सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
म सानो छँदादेखि नै विभिन्न खाले कथा, कविताका पुस्तकहरू पढ्थेँ।
किताब अध्ययन गर्दा मेरो मस्तिष्कमा यो पुस्तक लेख्नेले कसरी यस्तो रचना गरे होलान्, पात्रहरू कसरी चयन गरे होलान्, कथावस्तुमा सन्दर्भ कसरी जोडे होलान्, भन्ने कुराहरू खेल्थे।
मैले विभिन्न किताब त पढ्थेँ तर त्यसको विश्लेषण गर्ने कुराको ज्ञान थिएन। न त मलाई यस्ता कुरा शिक्षकले नै भन्नुभयो न त मेरा अभिभावकले नै।
तर जब म कक्षा चारको अध्ययन सकाएर मेरो पुरानो विद्यालयबाट कक्षा पाँचकाे पढाइका लागि डियरवाक सिफल स्कुलमा भर्ना भएँ, त्यहाँ त मासिक रूपमा अंग्रेजी र नेपालीका कम्तिमा दुइटा पुस्तक पढ्नु पर्ने रहेछ।
ती पुस्तक पढ्ने क्रममा पो मैले थाहा पाएँ कि कुनै पनि पुस्तकको रचना गर्दा यसका केही मूल्यमान्यता हुँदा रहेछन्। कथामा विषयवस्तु हुँदो रहेछ, कथाले पात्र चयनका माध्यमबाट हामीलाई जीवनमा असल र खराब कुराको ज्ञान दिने रहेछन् भन्ने कुरा मैले अहिले बुझ्दै आएको छु।
जब म कक्षा पाँचका लागि प्रवेशिका परीक्षाबाट छनौट भएँ, तब मैले हरेक महिना अतिरिक्त विषयको रूपमा महिनाको कम्तिमा दुइटा पुस्तक अध्ययन गर्नैपर्ने र अध्ययनपश्चात् त्यसकाे सारांश प्रस्तुत गर्नुपर्ने भन्ने थाहा पाएँ।
सुरूमा त म अब यस्तो काम मैले कसरी गर्ने होला भनेर आत्तिएँ पनि। तर जब गुरूले यसबारेमा बताउनुभयो कि पढेको पुस्तकको सारांश प्रस्तुत गर्दा अध्ययन गरेको पुस्तकको सन्दर्भ, परिवेश, अफ्ठ्यारा शब्दावलीहरू, कथामा वर्णन गरिएका स्थान, यसका मुख्य पात्रहरू, असल पात्रहरू, खराब पात्रहरू, पुस्तक मन पर्नाको कारण, पुस्तक मन नपर्नाको कारण, पुस्तकले दिने महत्वपूर्ण सन्देश लगायत विषयवस्तुका बारेमा गहन रुपले अध्ययन गर्नुपर्छ।
तब मैले एउटा पुस्तकमा यी सबै कुरा पो समावेश भएको हुने रहेछ भन्ने बुझ्न थालेँ र एउटा पुस्तक पूर्ण हुन के के कुरा समावेश गर्नु पर्दो रहेछ भन्ने कुरा पनि मैले बुझ्न थालेँ।
यी सबै कुरालाई बुझाउन र विश्लेषण गर्न मेरो विद्यालयले मासिक पुस्तक पठन अभिलेख बनाएकाे छ। हामीलाई (लगबुक) ती कार्य गर्न लगाउँछ, जसका कारण मैले कुनै पनि कथाको विषयबस्तु के हो, परिवेश के हो, असल पात्र, खराव पात्र, मुख्य पात्र, सहायक पात्र कोको हुन् र कथाबस्तुको विश्लेषण गर्ने सिप हासिल गरेको छु।
सुरू सुरूमा यस्ता कुरा मलाई केही थाहा थिएन तर जब मैले हरेक हप्ता पढेको कुरालाई लगबुकमा भर्न थालेँ। त्यसपछिबाट मलाई कुनै पनि पुस्तकको वास्तविकता बुझ्न र त्यसकाे विश्लेषण गर्न सकिने रहेछ र कसैले लेखेको पुस्तकको विवेचना गर्नु पर्याे भने पनि यी विषयवस्तुलाई आधार मानेर नै विश्लेषण गर्न सकिने रहेछ भन्ने कुरा थाहा भएको छ। पुस्तक लेखन र पुस्तकको सारांश प्रस्तुतीकरणमा यो लगबुकले मेरो जीवनमा अचुक औषधिको काम गरेको छ।
अचेल मलाई लाग्छ कि, लगबुकले कुनै पनि पुस्तक अध्ययन गरेपछि त्यसबाट आफूले के बुझियो भन्ने कुरा समेत स्पष्ट पार्दो रहेछ। पुस्तक पढ्दा यसका केके कुरालाई ध्यान दिने भन्ने कुरामा ख्याल नगरी पढ्दा नेपाली उखान जस्तो एक कानले सुन्यो अर्को कानले उडायो जस्तो हुने रहेछ।
तर जब यसरी हरेक पाठको गहन विश्लेषण गरिन्छ त्यो कथा वा विषयबस्तु लामो समयसम्म सम्झना हुने रहेछ त्यसैले यसलाई बुझ्न र सम्झिरहनका लागि लगबुकले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ। आफूले अध्ययन गरेका वा रचना गरेका विभिन्न पुस्तक तथा रचनालाई लगबुक बनाई व्यवस्थित गरी राखेमा कुनैबेला पुनः त्यसको अध्ययन गर्ने बित्तिकै पुस्तक तथा रचनाहरूको स्मरण हुने र सबै पुस्तक अध्ययन गरिरहनु नपर्ने पनि हुँदो रहेछ।
हामीले आफ्नो जीवनकालमा कति किसिमका रचना वा विधाहरू अध्ययन गर्यौं होला, तर ती सबैको स्मरण हामीलाई छैन। तर मैले सिफल स्कुलमा अध्ययन गरेका लगभग ४८ वटा पुस्तक भित्रका झण्डै १३० वटा कथाका बारेमा म अझै सरर भन्न सक्छु। जुन कुरा मैले हरेक हप्ता भरेको लगबुकका कारण सम्भव भएको छ।
अहिले मलाई लाग्छ यो तरिका पहिलेदेखि नै मैले जानेको भए मैले पहिले पढेका कथाका बारेमा वा त्यस्ता रचनाको स्मरण अवश्य हुने थियो। तसर्थ सम्झन सहज हुने, पढेका कुरालाई छोटो रूपमा व्यवस्थित गरी राख्न सकिने र अरूलाई पुस्तकको बारेमा विस्तृत वर्णन गर्न सकिने एउटा महत्वपूर्ण विधि यो लगबुक रहेछ भन्ने मलाई लागेको छ।
सुरुसुरुमा त म यो लगबुकलाई झन्झटिलो पनि मान्थेँ। किनभने म जस्तो एघार, बाह्र वर्षको बालकले अध्ययन गरेका रचनाहरुको विषयवस्तु वा सन्दर्भ विश्लेषण गर्नु, त्यहाँ समावेश भएका पात्रहरुको चयन गर्नु, असल र खराव कार्यहरुलाई केलाउन र अध्ययन गरिएका रचनाको मुख्य सन्देश लगायत यसकाे सारांश प्रस्तुत गर्न कठिन कार्य नै लाग्थ्यो।
तर जब हरेक साता सम्बन्धित गुरु र घरमा आमाबुबाले मलाई यसका लागि सहयोग गर्नुभयो र पुस्तकलाई पटक पटक अध्ययन गर्न लगाउनुभयो त्यसपछि म यसमा रमाउन थालेँ, कथाका कुरा बुझ्न थालेँ। त्यसपछि त मलाई लगबुकमा काम गर्न रमाइलो लाग्न थाल्यो। लगबुक बनाउन बानी पर्दै गएपछि यो सहज र सरल लाग्न थाल्यो।
हुन त कुनै पनि रचनाको विश्लेषण गर्ने काम त्यति सहज पनि होइन त्यहाँ माथि हामी जस्ता बालबालिकाका लागि त आकाशको फल नै हो भन्दा पनि हुन्छ।
तर हामीले पढेका पुस्तक र पुस्तकभित्रका सामग्रीलाई यसरी मासिक पुस्तक अभिलेखका माध्यमबाट अभिलेखीकरण गर्न थाल्यौं भने यसलाई सहज र सरल बनाउने एउटा महत्वपूर्ण साधन लगबुक रहेछ भन्ने लागेको छ। मैले बिगत एक डेढ बर्षदेखि हरेक महिनामा अध्ययन गरेका साहित्यिक रचनालाई मासिक लगबुक बनाएर राखेको छु, जसलाई अहिले पनि पल्टाएर हेर्दा आफूले अध्ययन गरेका रचनाहरूको पूर्ण स्मरण हुने गरेको छ साथै मेराे लेखनकाे अवस्था कस्ताे छ भन्ने कुराकाे पहिचान पनि आफैंले गर्न सकिँदाे रहेछ।
यसरी अध्ययन गरेका कथाका बारेमा लगबुक बनाएर राख्ने हो भने भोलिका दिनमा पुस्तक विश्लेषणको पुस्तकालय नै निर्माण हुन पनि सक्ने रहेछ। तसर्थ म मासिक रुपमा पढाइ हुने पुस्तकको लगबुक प्रयोग गरिरहेको छु जसले मलाई अप्ठ्यारा शब्दावली शब्दकोशमा खोज्न, पुस्तकमा प्रस्तुत भएको कथाबस्तु, पात्र, अवस्था वा परिवेश र कथाको सारांश लेख्न सहज भएको छ।
अर्काे कुरा के पनि रहेछ भने लेखनमा सिलसिला मिलाएर लेख्न, विश्लेषण गर्न, आफ्नाे रायसुझाव राख्न पनि नजानिँदाे तरिकाले सिकाउँदाे रहेछ। याे मैले अनुभव गरेकाे कुरा पनि हाे। काेराेना महामारीकाे याे परिस्थितिमा पनि हामीहरू अनलाइनमार्फत प्रत्येक महिना नयाँ नयाँ किताबहरू पढेकै छाैं र लकबुक पनि भरेकै छाैं।
(सुप्रभ आचार्य डियरवाक सिफल स्कुलमा कक्षा ६मा अध्ययनरत छन्)