गुण्डु, सूर्यविनायक–७ जाँदा रूपा बस्नेत मखमली फूल टिप्दै थिइन्। सबेरै बारीमा छिरेकी रूपालाई फूल टिपिसक्न बिहानभर लाग्छ।
'दिउँसो चर्को घाममा फूल ओइलाउँछ। त्यही भएर बिहानैदेखि टिपेको,' उनले हातको फूल बाल्टिनमा खन्याउँदै भनिन्, 'बस्दै गर्नुहोस्, आइहालेँ।'
उनको पर्खाइमा हामी बारीको डिलमै बस्यौं।
अरू समयमा पनि व्यस्तै रहने रूपालाई नजिकिँदो तिहारले झनै भ्याइनभ्याइ गराइदिएको थियो।
उनको अहिने न बिहानको खानाको ठेगान छ न दिउँसो खाजाको। एउटै मात्र कुरा मनमा खेल्छ–माला कहिले उनेर सक्ने!
उनलाई तिहारका लागि दस हजार मखमली मालाको माग आएको छ। त्यही माला तयार गर्न उनी लागि परेकी छिन्। केही माला त बनाएर बजार समेत पठाइसकिन्।
'धेरै माला त उनेर सकियो। अब बाँकी रहेका फूल पनि उनेर छिट्टै बजार पठाउनु पर्छ,' रूपाले भनिन्, 'अहिले पठाएन भने पछि बेच्न गाह्रो हुन्छ।'
उनलाई माला उन्न दिदीहरूले सघाउँछन्। पहिले त उनले सिजनका बेला गाउँका दिदीबहिनीलाई बोलाउँथिन्। अहिले गाउँमा मान्छे नपाएपछि उनले आफ्नै दिदीलाई बोलाइन्।
'गाउँमा काम गर्ने मान्छे छैनन्। भ्याउँदैनौं भने। त्यही भएर एक-दुई दिन सघाउन दिदीलाई बोलाएकी छु,' २७ वर्षीया रूपाले भनिन्।
रूपा बस्नेत परिवारकी कान्छी सदस्य हुन्। उनका चार जना दिदीहरू छन्। आमा गृहिणी र बुवा जागिरे हुन्। परिवारको आयको मुख्य स्रोत बुवाको जागिर नै हो।
मखमली फूलको काम सकिएपछि तुरून्तै सयपत्रीको माला तयार गर्नुछ। उनका अनुसार सयपत्री केही माला बिक्री हुन्छ भने केही गुच्छा नै बिक्छ।
रूपाले फूलको व्यवसायिक खेती गर्न थालेको चार वर्ष मात्र भयो। ०६७ सालमा एसओएस हर्मन माइनर स्कुलबाट एसएलसी दिएपछि उनी ग्लेसियर इन्टरनेसनल कलेजमा विज्ञान पढ्न भर्ना भइन्। दुई वर्ष पढेपछि उनको अध्ययनको विषय फेरियो।
हिमालय कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजीमा उनी कृषि विधामा स्नातक पढ्न थालिन्। परिवारका कुनै सदस्य न कृषि पेसामा लागेका न आम्दानीको स्रोत कृषि। रूपालाई कृषि पढ्न कसरी रूचि लाग्यो?
कृषिमा राम्रो भविष्य देखेर यही विषय रोजेको रूपा बताउँछिन्।
'विज्ञानमा प्लस-टु पास भएपछि प्रायः साथीहरू इञ्जिनियर, डक्टर पढ्न थाले। म भने कृषि पढ्न थालेँ,' उनले भनिन्, 'हाम्रोमा राम्रा कृषि विज्ञ छैनन्। भएका पनि पलायन हुन थालिसके। कृषिले नै बाहिरी मुलुक विकसित भएका हुन्। त्यही देखेर म पनि कृषिमा लागेँ।'
कलेज पढ्दै गर्दा उनले सर्वश्रेष्ठ सिड प्रालिमा इन्टर्नसिप गर्ने मौका पाइन्। करिब तीन महिना इन्टर्न गरेपछि उनलाई त्यहीँ जागिर पनि मिल्यो।
रूपाले त्यहाँ तरकारीका बीउबिजन निकाल्ने प्रक्रियाबारे जानिन्। तर उनको रूचि फूलमा थियो।
फूलको वरिपरि खेलेर बालापन बिताएकी उनलाई फूलमै काम गर्ने रहर जाग्यो। गुण्डुलाई फूलको पकेट क्षेत्र मानिन्छ। अहिले पनि अधिकांश फूल त्यहीँबाटै आउँछ।
जागिर पनि भएकाले एक्लै काम गर्ने आँट भने उनलाई आएन। घरमै भएकी दिदी रञ्जनालाई मिलेर फूल खेती गरौं भनिन्। जागिर नगरेर घरमै बसिरहेकी दिदीलाई बहिनीको योजना राम्रै लाग्यो। विषयमा जानकार रहेकी बहिनीले काम गर्नेभन्दा विश्वास पनि गरिन्।
आमाबुवाको मन भने अलि खल्लो भयो। पढाइ सकेर विदेश जाओस् या सरकारी जागिर खाओस् भन्ने आमाबुवाको सोच थियो।
'फूल खेती नगर, जागिर ठीक छ भनेर मलाई सम्झाउनुभयो तर मैले मानिनँ,' रूपाले भनिन्।
आमाबुवाले आखिरमा सन्तानको रूचिलाई समर्थन गरे। व्यवसाय गर्न पैसा पनि दिए।
रूपाका अनुसार बुवा र भिनाजुले तीन लाख सहयोग गरे। सात लाख रूपैयाँ उनले बैंकबाट कृषि कर्जा अन्तर्गत सस्तो ब्याजदरमा निकालिन्।
पैसा जुटेपछि घर नजिकै साढे तीन रोपनी जग्गा भाडामा लिइन्। एक रोपनी आफ्नै जग्गा थियो। लगानी र स्रोत भएपछि काम गर्न के असहज भयो र!
२०७३ साल चैतदेखि नै जग्गा सम्याउने, टनेल बनाउने काम सुरू भयो। आवश्यक फूलका बिरूवा बजारबाट किनेर ल्याइन्।
फूलको विषयमा आफैं पढेकी रूपालाई कुन जातको बिरूवा राम्रो, कहाँको राम्रो सबै जानकारी थियो। केही रोग-कीरा लागे आफैं समाधान गर्थिन्। आफूले नजानेका कुरा आफ्नै शिक्षकहरूसँग सोध्थिन्।
०७४ वैशाखबाट उनले साढे चार रोपनी जग्गामा सयपत्री र मखमली लगाएर व्यवसायिक फूल खेती सुरू गरिन्। आफ्नै काममा भ्याइनभ्याइ भएपछि रूपाले जागिरमा समय दिन सकिनन्। एक वर्षपछि जागिर छाडेर पूरै समय आफ्नै व्यवसायमा दिन थालिन्।
तीन–चार महिनापछि जब बारीमा फूलले ढकमक्क हुन थाल्यो, तब रूपालाई बजारको चिन्ताले गाँज्यो। चिनेको कोही छैन कहाँ लगेर बेच्ने?
उनी बजार खोज्दै त्रिपिरेश्वर आइन्। त्यहाँ फूल बेच्ने व्यापारीहरूलाई आफ्नो फूल किन्न आग्रह गरिन्। व्यापारीलाई पनि फूल चाहिरहने, गुणस्तर हेरेर मूल्य तोक्ने सहमति भयो।
रूपाले व्यापारीलाई बारीमै आएर हेर्न आग्रह गरिन्। फूलको गुणस्तर राम्रो थियो। व्यापारीले उनलाई राम्रै मूल्य दिए।
'त्यतिखेर पनि मखमली माला प्रतिगोटा बीस र सयपत्री गुच्छाको दस रूपैयाँमा बिक्री भएको थियो,' उनले सम्झिइन्। अहिले त बजार खोज्न कहीँ जानै पर्दैन। व्यापारी घरमै आएर माग गर्छन्।
फूल बजारमा जान थालेपछि उनले बुवा र भिनाजुको पैसा फिर्ता गरिन्। बैंकको ऋणको किस्ता पनि तिर्दै गइन्। अहिले चार लाख ऋण बाँकी छ।
जागिरमा मासिक बीस हजार कमाउने रूपालाई फूल व्यवसायले दुई गुणा बढी आम्दानी दियो। यसपछि उनले यसैलाई निरन्तरता दिइन्।
रूपा र उनकी दिदी रञ्जनाले अहिले सात रोपनी जग्गामा फूल लगाएका छन्। दुई रोपनीमा मखमली र पाँच रोपनीमा सयपत्री फूल्छन्। एक रोपनी उनीहरूको आफ्नै भइहाल्यो, ६ रोपनी भाडामा छ। जग्गा भाडा वार्षिक प्रतिरोपनी १५ हजार रूपैयाँ बुझाउनु पर्छ।
बहिनी रूपाको सहकार्यमा अहिले रञ्जना पनि आफैं कमाउन थालेकी छिन्। रञ्जनाले भनिन्, 'पहिला जागिर थिएन, दिन बिताउनै गाह्रो थियो। अहिले दिन बितेको पत्तो पाइन्न।'
अहिले दिदीबहिनीको मेहनतले उनको घरमा तरकारी पनि किन्न पर्दैन। उनीहरू आफैं उत्पादन गर्छन्।
'मखमली एक सिजनमा मात्रै हुन्छ। त्यसपछि हामी तरकारी लगाउँछौं। प्रायः तरकारी किन्न पर्दैन,' रूपाले भनिन्।
रूपाले आफ्नो कमाइ केही घरमा सहयोग गर्छिन् केही सेयरमा लगानी गरेकी छन्। आगामी दिनमा फूल व्यवसायलाई अझै विस्तार गर्ने उनको योजना छ। तर कहिलेकाहीँ फूलले मूल्य नपाउँदा उनी निराश पनि हुन्छिन्।
भनिन्, 'सरकारले अनधिकृत रूपमा फूल ल्याउन कडाइ गरिदिए हाम्रो उत्पादनले मूल्य पाउँथ्यो।'
मूल्यको स्थिरता नभएकाले कहिले त लागत पनि नउठ्ने उनी बताउँछिन्।
'कहिले एक मुठाको दस रूपैयाँ पाइन्छ। कहिले तीन मुठाको दस रूपैयाँ पनि दिँदैनन्,' उनले भनिन्, 'साँवा नै नउठ्ने गरी बेच्नुभन्दा त बारीमा कुहिन दिन्छु। मल त हुन्छ।'
विभिन्न समस्याका बावजुद रूपा विचलित छैनन्। बाहिरी मुलुकसँग प्रतिस्पर्धा गर्ने गरी उत्पादन गर्ने उनको योजना छ।
'विदेशी प्रविधि ल्याएर उत्पादन बढाउने सोच छ, त्यसपछि त हाम्रो फूल सस्तो हुन्छ, बाहिरको महँगो,' उनले भनिन्, 'तर त्यसमा सरकारको पनि सहयोग चाहिन्छ।'
रूपा अहिले नयाँ-नयाँ फूलको परीक्षण गर्दैछिन्। त्यसमध्ये राम्रो उत्पादन हुने फूल लगाउने योजना छ।
अचेल त रूपा आफ्नो बारी मात्र हेर्दिनन्। गाउँमा कसैले लगाएको फूलमा केही रोग आयो भने समाधान गरिदिन्छिन्। स्थानीय तहमा कृषि विज्ञको अभाव देखेकी रूपालाई बाहिर जानेभन्दा पनि आफ्नै गाउँमा फूल विज्ञ भएर बस्ने रहर छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी