मिस्टर वाफल्स — टिकटक, इन्स्टाग्राम चलाउनेहरू, खासगरी जेन–जी पुस्ताका लागि यो नाम नयाँ होइन। खानेकुरामा रूचि हुनेहरूले त अझ राम्ररी चिन्छन्। अनि नयाँ व्यापार–व्यवसाय गर्ने र गर्न चाहनेले पनि पछ्याउँछन्।
काठमाडौं, वसन्तपुरको एउटा गल्लीको सानो सटरमा सुरू भएको 'मिस्टर वाफल्स' धेरै युवाका लागि रोलमोडल पनि बनेको छ। किनभने यसले बेल्जियमको परिकार 'वाफल' को स्वाद मात्र होइन, उद्यमशीलताको अनुभव पनि बाँडिरहेको छ।
तीन जना साथीले खोलेको मिस्टर वाफल्स कम समयमै निकै चर्चा कमाएको रेस्टुरेन्ट हो। सानो ठाउँमा भए पनि यहाँ वाफल खानेको घुइँचो हुन्छ। पालो पर्खेर, लाइन लागेर भए पनि मानिसहरू वाफल खान आउँछन्। अनि यहाँको अनुभव सहितको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छन्।
तपाईंहरूमध्ये कतिले वाफल खानुभएको होला, कतिलाई नामै नौलो लाग्ला। वाफल कस्तो परिकार हो भन्नेबारे थाहा पाउनुअघि अहिले वसन्तपुरको हट–स्पट बनेको मिस्टर वाफल्स कसरी सुरू भयो भन्नेबारे चर्चा गरौं।
खासमा मिस्टर वाफल्स सञ्चालनमा नआउँदै चर्चामा थियो। यसको मुख्य कारण हो — २५ वर्षभन्दा कम उमेरका तीन युवाहरू सफल शाक्य, सिद्धार्थ तन्डुकार र उज्ज्वल शाक्यको आइडिया र मेहनत।
यी तीन युवा व्यावसायिक साझेदार मात्र होइनन्, साथी पनि हुन्।
सफल र उज्ज्वलको भेट कक्षा १० को अन्तिम परीक्षा दिएपछि जिम सेन्टरमा भएको थियो।
'दाइहरूसँग जिम गएका बेला हाम्रो भेट भएको थियो र हामी साथी बन्यौं। केही समयपछि दाइहरूले छाड्नुभयो हामीले भने गरिरह्यौं,' सफलले उज्ज्वलसँगको पहिलो भेटबारे सुनाए।
सिद्धार्थ पनि सफलकै माध्यमबाटै उज्ज्वलसँग जोडिएका हुन्।
सफल र सिद्धार्थ काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा सँगै बिबिए पढ्थे। अन्तिम वर्ष पढ्दै गर्दा यी दुई जनाले 'जोटो स्टुडियो' नामक अनलाइन व्यवसाय सुरू गरे। यसले फोटो र पोस्टरहरू बनाउने काम गर्छ।
'हामीलाई एनिमे (कार्टून फिल्म, विशेष गरेर जापानी) मा रूचि थियो। तर बजारमा गुणस्तरीय र नयाँ नयाँ एनिमे फोटो/पोस्टर पाइँदैन थियो। त्यसैले हामीले आफै बनाउने सोच्यौं,' सिद्धार्थले भने।
उनीहरू दुई जनाले ६ हजार रूपैयाँ जुटाएर यो काम सुरू गरे।
काममा अनुभव नभएकाले सुरूमा निकै मुस्किल भयो। उनीहरूसँग आफ्नो प्रिन्टर थिएन, अन्तै लगेर छाप्थे। ६ महिनासम्म उनीहरूले नाफा कमाउन सकेनन्। तर निरन्तरको मेहनत र प्रयासले उनीहरूको व्यापार उकालो लाग्दै गयो। अहिले जोटो स्टुडियोमा सिद्धार्थ र सफलबाहेक थप चार जना काम गर्छन्।
उनीहरूले पहिल्यैदेखि यो व्यवसाय स्थिर भएपछि अलि बढी लगानीमा नयाँ काम गर्ने सोचेका थिए।

एक दिन सफलले उज्ज्वल र सिद्धार्थको भेट गराए। उनीहरू तीन जनाबीच व्यावसायिक आइडियाबारे कुरा भइरहन्थ्यो। बिस्तारै भेट बाक्लिँदै जाँदा नयाँ काम गर्ने योजना पनि बलियो हुँदै गयो।
आफ्नो पुस्ताका अधिकांश युवा बिदेसिएका बेला नेपालमै बसेर के गर्दा ठीक होला — उनीहरूले निधो गर्न सकेका थिएनन्।
उनीहरूको रूचि पनि भिन्न भिन्न थियो। सफललाई सानैदेखि जागिरभन्दा आफ्नै काम गर्नुपर्छ भन्ने लाग्थ्यो। थोरबहुत पर्यटनमा रूचि राख्थे।
सिद्धार्थलाई डिजाइनिङ र फोटोसप मन पर्थ्यो। स्कुल छँदा कार्यक्रमहरूमा ब्यानरहरू समेत बनाउँथे।
उज्ज्वलको रूचि भने खाना बनाउनु र नयाँ परिकारको स्वाद चाख्नु हो। कोरोना लकडाउनमा उनले धेरै नयाँ परिकार बनाएर साथीहरूलाई खुवाए। उनले फूड एन्ड बेभरेजमा डिप्लोमा पनि गरेका छन्। केही समय नेपाली लुगाको ब्रान्ड जूजू वेयर्समा काम गरेको अनुभव पनि थियो।
यसरी अलग पृष्ठभूमि र रूचि भएका तीन जनालाई नै सहज हुने काम के होला भन्ने सोच्दै जाँदा दिमागमा खानेकुरा आयो।
तर के खानेकुरा?
यही अलमलबीच एक दिन उनीहरूले रिल्स बनाए। 'नेपाली केरा' नाममा टिकटक र इन्स्टाग्राम अकाउन्ट खोले र लेखे, 'के साँच्चै नेपालमा बसेर काम छैन? कि हाम्रा युवा अल्छी भएका हुन्?'
यसपछि उनीहरूले निरन्तर यस्तै भिडिओ बनाएर हाले। उनीहरूका भिडिओमा मानिसहरूको चासो बढ्दै गयो। उनीहरूलाई सल्लाह, सुझाव र प्रेरणा दिनेहरू बढ्दै गए।
यतिञ्जेलसम्म उनीहरूले केको व्यवसाय गर्ने भन्ने निधो गर्न सकेका थिएनन्।
'हामीले त तीस दिनसम्म पनि एउटा व्यवसाय चलाउन सकेनौं भने नेपाली केरा अकाउन्ट डिलिट नै गर्ने सोचेका थियौं,' सिद्धार्थले सुनाए, 'त्यो बेला हाम्रो लागि आफ्नो उमेरको रोलमोडल कोही थिएन। कसैलाई हेरेर हामी पनि नेपालमै केही गर्छौं भन्ने पनि कोही भएन। त्यसैले हामी विदेशी व्यवसायीका पोडकास्ट सुन्न थाल्यौं। गीतभन्दा बढी पोडकास्ट सुनेर धेरै सिक्यौं।'
के काम गर्ने भनेर टुंगो नभए पनि कहाँ गर्ने भन्ने पक्का भयो। मानिसहरूको धेरै आउजाउ हुने काठमाडौंको मुटु वसन्तपुर उपयुक्त लाग्यो। त्यहीँ एउटा सानो सटर भाडामा लिए।
'सोच्दै जाँदा हामीलाई वसन्तपुरमा बेग्लै र अलि ट्रेन्डी डिजर्ट (मिठाइ) परिकार कम भएको महसुस भयो। खोजबिन गर्दै गयौं र वाफल बेच्ने टुंगो गर्यौं,' उज्ज्वलले भने, 'वाफल वसन्तपुरको बजारमा नयाँ स्वाद हुन्छ भन्ने लाग्यो।'
वाफल बेल्जियमको परिकार हो। यो ब्रेकफास्टदेखि खाजाका रूपमा खान सकिन्छ। प्रायः गुलियो स्वादमा हुने भएकाले डिजर्ट (मिठाइ) का रूपमा पनि खाइन्छ।
वाफल बनाउन सुरूमा पिठो (आँटा/मैदा) मा अन्डा, दूध, बटर, बेकिङ पाउडर र स्वाद (फ्लेभर) अनुसार सामग्री हालिन्छ। त्यसमा उपयुक्त मात्रामा पानी हालेर बाक्लो झोल (ब्याटर) बनाइन्छ। वाफल विशेष प्रकारको मेसिनमा पकाइन्छ। विभिन्न डिजाइन र आकारका (लाम्चो, गोलो, वर्गाकार, आयातकार) वाफल बनाउन अलग अलग मेसिन हुन्छ।
दुईतिर फलामका पाता भएको मेसिन बिजुलीले चल्छ। मेसिनमा ब्याट्री हालेपछि त्यसमा भएको बुट्टा अनुसारको डिजाइन बन्छ। वाफल पाकेपछि बाहिर हल्का क्रन्ची (झुरूमझुरूम) र भित्र नरम (पाउरोटी जस्तै) हुन्छ।
यसरी विभिन्न डिजाइनमा पाकेको वाफलमा आफूले चाहेको स्वाद अनुसार माथिबाट विभिन्न कुरा हालिन्छ; चकलेट, पिस्ताचियो (पिस्ता), क्रिम, चीज, बेरीज, विभिन्न फलफूल लगायत। यसरी माथिबाट हालिएका सामग्री अनुसार वाफललाई फरक नाम दिइन्छ।
सफल, सिद्धार्थ र उज्ज्वलले नयाँ पुस्तामाझ लोकप्रिय बन्दै गएको यही परिकार आफ्नो व्यवसायका निम्ति रोजे। उनीहरूले आफूसँग भएको बचत रकम र जोटो स्टुडियोबाट भएको आम्दानी लगानी गरेर वाफल बनाउने मेसिन लगायत सामान किने।
उता धमाधम सटरको काम हुँदै थियो, यता उनीहरू कसैलाई वाफल बनाउन आउँदैन थियो। उनीहरूले जोटो स्टुडियोको कार्यालयमै मेसिन राखेर दिनरात वाफल बनाउन सिके।
'हामीले युट्युब हेरेरै वाफल बनाउन सिक्यौं। रातरातभरि बसेर थरीथरी स्वाद बनायौं। खाना पकाउन रूचि भएका साथीहरू पनि हामीलाई सहयोग गर्न आउँथे,' उज्ज्वलले भने, 'हामी आफैले चाख्दै बनायौं। अरू साथीहरूलाई पनि चाख्न दियौं।'
तस्बिरः नेपाल फूडयी सबै कामको भिडिओ हरेक दिनजसो उनीहरू आफ्नो टिकटक र इन्स्टाग्राममा राख्थे। उनीहरूका रमाइला भिडिओमा हजारौंले प्रतिक्रिया दिन थालिसकेका थिए।
छोटो समयमै, व्यवसाय सुरू नहुँदै उनीहरूले चर्चा बटुलिसकेका थिए। उनीहरूले के गर्लान्, के बेच्लान्, पसल कस्तो होला, कसरी चलाउलान् भन्ने धेरैलाई चासो थियो। अरू स्टार्ट–अप व्यवसायीहरूले पनि उनीहरूलाई याद गर्न थालिसकेका थिए।
उनीहरू आफै युवा भएकाले यो पुस्ताको रोजाइ बुझ्न मुस्किल थिएन। त्यसमाथि पहिले पनि व्यवसाय चलाइसकेकाले के गर्ने, के नगर्ने भन्नेबारे थोरबहुत ज्ञान थियो।
'अचेल ब्रान्डको लोगो र डेकोरेसन (सजावट) मा बढी ध्यान दिने चलन छ। हामीले भने खानेकुराको स्वाद र गुणस्तरमा बढी ध्यान दियौं,' सफलले भने।
यसरी आफै चाख्दै, चखाउँदै उनीहरूले धेरै स्वादमा वाफल बनाए। अहिले पनि नयाँ नयाँ स्वाद बनाउन हरेक दिन प्रयासरत छन्।
हाल मिस्टर वाफल्समा पाइने वाफल हुन्— ओरियो बाइट्स, स्ट्रबेरी किस, रोयल पिस्ताचियो, मिल्की बार, किटक्याट मन्च, ओरिगन ब्लुबेरी, डार्क फेन्टासी, हाइ अन चकलेट, कोको पान्डा, म्यांगो म्याडनेस, ओरियो एन्ड जुलिएट, टाइनी पिस्ताचियो, ब्लुबेरी बेबी, डार्क नाइट, चोको मोको, मिनी मिनियन्स।
वाफलको मूल्य ९९ रूपैयाँदेखि ३४९ रूपैयाँसम्म पर्छ। वाफलमा माथिबाट थप केही कुरा हाल्न पनि सकिन्छ जसलाई टपिङ्स भनिन्छ। टपिङ्समा ओरियो बिस्कुट, किटक्याट, रेनबो (मसिना रंगीबिरंगी मिठाइ), चोकोचिप्स पाइन्छ। यसको बेग्लै पैसा तिर्नुपर्छ जुन ३० देखि ४० रूपैयाँ पर्छ।
मिस्टर वाफल्समा सबभन्दा चलेको रोयल पिस्ताचियो वाफल हो। यो 'कुनाफा चकलेट' को स्वादमा हुन्छ। कुनाफा चकलेट दुबईमा बनेको हो जुन केही समययता संसारकै युवामाझ निकै लोकप्रिय र सामाजिक सञ्जालहरूमा भाइरल छ।
मिस्टर वाफल्सको टिमलाई पनि टिकटक र इन्स्टाग्राममा धेरैले यो स्वादमा वाफल बनाउन भनेका थिए। उनीहरूले आफ्नै रेसिपीमा कुनाफा चकलेट हालेर वाफल बनाए। पिस्ता हालेर बनाइने भएकाले यसलाई रोयल पिस्ताचियो नाम दिए। ग्राहकले यो स्वाद खुब मन पराएका छन्।
'यो फ्लेभर ग्राहकले साह्रै मन पराएका छन्। कसैकसैले त यहाँ बसेका बेला हाम्रा लागि पिस्ताको बोक्रा समेत छोडाइदिन्छन्,' सफलले हाँस्दै सुनाए।
रेस्टुरेन्ट खोलेपछि उनीहरूलाई सामाजिक सञ्जालमा पछ्याइरहेका, केही स्थानीय र आउजाउ गर्ने मानिसहरू आउन थालिहाले। तर भर्खरै खुलेकाले उनीहरूले काम बाँडफाँट गरिसकेका थिएनन्। त्यसैले सबै काम सक्दा राति एक/दुई पनि बज्थ्यो।
एक–दुई दिनमै उनीहरूकहाँ चर्चित फूड भ्लगर 'नेपाल फूड' पुग्यो। नेपाल फूडले भिडिओ फिचर गरेपछि मिस्टर वाफल्समा सोच्दै नसोचेको भिड भयो। त्यहाँ गएर भिडिओ बनाउनेले नाम नै 'भाइरल मिस्टर वाफल्स' भन्न थाले। ग्राहक व्यवस्थापन गर्न उनीहरूलाई हम्मे पर्यो। आफूले मात्र काम नभ्याएर त्यो बेला उनीहरूले आफ्नो जोटो स्टुडियोका कर्मचारीलाई समेत सहयोगका लागि बोलाए।
'मान्छेहरूलाई लाइनमा मिलाएर राख्नुपरेको थियो। हरेक दस मिनेटमा टेबलको पानी र टिस्यु फेर्नुपरेको थियो,' सिद्धार्थले भने, 'त्यसैले अचेल टिस्यु पेपरहरू काउन्टरमै राख्छौं।'

अहिले उनीहरूले आ–आफ्नो काम पनि बाँडफाँट गरिसकेका छन्। उज्ज्वल आफ्नो सोख र पढाइ अनुसारै पकाउने काम गर्छन्। पैसा र आवश्यक सामानको व्यवस्थापन गर्ने जिम्मा सिद्धार्थको हो। अनि ग्राहकको जिम्मा अर्थात् आएका ग्राहकलाई ध्यान दिनेदेखि भिडिओहरू बनाउने र सामाजिक सञ्जाल व्यवस्थापन सफलले गर्छन्।
उनीहरूले पाँच जनालाई रोजगारी पनि दिएका छन्।
यहाँका अधिकांश ग्राहक २० वर्षमुनिका हुन्। साना केटाकेटीले आफ्ना आमाबुबालाई यहाँ जाने भनेर पनि आएका हुन्छन्। सफलका अनुसार यसरी बच्चाका लागि आएका केही आमाबुबा के अर्डर गर्ने भनेर अलमल पनि पर्छन्।
'वाफल नयाँ खानेकुरा नभए पनि यसरी चलेको परिकार होइन। फेरि यो अहिलेको युवा पुस्ताले मन पराउने भएकाले धेरै आमाबुबालाई थाहा हुँदैन। त्यसैले धेरैले यो के चिज हो भनेर सोध्छन्,' उनले भने, 'हामी बेल्जियन डिजर्ट हो भनेर बुझाइदिन्छौं। यति कम समयमा पनि एकचोटि आएका ग्राहक फर्की फर्की आएका छन्।'
एक जना त उनीहरूको भिडिओ हेरेर वाफल खानै भनेर सुर्खेतदेखि आएको उनीहरूले सुनाए।
हुन पनि मिस्टर वाफल्सलाई ग्राहकले मन पराएका भिडिओबाटै हो। सफल, उज्ज्वल र सिद्धार्थ सुरूदेखि नै भिडिओहरूमा आफ्नो काम खुलस्त पार्दै फलोअरहरूसँग जोडिए। आफ्ना कुरा फलोअरहरूलाई भने, उनीहरूका कुरा सुने। यसले उनीहरू र फलोअरबीच बेग्लै सम्बन्ध गाँसिएको छ।
यो सम्बन्ध यतिसम्म बाक्लो भएको छ, उनीहरू केही समस्यामा परे भने फलोअरहरूले सक्दो साथ र सुझाव दिन्छन्।
हालसालै यस्तै एक घटना भयो।
उनीहरूको वाफल बनाउने मेसिन बिग्रियो। उनीहरू आफै नयाँ भएकाले के भएको भन्ने मेसो पाइरहेका थिएनन्। यो समस्या उनीहरूले सदाझैं भिडिओमा देखाए। यस्तो मेसिनबारे थाहा पाएका फलोअरहरूले उनीहरूलाई समस्याको जड, समाधानदेखि बनाउने ठाउँको ठेगानासम्म दिए।
त्यस्तै कति ग्राहकसँग उनीहरूको राम्रो चिनजान भइसकेको छ। अनि धेरै नेपाली ब्रान्ड र स्टार्ट–अपहरूले उनीहरूलाई समर्थन गरेर उपहारहरू पठाउन थालेका छन्। उनीहरू पनि विभिन्न स्टार्ट–अप र नेपाली ब्रान्डहरूकहाँ पुगेर सल्लाह लिइरहेका छन्, अनुभव बाँडिरहेका छन्।
व्यवसाय राम्रो हुँदै गएपछि मिस्टर वाफल्सको शाखा खोल्ने उनीहरूको सोच छ। त्यस्तै वाफल बाहेक अरू के परिकार बेच्न सकिन्छ भन्नेबारे पनि अध्ययन गरिरहेका छन्।
यसरी सामाजिक सञ्जालको भरपुर सदुपयोग गरेर, मानिसहरूसँग जोडिएर आफ्नो काम अगाडि बढाइरहेका तीन युवा सिद्धार्थ, सफल र उज्ज्वल अब व्यवसाय राम्ररी चलाउन सक्नेमा आत्मविश्वासी छन्।
'हामीले सुरूदेखि नै विभिन्न चुनौती सामना गर्दै काम गर्यौं। त्यसले हामीलाई अप्ठ्यारो र गाह्रो स्थितिमा कसरी काम गर्ने भन्ने सिकाएको छ,' सफलले भने, 'त्यसैले अब मुस्किल स्थितिमा पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास भएको छ।'
अन्तिममा मैले यी तीन साथीलाई उनीहरूकै प्रश्न सोधेँ — के रहेछ त, साँच्चै नेपालमा बसेर काम छैन? कि हाम्रा युवा अल्छी भएका हुन्?
उनीहरूले एउटै जबाफ दिए, 'हामी त नेपालमै केही गर्न सकिन्छ भनेर बसेका हौं। यहीँ सक्दो मेहनत गरिरहेका पनि छौं। सफल हुन्छौं भन्ने विश्वास छ। कति ग्राहक हाम्रो कथा सुनेर तीन जना भए पनि बिदेसिएनन् भनेर खुसी हुनुहुन्छ। यो पनि हाम्रो सफलता हो!'
***
