बेलायतको आम निर्वाचनमा लेबर पार्टीले भारी बहुमत प्राप्त गरेको छ।
१४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टीलाई पराजित गर्दै लेबर पार्टी सत्तामा आउने भएको सुनिश्चित भएको हो। यससँगै ६१ वर्षीय किएर स्टार्मर बेलायतका प्रधानमन्त्री बन्ने निश्चित भएको बिबिसीले जनाएको छ।
शुक्रबार उनी प्रधानमन्त्री बनेसँगै मन्त्रिपरिषदलाई पनि पूर्णता दिने तयारी गरिरहेका छन्।
बेलायतमा बहुमतका लागि ३२६ सिट आवश्यक हुन्छ। उनको लेबर पार्टीले ४१२ सिट जितिसकेको छ। सत्तारूढ दल कन्जर्भेटिभ पार्टीले जम्मा ११९ सिट जितेको छ। यद्यपि अझै पनि केही सिटको मत परिणाम आउन बाँकी छ।
बेलायतको ‘हाउस अफ कमन्स’ (संसद) मा ६५० जना सांसदहरू हुन्छन्। त्यस्तै लिबरल डेमोक्र्याट्सले ७१ सिट जितेको छ।
स्टार्मरले लन्डनस्थित रोयल फेस्टिभल हलमा बोल्दै ‘राष्ट्रको नवीकरण’ गर्ने बताएका थिए। आफूले राष्ट्रलाई प्रथम र पार्टीलाई दोस्रो स्थानमा राखेर काम गर्ने बताए।
हालका प्रधानमन्त्री ऋषी सुनकले पनि कन्जर्भेटिभ पार्टी पराजित भएको स्वीकारिसकेका छन्। उनले स्टार्मरलाई फोन गरी बधाई समेत दिएका थिए।
यस चुनावमा पूर्व प्रधानमन्त्री रहेकी लिज ट्रस पराजित भएकी छन्।
साउथ वेष्ट नोरफोल्कको क्षेत्रमा उनी लेबर पार्टीका उम्मेदवारसँग हारेको बिबिसीले जनाएको छ। ट्रस ४९ दिनका लागि प्रधानमन्त्री बनेकी थिइन्, पछि पार्टीले नै उनलाई हटाएर ऋषी सुनकलाई प्रधानमन्त्री बनाएको थियो।