सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरसका कारण विश्वका धेरै देशले लकडाउनको पीडा भोगिरहेका छन्। नेपालमा पनि २०७६ चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ। लगभग देशका सबै गतिविधिहरू बन्द नै छन्। यो विषम परिस्थितिमा पनि कतिपय विद्यालयहरूले अनलाइन कक्षा संचालन गरिरहेका छन्।
अनलाइन कक्षा संचालनको बाँकी उद्देश्य जे भए पनि मुख्य उद्देश्य विद्यार्थीहरूको पठनपाठन नै हो। हाम्रो विद्यालयले पनि वैशाख ७ गतेबाट अनलाइन कक्षा संचालन गरेको छ।
मलाई औपचारिक रूपमा कक्षा संचालनको जानकारी एक दुई दिनअगाडि हुनु पर्ने भए पनि १५ दिन अगाडिदेखि नै जानकार थिएँ। किनकि मेरो बुबा पनि म पढ्ने विद्यालयमा शिक्षक हुनुहुन्छ। बुबा १५ दिनअगाडि देखि नै विद्यालयको प्रशासनिक समूहसँग अनलाइन कक्षा संचालन सम्बन्धी अनलाइन बैठकमा व्यस्त हुनुहुन्थ्यो।
त्यही बेला थाहा पाएँ हाम्रो विद्यालयको प्रधानाध्यापक सबै विद्यार्थी र शिक्षकहरूको समस्या बुझ्ने र विद्यार्थीको शैक्षिक गतिविधिमा कुनै पनि कमजोरी नहोस् भन्ने चाहना राख्नु हुँदो रहेछ। घरमै बसेर विद्यालयको प्रशासनिक गतिविधि देख्दा थाहा भयो शिक्षकहरूले अनलाइन कक्षा सफल बनाउनका लागि गर्नु भएको मेहनत।
वैशाख ७ गतेबाट अनलाइन कक्षा संचालन भयो। विद्यालयले दुई प्रकारले कक्षा संचालन गरेको थियो। एउटा विद्यालयको एप्सबाट पाठ्यक्रम अनुसारको पाठ्यसामाग्री (भिडियो, पिडिएफ आदि) साथै गृहकार्य पठाउने र जुम मिटिङमार्फत कक्षा संचालन गर्ने। एप्समार्फत पठाइएका भिडियो र पिडिफहरू विद्यार्थीका लागि अत्यन्तै उपयोगी र रमाइला हुन्छन्। जुम कक्षामा पनि शिक्षकहरूले धेरै मेहनत गर्नु भएको हुन्छ। एप्समार्फत पठाइएको गृहकार्य पूरा गरी एप्समा नै पठाउनु पर्ने हुन्छ।
यी कक्षाहरू संचालन हुँदै जाँदा मैले हामी विद्यार्थीहरूको गतिविधि पनि नियाल्ने मौका पाएँ। शिक्षकहरूको मेहनतको अगाडि विद्यार्थीहरूको चासो र कर्तव्य नगन्य लाग्यो। शिक्षकले पढाएको बेलामा विद्यार्थीहरू पढाइमा ध्यान नदिने। कक्षा चलिरहेको बेलामा साथीहरूसँग अनावश्यक च्याटिङ् गरेर बस्ने। शिक्षकले प्रश्न सोध्दा कि अफलाइन हुने कि अनावश्यक उत्तर दिने। गृहकार्य नबुझाउने, बुझाए पनि झारो टार्ने तरिकाले बुझाउने।
यतिसम्म कि कक्षा चलिरहेको बेलामा एउटा डिभाइसमा कक्षामा बस्ने अर्को डिभाइसमा खेल खेलेर बसेको सम्म पाइयो। यस्तो गतिविधि देख्दा मलाई लाग्यो हामी निजी विद्यालयमा पढ्ने विद्यार्थीले शिक्षकले गरेको दुःख देखेको पनि रहेनछाैं। त्यो दुःखको सम्मान गर्न पनि जानेको रहेनछ। विद्यार्थीहरूको पढाईप्रतिको हेल्चेक्य्राइँ र नैरास्यता देख्दा शिक्षकहरूलाई अत्यन्तै नरमाइलो लाग्ने रहेछ। सबै विद्यार्थीहरू एकै पनि होइन केही विद्यार्थीले धेरै नै मेहनत पनि गरेका छन्।
करिब डेढ महिनाको अनलाइन कक्षाबाट हामी निजी विद्यालयका विद्यार्थी शिक्षकले गरेको त्यो मिहेनतको लायक नै छैनौं भन्ने अनुभव गरेको छु। निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूको परिवारको आर्थिक अवस्था राम्रै भएको कारणले पनि शिक्षकको दुःख बुझ्न नसकेको र पढाइमा चासो नभएको हुन सक्छ।
शिक्षकले गरेको यो मिहेनत अहिलेको विषम परिस्थितिमा पढाइबाट बन्चित भएका गरिब, बेसहारा र अनाथ बालबालिकालाई प्रदान गर्ने हो भने कति खुसी हुने थिए होला। उनीहरूलाई पनि हामी जस्तै पढ्ने, जीवनमा सफलता प्राप्त गर्ने र विश्वका सबै अवसरहरू पाउने कति रहर होला जुन उनीहरूको कम्जोर आर्थिक अवस्थाका कारण पूरा हुन सकेको छैन। उनीहरू भित्र लुकेको प्रतिभा र इच्छाशक्तिलाई बाहिर ल्याउन आवश्यक छ।
अन्त्यमा, जसका लागि अनलाइन कक्षा संचालन गरिएको छ, उनीहरूले पनि यो हाम्रै भविष्यका लागि हो भनेर यसबाट पूर्णरूपमा फाइदा लिने प्रयत्न गरौं। जसले अनलाइन कक्षाको अवसर प्राप्त गर्न सकेका छैनन् सम्बन्धित निकायले उनीहरूलाई पनि यो अवसर प्रदान गरोस्। बालबालिकाले शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारबाट कसैले पनि बन्चित हुन नपरोस् भनि सम्बन्धित निकायसँग अनुरोध गर्न चाहन्छु।
(आयान सुबेदी दि एक्सेल्सियर स्कुल, स्वयम्भूमा कक्षा ८ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)