काठमाडौंको माइतीघर मण्डलामा हिजोआज उखु किसानको भीड देखिन थालेको छ। त्यो भीडमा देखिएका कतिपय किसान पहिलो पटक काठमाडौं आएका छन्। उनीहरू न घुम्न आएका हुन्, न त रमाइलो गर्न नै।
उधारोमा बेचिएको उखुको वर्षौंदेखि भुक्तानी नभएपछि बाध्य भएर किसानले मण्डलामा विरोध गरेका छन्।
‘उखुको भुक्तानी तुरून्त गर!,’ लेखिएको पर्चा छातीमा टाँसेर किसान मण्डलामा भेला भएका छन्।
उनीहरूको माग धेरै छैन। मात्रै उधारोमा बेचिएको उखुको भुक्तानी होस् र अब बेच्ने उखुको मूल्य सन्तुलित होस् भन्ने छ। यही माग लिएर ती किसान १० दिनदेखि काठमाडौंमा छन्।
सर्लाहीका किसानले अन्नपुर्ण सुगर मिल्समा उखु बेच्ने गरेका छन्। सो उद्योगका मालिक हुन्– राकेश अग्रवाल। उनीहरू काठमाडौं आउनेबित्तिकै पहिले मिल मालिक राकेश अग्रवालको घरमा गए। घरमा कसैलाई भेट नभएपछि कार्यालय पुगेको किसान सङ्घर्ष समितिका सचिव हरिश्याम राय यादव बताउँछन्।
‘कार्यालयमा पनि मालिकसँग भेट भएन, त्यहाँका कर्मचारीलाई फोन गर्न लगायौं। उनले मिल्दैन भनेपछि हामी यहाँ माइतिघरमा भेला भयौं,’ उनले भने।
किसानको खाने बस्ने ठेगान छैन। छरिएर आफन्तीकोमा बस्छन्। बिहान ११ बजे भने माइतीघरमा भेला हुनु जागिरमा खटिएको कर्मचारीको ‘डुयुटी’ जस्तै भएको छ।
‘केही दिन साथीभाइकोमा बसें, अहिले कवाडमा बसेको छु। आजदेखि भने यहीँ बस्नु पर्ला,’ ६० वर्षे सीताराम महताेले मण्डलातिर देखाउँदै भने, ‘गाडी चढेर आउने पैसा छैन, दैनिक हिँड्दा खुट्टा दुखिसक्यो।’
उनी भाइसँग सतुङ्गलमा कवाडमा बस्छन्। उनी पहिलो पटक काठमाडौं आएका हुन्। उनको घर सर्लाही, सिसौडी हो। उनले अरुको जग्गा भाडामा लिएर १५ कठ्ठा जमिनमा उखु लगाएका छन्। त्यही पेशाबाट ८ जनाको परिवार पाल्छन्।
मिल मालिकले दुई आर्थिक वर्ष २०७४/०७५ र ०७५/७६ मा उखु बेचेको पैसा नदिएपछि काठमाडौं आएको उनी बताउँछन्। उनले दुई वर्षको गरेर ५० हजार बढी लिन बाँकी छ।
थोरै पैसा भए पनि समयमा नपाउँदा साहुको ऋण र नातिनातिनाको ट्युशनको फी तिर्न नसकेको उनी बताउँछन्। काठमाडौं आउँदा गाउँका धनीसँग ५ हजार ऋण काढेर आएको बताउने उनी पैसा नपाउन्जेल यही बस्ने भन्छन्।
‘न आफूले पढ्न पाइयो, न छोराछोरीलाई पढाउन सकियो। नातिनातिलाई पढाउन मन छ,’ उनले भने। उद्योगीसँग पैसा लिइसकेपछि साहुको ऋण र नातिनातिनाको ट्युशनको फी तिर्ने उनको धोको छ।
भीडमा भेटिए रामविलास महतो। उनी उमेरले ६० वर्ष भए। उनको घर पनि सर्लाही, सिसौडीया नै हो। उनले ०७३, ७४, र ७५ गरी तीन वर्षको ३ लाख पैसा चिनी उद्योगसँग लिन बाँकी छ।
उनले आफ्नो १५ कठ्ठा र साहुको १५ कठ्ठा गरेर ३० कठ्ठामा उखु लगाएका छन्। त्यही पेशाबाट ११ जनाको परिवार पाल्छन्। उद्योगीले पैसा नदिएसम्म घर नजाने उनी बताउँछन्।
सर्लाहीका कुनै पनि उखु किसानलाई अग्रवालले पुरा पैसा दिएका छैनन्। केही किसानलाई दुई वर्षदेखि दिन बाँकी छ त कसैलाई ७० सालदेखि नै दिन बाँकी छ।
किसानले पटक पटक मन्त्रालयमा आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन्।
किसानले एकातिर उखु बेचेको पैसा पाएका छैनन् अर्कातिर सरकारले कायम गरेको मूल्यसमेत पाएका छैनन्।
‘सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रूपैयाँ २८ पैसा तोकेको छ। मिल मालिकले ५ सयका दरले रसिद दिएका छन्,’ उखु किसान बेचन यादवले भने।
उखु किसानलाई अप्ठेरोमा पारी उद्योगीहरुले कम मूल्यमा उखु बेच्न बाध्य पारेको उनको गुनासो छ। सिजन सकिन लाग्दा पनि उद्योगीले उखु खरिद नगर्ने धम्की दिने, मूल्य घटाएर मात्रै किन्ने, त्यो पनि उधारोमा लिने गरेको पीडित किसान बताउँछन्।
२०७० देखि ०७६ सम्मको उखुको सम्पूर्ण भुक्तानी हुनु पर्ने, उखु मूल्य प्रतिक्विन्टल ५ सय ३६ रूपैयाँ २८ पैसा हुन पर्ने, उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म ढालटा (सुख्खा काटी) को नाममा काटिएको रकम भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ।
झन्डै साढे दुई अर्ब बक्यौता लिन बाँकी
उखु किसान मिल मालिकबाट मात्र नभएर सरकारबाट पनि ठगिएका छन्। सरकार र उद्योगीको गरी करिब साढे २ अर्ब बक्यौता बाँकी रहेको नेपाल उखु किसान महासंघका अध्यक्ष कपिलमूनि मैनालीले बताए।
सरकारले आव २०७४/०७५ बाट उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। सोही अनुसार दुई आव २०७४/०७५ र ०७५/७६ को गरेर १ अर्ब ३४ करोड भुक्तानी लिन बाँकी रहेको अध्यक्ष मैनालीले बताए।
उद्योगीले १ अर्ब २ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको छ। उनकाअनुसार श्रीराम सुगरमिल्स, रौतहटको ४२ करोड, अन्नपूर्ण चिनी उद्योग, सर्लाहीको ५० करोड र महालक्ष्मी सुगरमिल्सको १० करोड किसानलाई बक्यौता रहेको छ।
सबै तस्बिर : नारायण महर्जन