१५ वर्षको उमेरदेखि तरकारी खेती गर्दै आएका कपिलवस्तु नगरपालिका केवरपुरका गोविन्द लाल बरईले अहिलेजस्तो समस्या कहिल्यै भोगेका थिएनन्।
बरईले तरकारी खेती गर्न लागेको २३ वर्ष भयो। आफ्नो एक बिघा खेतमा मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएका बरईको सबै उत्पादन तौलिहवा बजारमै विक्री हुन्थ्यो।
टमाटर, बन्दा, घिरौंला, लौका, सिमी, बोडी लगायत तरकारी खेतीबाटै उनले राम्रो आम्दानी गर्दै आएका थिए।
तर यस वर्ष भने कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि उनको खेतमा उत्पादित टमाटर र बन्दा खेतमै कुहिने अवस्थामा पुगेको छ।
बरईसँगै केबलपुरका करिब दुई सय किसानले दुई कट्ठादेखि दुई बिघासम्मको जग्गामा तरकारी खेती गर्दै आएका छन्। गाउँमा उत्पादित तरकारी तौलिहवा, जितपुर, सालझण्डीसँगै बुटवलसम्म ल्याउने गरिएकोमा लकडाउनका कारण तरकारी विक्री हुन सकेको छैन।
लकडाउन कहिलेसम्म जारी रहन्छ भन्ने एकीन नभएपछि उनीहरुले वर्षे तरकारी खेती घटाएका छन्। बरईले पनि एक बिघामा लगाएको तरकारी १२ कट्ठामा घटाइएको बताए।
टमाटर उत्पादनका बेला लकडाउन गरिएपछि एउटै गाउँमा तीन सय क्वीन्टल भन्दा धेरै टमाटर नष्ट हुने अवस्थामा पुगेको बरईले बताए।
कपिलवस्तु नगरपालिकासँगै वाणगंगा, शिवपुर, बुद्धभुमी लगायतका स्थानीय तहहरुका केबलपुर, हथौसा, उप्टहवा, राजपुर, मूर्मि, भलवाड, चेत्रादेही, धनकौली, बुड्डी लगायतका गाउँ व्यवसायिक तरकारी खेतीको पकेट क्षेत्रको रुपमा विकास हुँदै गएका छन्।
तर व्यवसायिक तरकारी खेती गर्ने क्रम बढिरहेका बेला कोरोनाका कारण उत्पन्न परिस्थितिपछि किसानमा निराशा उत्पन्न भएको छ।
खेतमा उत्पादित तरकारीले बजार नपाएपछि किसानहरुले पहल गरिदिन मिडियादेखि राजनीतिक नेतृत्वलाई आग्रह गर्दै आएका छन्।
यसै साता ५ का प्रदेशसभा सदस्य विष्णु पन्थीको पहलमा अष्ट्रिच नेपाल प्रालिले एकसय क्वीन्टल टमाटर, १० हजार केजी बन्दा, मुला, कजरिब, क्याप्सिकन लगायत तरकारी विक्री बिक्री गरे पनि ३/४ सय क्वीन्टल टमाटर र बन्दा अझै खेतमै छ।
लकडाउनपछि २० क्विन्टल टमाटर विक्री भएपनि अझै ३५ क्वीन्टल भन्दा बढी टमाटर पाकेर तयारी अवस्थामा रहेको बताए। केबलपुरकै उमेश चौहानले पनि खेतमा उत्पादित तरकारीको बजार नपाउँदा खेतमै सड्ने अवस्था पुगेको बताए।
सांसद पन्थीले एकदुई दिनमै पुनः तरकारी विक्रीको लागि पहल गरिदिने आश्वासन दिएपनि सबै किसानको उत्पादन भने विक्री हुने अवस्थामा नभएको चौहानले बताए।
लकडाउनका कारण होटल, रेष्टुरेन्ट बन्द हुनुका साथै विभिन्न पेशा व्यवसायको कारण सहरमा आई बसेकाहरु गाउँ फर्किएपछि तरकारीको खपत हुन सकेको छैन।
जिल्लाको भलवाडका किसानले पनि उत्पादित तरकारी विक्री गरिदिने वातावरण बनाइदिन आग्रह गरेका छन्। स्थानीय जनसेवा कृषक समुहका सदस्य रोमाखर अधिकारीले उत्पादित टमाटरलाई सस उद्योगमा पठाउन सकिए पनि नष्ट हुनबाट जोगिने बताए।
भलवाडका किसानको खेतमा यतिबेला करेला, लौका, बोडी, टमाटर, भेण्डी, खुर्सानी, धनियाँ, फर्सी, मुला, काँक्रा, गाजर, बोडी, बन्दा, साग लगायत तरकारी उत्पादन भएको छ।
छिमेकी जिल्ला अर्घाखांचाीमा समेत कपिलवस्तुका विभिन्न स्थानबाट तरकारी लैजाने गरिएकोमा लकडाउनपछि भने बाहिरी जिल्लाबाट तरकारी लैजान बन्द गरिएपछि किसान समस्यामा परेका छन्।