सोमबार राति काठमाडौंको तापक्रम १.५ डिग्री सेल्सियस थियो। सिरकभित्र गुटुमुटु भएका वा ब्लांकेटले ज्यान छोपेर सुतेका हामीलाई त रातिको त्यो तापक्रमको के मतलब!
सलार्हीका महेन्द्र र रौदी महतोको बूढो ज्यानलाई भने काठमाडौंको यो जाडोले गलाएको छ। उनीहरू अरूजसरी रातमा निदाउन सक्दैनन्। टिनको टहरामुनि टाउको छोपे खुट्टा नपुग्ने, दाँया छोपे बाँया नपुग्ने ओढ्ने ओढेर चिसो रात कटाउनु परेको छ।
चिसोले उनीहरूलाई रूघाखोकी लागेको छ, ज्वरो पनि आएको छ।
मंगलबार बिहान १० बजे हामी पुरानो नैकापस्थित उनीहरूको बसेरामा पुग्दा टिनको छाप्रो अगाडि घाममा टहलिँदै थिए।
उनीहरूका साथी सीताराम महतो भने सबेरै खाना आएर मेडिकल गएछन्।
‘सीतारामलाई राति ज्वरो आयो, मेडिकलबाट औषधी किनेर सिधै माइतीघर जान्छु उतै भेट्ने भनेको छ,’ रौदीले सेतोपाटीसगँ भने।
उमेरले ६० कटेका उनीहरूको एक सातादेखि टिनको छाप्रोमा बास छ। गाउँकै नाति पर्नेले काम गर्ने स्टिल कारखानाको छेउपट्टि बनेको टिनको टहरामा उनीहरू बस्छन्।
‘दुई जना केटाहरू बस्थे अहिले हामी ३ जना थपियौं, दुइटा खाट जोडेर सुत्छौं,’ उनले खाट देखाउँदै भने, ‘५ हजार ऋण लिएर आएको पैसा सकियो अनि यहाँ आएर बस्यौं।’
दुई जोर कपडामात्रै बोकेर काठमाडौं आएका उनीहरू राति धेरै जाडो हुने बताउँछन्।
‘२ जनाको ओछ्यानमा ५ जना सुत्दा कहिले कताबाट हावा छिर्छ, कहिले कताबाट चिसो पस्छ,’ उनले भने।
गफ गर्दागर्दै रौदीको फोनमा घन्टी बज्यो।
‘हामी हिँड्न लाग्यौं,’ उनले मैथिलीमा भने।
बिरामी हुँदा आराम गर्नुहुन्न? भन्ने प्रश्नमा उनले भने ‘३६ प्रतिशतमा ब्याजमा महाजनसँग पैसा लिएर जग्गा साहुलाई बुझायौं। अहिले महाजनले पैसा दे, पैसा दे भन्छ, अग्रवालजीले दिनुभएको छैन म कहाँबाट दिउँ।’
उनको ७ जनाको परिवार त्यही ठेक्कामा लिएको ३ बिगाह जग्गाको उखुमा आश्रित छ।
बिहान नैकापबाट हिँडेका सीताराम अपरान्ह १२ बजे माइतीघरमा प्रदर्शन गरिरहेको अवस्थामा भेटिए।
मेडिकलमा १० रुपैयाँको ब्रुफिन(पेन किलर) किनेर माइतीघर मण्डल पुगेका रहेछन्।
‘टाउको त दुखिरहेको छ, हड्ताल बसेन भने साहुले पैसा दिँदैन होला त्यही भएर आएको,’ सीतारामले भने, ‘मेरो ६० हजार लिन बाँकी छ, यो पैसा हाम्रो लागि धेरै ठूलो हो। पैसा नलिई गाउँ फर्किन्नँ।’
सीताराम सँगै प्रदर्शनमा उभिएका सर्लाही सिसौटीयाका रामविलास महतोलाई पनि हिजोदेखि बाथले दु:ख दिइरहेको छ।
खुट्टा कर्रकर्र खाएर हिँड्न पनि गाह्रो भइरहेको बताए। उनी गाउँका केटाहरू काम गर्ने बल्खुमा रहेको कवाडखानामा बसिरहेका छन्।
‘जवान केटाहरू त जसोतसो बसिरहेका छन्। काठमाडौंको चिसो र ३६ प्रतिशत ब्याजले निद्रा हरायो,’ उनले सेतोपाटीसगँ भने ‘उपचार त परै जाओस घर फर्कने पैसा समेत छैन।’
उखुको ३ लाख नपाएसम्म गाउँ नफर्कनेमा उनी दृढ छन्।
महेन्द्र, रौदी, सीताराम र रामविलासमात्र होइन। आफ्नो पैसा लिन काठमाडौं आएका अधिकांश वृद्ध किसान बिरामी भइरहेका छन्।
कोहीकोही आफन्तको कोठामा बस्छन्, टहरामा बस्नेको हालत दयनीय छ।
पैसा लिन काठमाडौं आएका उखु किसानमध्ये २० जनाजति बिरामी भएर घर फर्किएको किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताए।
‘बूढो मान्छेहरू धेरै बिरामी भइसक्यो। अरू केही दिन यसरी बित्यो भने हामी पनि बिरामी हुन्छौं,’ उनले सेतोपाटीसगँ भने।
हाल काठमाडौं आएका किसानमध्ये धरै किसानले अन्नपूर्ण सुगर इन्डस्ट्री पीडित छन्। अन्नपूर्णले मात्र किसानलाई ५० करोड रुपैयाँ तिर्न बाँकी छ। त्यस्तै सबै चिनी उद्योग गरेर किसानको बक्यौता रकम १ अर्ब, ४१ करोड ८१ लाख छ।
निजी क्षेत्रमात्र होइन सरकारले दिने अनुदानसमेत किसानले लामो समयदेखि पाउन सकेका छैनन्। सरकारले दिने अनुदानबापतको १ अर्ब ३४ करोड पनि किसानले पाएका छैनन्। सरकार र उद्योगीको गरी किसानले २ अर्ब ७५ करोड ८१ लाख पाउन बाँकी छ।
सम्बन्धित समाचारहरू :
‘छोरो साइन्स पढ्दैछ, उखुको पैसा आएन भने पढाइ छुटाउनुपर्छ’
सबै तस्बिर/भिडिओ : नारायण महर्जन