कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजना तथा युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाको सहयोगमा कौसी खेती तालिम सुरू गरिएको छ।
भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई कौसी खेती सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र सीप दिलाउने अभिप्रायले सो तालिम आयोजना गरिएको हो।
दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले सिकाइलाई व्यवहारमा उतार्न सके सहभागी महिलाहरूको पारिवारिक स्वास्थ्य तथा पोषण र सहरी हरियालीमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले तालिम दिएपछि कौशीको निरीक्षण पनि गरिने बताइन्।
विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले आफूले उपभोग गर्ने तरकारी बजारबाट किनेर खान सक्नु गौरवको विषय नरहेको बताइन्।
‘हामी बजारबाट तरकारी मात्र होइन, सँगसँगै विष पनि किनिरहेका हुन्छौं। त्यसलाई कम गर्न पनि सहरी क्षेत्रमा कौसी खेती अपरिहार्य छ,’ उनले भनिन्।
कृषि संकायका डिन प्रा.डा. अर्जुन कुमार श्रेष्ठ, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान कृषि संकायका डिन प्रा.डा. होमबहादुर बस्नेत, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेल र युएसएआइडी कृषि उच्च शिक्षा परियोजनाका राष्ट्रिय व्यवस्थापक डा. केशवप्रसाद प्रेमीले सहरी क्षेत्रमा कौसी खेतीको महत्व, कौसी खेती सम्बन्धमा विश्वस्तरमा विकास भएका अनुकरणीय पद्धति तथा प्रविधिहरूको विषयमा जानकारी गराएका थिए।
उनीहरूले आगामी दिनमा यस सम्बन्धमा समुदाय र विश्वविद्यालयबीचको साझेदारी कायम रहनुपर्ने बताए।
निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा उक्त तालिमका संयोजक डा. निराजन भट्टराईका अनुसार तालिममा भरतपुर महानगरपालिका अन्तर्गतका नारायणगढ र भरतपुर क्षेत्रमा बसोबास गर्ने ३० जना गृहिणी महिलाको सहभागिता छ।
‘तालिममा कौसी खेतीको परिचय, स्थान छनौट, नर्सरी व्यवस्थापनका समस्या र समाधान, माटो व्यवस्थापन, मल र विषादीको असर, प्रांगारिक मलका स्रोतहरू, माटो चढाउने, टेका र थाँक्रा दिने, गोडमेल छापो र मल्चिङ, काटछाँट, रोग कीरा व्यवस्थापन र आइपिएम विधि, बोकासी मल बनाउने विधि, घरेलु विषादी बनाउने विधि, इएम-२ बनाउने विधि, पोलिब्याग र प्रोब्यागमा माटो राख्ने विधि लगायत विषयबारे छलफल र सामूहिक अभ्यास गराइने छ,’ निर्देशक भट्टराईले भने।
तालिम अवधिभर कौसी खेती, बाली र बिरूवाको एकीकृत रोग तथा कीरा व्यवस्थापन, नर्सरी व्यवस्थापन लगायतका विषयमा लामो समय अनुभव सँगालेका प्रशिक्षकहरू लेखनाथ पोख्रेल र तुलसा ज्ञवालीले सहजीकरण गर्ने भट्टराईले बताए।