सरकारले उखु किसानलाई पैसा तिर्न बाँकी रहेका चिनी मिल सञ्चालकलाई माघ पहिलो सातासम्म सबै पैसा तिर्न निर्देशन दिएको छ।
आन्दोलन गर्न काठमाडौं आएका उखु किसानसँग बुधबार मन्त्रालयमा भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघको पहिलो सातासम्म सबै पैसा तिर्न मिल सञ्चालकलाई निर्देशन दिइएको बताएका हुन्।
मिल सञ्चालकलाई पुस २५ गतेभित्र ८० प्रतिशत रकम तिर्न भनिएको पनि उनले जानकारी दिए।
‘महालक्ष्मी सुगर मिल्सले त पुस २५ मै सबै पैसा तिर्छु भनेको छ,’ वार्तामा मन्त्री भट्टले भने।
उनले सरकारको निर्देशन नमान्नेलाई कारबाही गर्ने प्रतिवद्धता पनि किसानसँग व्यक्त गरेका छन्।
एक जना मिल सञ्चालकको मृत्यु भइसकेकाले उनको सम्पत्ति रोक्का गरेर भए पनि किसानलाई पैसा दिलाउने कार्यविधि बनाउन लागिएको भट्टको भनाइ छ।
उखु किसानले पनि मन्त्रीको आश्वासनको भर पर्न सकिने अवस्था नरहेको बताएका छन्।
वार्तामा सहभागी उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरूले छलफल गरेर आन्दोलन जारी राख्ने कि घर फर्किने भन्ने निर्णय गर्ने बताए।
‘सरकारले यस्ता प्रतिवद्धता त यसअघि पनि दिएको हो। आश्वासनमै भर पर्न सकिन्नँ हामीहरू छलफल गरेर के गर्ने निर्णय गर्छौं,’ रायले भने।