बुटवल-११ नहरपुरका ५६ वर्षीय आत्मराम सापकोटा अचेल दिनभरि तरकारी खेती र गाईवस्तुको स्याहारमै व्यस्त हुन्छन्।
उनले मौसमीसँगै बेमौसमी तरकारी फलाउन थालेको दुई वर्ष भयो। तरकारी खेतीसँगै आत्मरामले गाई पनि पालेका छन्।
बिहान झिसमिसेमै उठ्ने आत्मरामको गाईको भकारो सोहोरेर दिनको सुरूवात हुन्छ।
भकारो सरसफाई सकेर, गाईलाई घाँसपात हालेर गाई दुहुँदा सात बजिसक्छ। दूध साइकलमा राखेर उनी गाउँघर डुल्छन्।
दिउँसो गाईको गोठ र खेतबारीमा लगाएको तरकारी स्याहारमै उनको दिन बित्छ।
आत्मरामलाई उनकी श्रीमती ५१ वर्षीया सरस्वतीले सघाउँछन्। गाईको स्याहारसुसार र तरकारीको गोडमेल दबै जना मिलेर गर्छन्।
तरकारी र दूध बेच्न आत्मराम ठेला र साइकल लिएर वरिपरिको गाउँ डुल्छन्। सरस्वती भान्सातिर लाग्छिन्।
बुधबार पनि यो दम्पती घरको दलानमा थुपारिएका टमाटर प्लाष्टिकमा राख्दै जोख्दै थियो। लकडाउनका कारण बजारमा सबै पसल बन्द थिए। तरकारीका हाटबजार पनि बन्द हुँदा उनीहरूले फलाएको टमाटर दलानमा फिजारिएको थियो। अहिले पनि उनीहरूको खेतबाट दैनिक दुई क्विन्टल बढी टमाटर उत्पादन हुन्छ।
धेरै परिश्रम र लगानी गरेर उत्पादन गरेको टमाटर खेर जान दिनुभएन।
आत्मरामले आजकल ठेलामा राखेर गाउँघर डुलाउने गर्छन्। बजार र पसल सबै बन्द भएको बेला भर्खरै टिपेको ताजा टमाटर घरअगाडि आइपुगेपछि एकैछिनमा बिक्री भइसक्छ।
आत्मरामले दूध पनि साइकलमै घरघरमै लगेर बिक्री गर्छन्। लक डाउन अवधीभर आत्मरामले यसैगरी टमाटर बिक्री गर्ने छन्। बोट सुक्दै जान थालेको भए पनि झन्डै ५० क्विन्टल टमाटर निकाल्न सकिने आत्मरामको विश्वास छ।
गुल्मीको तुराङमा स्थायी घर भएका आत्मरामको परिवार खुसी थियो।
दुई छोरा एक छोरी हुर्किसकेका थिए। पहाडको भिर र पाखो भए पनि आफू जन्मिएको र हुर्किएको माटो उनीहरूलाई स्वर्गजस्तै लाग्थ्यो। गाउँमा पनि उनीहरू खेतीकिसानी नै गर्थे। भैंसी पाल्ने, खेतबारीमा अन्न उब्जाउने उनीहरूको दिनचर्या थियो।
दिनभरि सबै आ-आफ्नै काममा व्यस्त भए पनि साँझ पाँचैजना जम्मा भएपछि खुसीसाथ मिठोमसिनो खान्थे। जिन्दगी आफ्ने धुनमा चलिरहेको थियो।
जेठो छोरा २३ वर्ष लागेका थिए। घरमा उनको विवाह गर्ने कुरा चल्दै थियो। कान्छो छोरा रोजगारीको लागि विदेश गएका थिए। छोरी पढ्दै थिइन्।
आत्मरामको सुन्दर र खुसी परिवारमा विपत्ति आइलाग्यो।
जेठो छोराको भिरबाट लडेर मृत्यु भयो।
आत्मराम र सरस्वतीले पहिलो सन्तान गुमाए, भाइबहिनीले दाजु गुमाए।
जेठो सन्तानको वियोगमा सरस्वती थलिँदै जान थालिन्।
पहिले स्वर्गजस्तै लाग्ने गाउँठाउँमा उनीहरू निसासिन थाले। छोराको प्राण लिएको भिर र पाखापखेरा उराठ लाग्न थाले।
सरस्वती झनै गलिन्।
आत्मरामले उपचारको लागि बुटवल ल्याए। छोराको वियोगमा थलिएकी श्रीमतीको उपचारको लागि बुटवल झरेका आत्मरामलाई आफ्नो ठाउँ फर्किन मन लागेन। छोराले अन्तिम सास फेरेको भिर र पाखापखेरामा जाने हिम्मत आएन।
बुटवलमै केही गरेर जीवन धान्दै पुत्र वियोगको पीडा भुल्ने निधो गरे।
दश वर्ष पहिलेको कहालीलाग्दो घटना सुनाउँदा आत्मराम अझै पनि भक्कानिन्छन्।
कुरा गर्दै जाँदा ओशिला बनेका उनका आँखाबाट थाहा हुन्थ्यो-आत्मरामको आत्मामा धेरै पीडा लुकेको छ।
‘फुर्सद भयो भने बाबुको सम्झना आउँछ, जसरी भए पनि पीडा भुल्न पाए हुन्छ, त्यही भएर दिउँसो घाममा पनि आराम नगरी काममा व्यस्त भइरहन्छौं,’ उनले भने।
छोराको मृत्युपछि जसोतसो दुई वर्ष गाउँमै बिताएका उनीहरू बुटवल झरेको आठ वर्ष हुँदै छ।
एकसरो कपडामा उपचारका लागि आएको यो जोडीलाई बुटवलको बसाइ सहज थिएन। तर पहाड फर्किएर छोरा गुमाएको त्यही भिरपाखामा पौंठेजोरी खेल्नुभन्दा यतै दु:ख गर्नु उचित सम्झिए। आत्मरामले चियाखाजा पसल चलाउन थाले।
सहरको भीडभाड र ग्राहकलाई चियाखाजा खुवाउन व्यस्त भइरहँदा सरस्वतीलाई पनि निको हुँदै थियो। चियाखाजा पसल चलाउन बिहानदेखि रातिसम्म नै व्यस्त भइरहने। सटरको भाडा कोठाभाडा रासन पानी सबैको तिरनतारन गर्दा महिनाभरि होटल चलाउँदा पनि बचत हुन सकेन।
आत्मरामले चिया पसल छोडेर अरू कुनै काम गर्ने योजना बनाए। उनी गाउँतिरबाट साइकलमा ल्याएको दूध राख्ने गर्थे। साँझ-बिहान केही घन्टा दूध बिक्री गर्यो भने दिउँसो धेरै दु:ख गर्नु पर्दैन भन्ने सोचेर आत्मरामले गाउँबाट दूध ल्याएर बुटवलमा बेच्न थाले।
दूध बिक्रीसँगै उनीहरूको बसाइँ पनि नहरपुर सरिसकेको थियो।
बुटवलदेखि नजिकै रहेका मोतिपुर, सेमलार, फर्साटिकर दूध उत्पादनका पकेट क्षेत्र मानिन्छन्। तरकारी पनि राम्रो उत्पादन हुन्छ।
राम्रो उत्पादन हुने वरिपरिको जमिनमा खासै खेती लगाइएको थिएन। बर्खामा धान रोपे पनि हिउँदमा बाँझो राखिन्थ्यो। माटो र पानीसँगै खेलेर जीवनका ५ दशक बिताएका आत्मरामले भाडामा भए पनि जग्गा लिएर गाई पाल्ने र तरकारी खेती गर्ने योजना बनाए।
जति दु:ख र परिश्रम गरेर यतै बस्ने अठोट भए पनि घरबाट खाली हात आएका उनीसँग धेरै लगानी गर्ने पैसा थिएन। एकजनाको डेढ बिगाह जग्गा वार्षिक २५ हजार रुपैयाँ भाडामा लिए। चियाखाजा बिक्री गरेर बचेको केही हजार पैसा थियो। ऋणधन गरेर एकदुई वटा गाई किनेर पाल्न थाले। सिञ्चाइँको लागि नजिकै बाह्रै महिना पानी बग्ने कुलो थियो। गाई पालनसँगै तरकारी लगाउन थाले।
बुटवलभित्रै रहेकोले जति उत्पादन भए पनि बजारको समस्या थिएन। टमाटर, घिरौला, लौका, फर्सी, कांक्रा, तितेकरेला, काउली, बन्दा, सिमी उनले हरेक थरी तरकारी लगाउँछन्।
अहिले सिमी, काउली र बन्दा सकिएको छ। टमाटर फल्न छोडे पनि बोटमा फलिसकेको झण्डै ५० क्विन्टल पाक्दै छ। कांक्रा, फर्सी, घिरौला, लौका, तितेकरेलाजस्ता लहरे तरकारी भर्खरै लगाएका छन्।
‘अहिले बिरूवा हुर्किदै छन् जेठदेखि फल्न थाल्छन्,’ उनले भने।
उनको गोठमा अहिले नौ वटा गाई छन्। चारवटा मात्रै दुहुना छन्। चैतको सुख्खायाममा पनि उनले दैनिक २५ देखि ३० लिटरसम्म दूध बिक्री गर्छन्।
थोरै लगानीबाट सुरू गरेको गाई पालन र तरकारी खेतीलाई उनले त्यसैको आम्दानीबाटै बढाउँदै लगेका छन्।
यो दम्पत्ति दैनिक १४ घन्टा गाईगोठ र तरकारी खेतीको स्याहारमै खटिने गर्छ। मेहनत र परिश्रम अनुसार आम्दानी पनि राम्रै हुन्छ।
वार्षिक ५ लाखसम्म आम्दानी हुने भए पनि कतै बचत नगरेको आत्मरामले बताए।
‘जति आम्दानी हुन्छ, यसैमा थप्दै गएको छु, यही आम्दानीबाट गोठ बनाएँ, आफैं हाते ट्याक्टर किनेको छु, तरकारीको लागि टनेल बनाएँ,’ उनले भने।
बुटवलभित्रै जग्गा भाडामा लिएर भए पनि यति राम्रो तरकारी र गाईपालन गर्दै आएको यो जोडीले सरकारबाट अनुदान भने पाउन सकेको छैन। बुटवल उपमहानगरपालिकाले टमाटरको लागि यो वर्ष टनेल बनाइदिए पनि अरू सहयोग भने पाएका छैनन्।
तुराङमा रहेको उनको घरमा कान्छो छोरा बुहारी छन्। छोरीको तिलोत्तमा शंकरनगरमा विवाह भएको छ।
आत्मरामलाई पहाडको घरमा फर्किने मन छैन।
‘पहाड सम्झियो कि बाबुको याद आउँछ, त्यो ठाउँ सम्झिन पनि मन लाग्दैन,’ उनले भने, ‘हातखुट्टा चल्ने बेलासम्म फर्किन्न। त्यसपछि जे होला।’