्थ्य मन्त्रालयले आधिकारिक बाटोमा हजयात्रीहरूलाई गर्मीबाट सुरक्षित राख्न सबै उपाय अपनाइएको जनाएको छ। ठाउँठाउँमा कुलिङ स्टेशन राखिएको र हजयात्रीहरूलाई अनिवार्य रूपमा छाता ओड्न र शरीरालई हाइड्रेट राख्न पनि भनिएको मन्त्रालयले जनाएको छ।
आधिकारिक रूपमा आएकाहरूले विशेष सुविधा पाउँछन्। तर अनाधिकृत रूपमा अथवा आफ्नो धार्मिक कर्तव्य पूरा गर्न आएकाहरूले त्यस्ता सेवा सुविधा पाउँदैनन्।
विनासुविधा ५२ डिग्री सेल्सियससम्मको तापक्रममा बाँच्नका लागि निकै कठिन हुने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।