विष्णुहरि पन्तले केरा उत्पादन सुरू गरेको एक दशकभन्दा बढी भयो। सुरूआतबाटै ‘मालभोग’ जातको केरा उत्पादन गर्दै आएका पन्त अब भने केराको जात परिवर्तन गर्ने बाध्यतामा पुगेका छन्।
चितवनका विभिन्न ठाउँका ४५ विघा जमिनमा मालभोग केराको खेती गर्दै आएका पन्तले यसपालि ७ विघामा लगाइएको केरा हटाए। कारण थियो 'पानामा' रोग।
पानामा ढुसीका कारण लाग्ने रोग हो।
यसले आक्रमण गरेपछि केराको पात पहेँलिने, लत्रिने, कुहिने, केरा फुट्ने, गुबो कालो हुने समस्या हुन्छ। चितवनका अधिकांश मालभोग केराका बगानमा यो रोग देखिएपछि किसानहरू विकल्प खोज्न थालेका छन्।
१० वर्षअघि देखिएको यो रोग अहिले निकै बढेको छ।
'पुरानो बगानमा रोगको असर बढी देखिएपछि यस पटकबाट खेती नै हटाइयो,' पन्तले भने, 'अब विस्तारै मालभोगको विकल्प खोज्नुपर्ने भयो।'
पानामा रोगले मालभोगकै नयाँ खेतीमा भने झट्टै आक्रमण गरेको छैन।
त्यसैले केही किसानहरूले पुरानो जमिनको खेती हटाएर नयाँ जमिनमा यही जातको केरा लगाएका छन्। खैरहनीको चैनपुर र रत्ननगरको सुब्वा चोकको पुरानो खेती हटाएका पन्तले अहिले रत्ननगरकै झुवानीमा १० विघा नयाँ जमिनमा खेती सुरू गरे। तर खोज्ने वित्तिकै जमिन प्राप्त गर्न वन पनि सहज छैन।
विगतमा एकपटक लगाएको केराले १० देखि १५ वर्षसम्म पनि उत्पादन दिने गरेकोमा अहिले रोगका कारण मुश्किलले तीन वर्ष उत्पादन हुन्छ। तै पनि बजारको मागका कारण किसानहरूले खेती छाडिहाल्न सकेका छैनन्।
पहेँलो रङको मालभोग केरा स्वादिष्ट हुने भएकाले बजारमा यसको माग बढी छ। मूल्य पनि हरियो रंगको केराको भन्दा दोब्बर बढी छ। नेपाली बजारमा वैशाखदेखि साउनसम्म मालभोग केराको खपत बढी हुन्छ।
केरा उत्पादक किसान यज्ञप्रसाद सुवेदीले पानामा रोगले केरा बगान सखाप पार्न थालेको बताए। उनको २५ विघा जमिनमा रहेको मालभोग केराको बगान रोगले नष्ट पार्दैछ।
'तै पनि बजारले यही केरा खोज्छ। त्यसैले पुरानो बगान छाडेर नयाँ जमिन खोज्दै खेती गर्ने क्रम बढेको छ,' उनले भने, 'यही अवस्था रहने हो भने मालभोग केरा अब लामो समय रहँदैन होला।'
चितवनस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वयन इकाई केरा जोन प्रमुख ईन्द्र ढुंगानाका अनुसार मालभोग केराको खेती नयाँ जमिनमा गर्दा पनि दोस्रो वर्षबाटै रोगको असर पर्ने गरेको छ। नयाँ जमिनमा पहिलो वर्ष राम्रो उत्पादन दिए पनि दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ७० प्रतिशत कम उत्पादन हुने गरेको छ। चौथो वर्ष त नष्ट नै गर्नुपर्ने अवस्था आउँछ।
नेपालमा कसरी भित्रियो पानामा?
किसानहरू भारतबाट पानामा रोग नेपाल प्रवेश गरेको बताउँछन्। भारतीय केरा ल्याउनेक्रममा पातसहित ल्याउने गर्दा रोग पनि भित्रिएको केरा उत्पादक सुवेदी बताउँछन्।
'केराको आयातका क्रममा रोग नभित्रियोस् भनेर सतर्क हुनुपर्ने थियो। त्यसो हुन नसक्दा अहिले बगान नै नष्ट गर्नुपर्ने अवस्था आएको छ,' सुवेदी भन्छन्, 'उपभोक्ताले रूचाएको जात नै संकटमा पर्ने भयो।'
प्रशोधित केरा नेपाल भित्र्याउने व्यवस्था नगर्दा जोखिम बढेको उनले बताए।
किसानले यस विषयमा सरकारी निकायको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान नभएको सुवेदीको भनाइ छ।
भारतबाट आउने चिनी चम्पा प्रजातिको केराबाट नेपालमा पानामा भित्रिएको आशंका गरिएको छ।
नेपालका मालभोगमा जस्तै भारतका चिनी चम्पा केरामा पाना रोगको संक्रमण बढी छ।
साठीको दशकमा इन्डोनेसियामा देखिएको पानामा रोगको ‘ट्रपिकल रेस फोर ढुसी’ ताइवान, चीन हुँदै दक्षिणपूर्वी एसियाली देशमा फैलिएको थियो। ती देशमा लाखौं हेक्टरमा लगाइएको केरा खेती यही रोगका कारण नष्ट भएको समाचार अन्तराष्ट्रिय एजेन्सीले जनाएका छन्।
सन् २०१३ पछि दक्षिणपूर्वी एसियाबाट यो ढुसी अफ्रिका महादेश र मध्यपूर्व तथा दक्षिण एसियामा समेत आइपुगेको छ।
अहिलेसम्म पानामा रोगको उपचार नभेटिएको केरा जोनका प्रमुख ढुंगानाले बताए।
'यसको नियन्त्रणका लागि अहिलेसम्म कुनै रसायन र विषादी पत्ता लागेको छैन। त्यसैले विकल्प खोज्न थालिएको हो,' उनले भने, 'अब पनि मालभोगमै अड्कियो भने केरा व्यवसाय नै धरासयी बन्छ।'
नेपालमा पानामा रोगको लक्षण देखिएको नमूना जाँचका लागि करिब दुई वर्षअघि चीन पठाइएको थियो। तर अझै यसको उपचार पत्ता लागेको छैन।
पानामा रोगको उपचार पत्ता नलागेपछि मालभोग केरा उत्पादनको भविष्य निश्चित छैन। त्यसैले आफूहरूले अन्य जातका केरा लगाउन किसानलाई सुझाव दिइरहेको ढुंगाना बताउँछन्।
'मालभोग जातको केरामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पानामा रोगको आक्रमण यसमा छिटो भएको हो,' ढुंगाना भन्छन्, 'त्यसैले हामीले किसानहरूलाई रोग प्रतिरोधी क्षमता बढी भएको जात सिफारिस गरिरहेका छौं।'
परियोजनाले मालभोग जातको केराको विकल्पमा जिनाइन र विलियम हाइब्रिड जात सिफारिस गरेको छ।
मालभोगको विकल्प जिनाइन केरा
मालभोग केराको भविष्य नदेखेपछि अहिले किसानहरूले जिनाइन केरा लगाउन थालेका छन्। जिनाइन केरा चितवनमा लगाउन लागिएको तीन वर्षजति भयो। अहिलेसम्म यो जातमा पानामा रोगको लक्षण देखिएको छैन। कतिपय किसानले मालभोग केरा हटाएर त्यही खेतमा जिनाइन केरा लगाएका छन्।
'त्यसरी लगाइएको ठाउँमा पनि पानामा रोग देखिएको छैन,' प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले भने, 'यो जातमा रोग प्रतिरोधी क्षमता बढी हुने देखिएका कारण हामीले किसानहरूका लागि यही जात सिफारिस गरिरहेका छौं।'
जिनाइन केरालाई प्रवर्द्धन गर्न उक्त परियोजनाले चितवनका किसानहरूलाई ६० प्रतिशत अनुदानमा बिरूवा वितरण गरेको छ। यस वर्षमात्रै जिनाइन जातका एक लाख वटा 'टिस्यू कल्चर' बिरूवाहरू वितरण गरिएको तिमिल्सिनाले बताए।
केराको एउटा बिरूवाको मूल्य ३५ रुपैयाँ पर्छ। किसानहरूले अहिले १२ रूपैयाँ पचास पैसामा बिरूवा पाएका छन्। यसबाहेक सकर र गानोबाट बिरूवा निकालेर करिब एक लाख वटा जिनाइन केराका बिरूवा यस वर्ष रोपिएको छ।
'उत्पादकत्व बढाउँदै नेपाललाई केरामा आत्मनिर्भर बनाउन अब जात परिवर्तनको विकल्प छैन,' उनले भने, 'यसका लागि हामीले किसानलाई प्रोत्साहन गर्ने काम गर्छौं।'
तिमिल्सिनाका अनुसार मालभोग केराको उत्पादकत्व अन्यत्र १५ देखि १८ मेट्रिक टन प्रतिहेक्टर छ। चितवनमा भने २४ मेट्रिक टन प्रतिहेक्टर छ।
जिनाइन केरा यही व्यवस्थापनमा लगाउँदा उत्पादकत्व ४५ मेट्रिक टन प्रतिहेक्टर हुने उनको दाबी छ।
भारतमा अहिले यो केराको उत्पादकत्व प्रतिहेक्टर ५६ मेट्रिक टन रहेको उनले बताए।
'हामीले सिँचाइ र मलमा ध्यान दिन सक्यौं भने जिनाइन केराको उत्पादकत्व भारतको सरह पुर्याउन सक्छौं,' तिमिल्सिनाले भने।
मालभोग केरा घरीमा ८० कोसासम्म फल्ने गरेको छ भने जिनाइन २ सय कोसासम्म फल्छ। उत्पादन धेरै हुने भए पनि जिनाइनको खेती मालभोगको जस्तो सहज भने छैन।
मालभोग केराका लागि जस्तोसुकै जमिन पनि उपयुक्त हुने, पानीको आवश्यकता कम पर्ने भएका कारण किसानहरूलाई सहज हुन्थ्यो। तर जिनाइन केराको राम्रो उत्पादन लिन सिँचाइ र मलमा विशेष ध्यान दिनुपर्छ। बोटले धान्नै नसक्नेगरी उत्पादन हुने भएकाले टेको दिने झन्झट पनि आइपर्छ।
उनका अनुसार विलियम हाइब्रिड जातको केरामा पनि रोग प्रतिरोधी क्षमता धेरै छ। कतिपय किसानले मालभोगको विकल्पकारूपमा यसको खेती सुरू गरेको उनले बताए।
नेपालको उत्पादन ४० प्रतिशतमात्रै
चितवन देशमै सबभन्दा बढी केरा उत्पादन हुने जिल्ला हो। यहाँका ७ सय जना किसानले २ हजार २ सय हेक्टर भन्दा बढी जमिनमा केरा खेती गर्दै आएका छन्।
देशभरको उत्पादनको करिब ४० प्रतिशत केरा यहाँ उत्पादन हुन्छ। तर नेपालमा अझै पनि कुल मागको ६० प्रतिशत केरा भारतबाट आउँछ। अहिलेसम्म नेपाली केराले बजारको माग वर्षमा ४ महिनामात्र धान्ने गरेको छ।
नेपाली बजारमा भारतीय हरियो केरा बढी आउने गरेको छ। नेपालमा उत्पादित केराभन्दा सस्तो मूल्यमा पाइने भएपछि व्यापारीहरूले विक्रीका लागि भारतीय केरा रोज्ने गरेको केरा उत्पादक पन्त बताउँछन्।
'भारतीय केराको आयात घटाउन स्वदेशी उत्पादन बढाउनुपर्ने हुन्छ। त्यसैले अब उत्पादन बढी हुने जातमा किसानहरूलाई आकर्षित बनाउनै पर्छ,' तिमिल्सिनाले भने, 'सरकारले भारतबाट आउने केरालाई सीमामा रोक्नतर्फ भन्दा पनि कम लागतमा बढी उत्पादन गर्नमा ध्यान दिन थालेको छ।'
सरकारले जिनाइन केरालाई प्रोत्साहन गर्नु सकारात्मक भए पनि अब किसानले सहुलियतमा ऋण पाउने वातावरण बनाइनुपर्ने चितवन केरा उत्पादक संघको माग छ।
संघका पूर्व अध्यक्षसमेत रहेका पन्त सरकारले पाँच वर्षका लागि मात्रै सहुलियतमा ऋण उपलब्ध गराउने कार्यविधि बनाएको भन्दै अवधि बढाउनुपर्ने बताउँछन्।
'सहुलियतमा पाइने ऋणले किसानलाई हौसला बढाउँछ। कृषिमा युवाहरूको आकर्षण पनि बढ्छ,' उनले भने, 'भारतीय केरालाई प्रतिस्थापन गर्नका लागि पनि यो आवश्यक छ।'
केरा खेतीमा बीमाको पनि व्यवस्था भएका कारण किसानहरूको आकर्षण बढ्दो क्रममा छ।
लगानीको दोब्बर प्रतिफल प्राप्त हुने भएका कारण पछिल्ला वर्ष चितवनमा धेरै युवाहरू केरा खेतीमा लागेका छन्। तर प्राविधिकहरूको कमी हुँदा रोग लागिहाले समाधानको उपाय नरहेको भन्दै किसानहरू यसतर्फ सरकारी निकायको ध्यान जाओस् भन्ने चाहन्छन्।