याक चौंरी कृषक महासंघले औपचारिक रूपमा गठन भएको छ।
याक चौंरी संघको ११ जिल्लामा कार्यसमिति गठन भएपछि बुधबार काठमाडौंमा एक कार्यक्रम गरि महासंघ गठन गरिएको हो।
कृषि तथा पशुपन्छी मन्त्रालय र पशु सेवा विभागले सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)मा काठमाडौंमा भएको दुईदिने कार्यक्रमपछि महासंघलाई बैधानिकता दिएको हो।
बुधबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेल एवं सह-सचिव सूर्य प्रसाद पौडेल, पशु सेवा विभागका उपमहानिर्देशक सुलोचना श्रेष्ठ, याक चौँरी कृषक महासंघ, नेपालका अध्यक्ष दावा साङ्ग्बु शेर्पा, इसिमोडका महानिर्देशक पेमा ज्याम्शोले संयुक्त रूपमा महासङ्घको विधानलाई सार्वजनिक गरेका थिए।
नवगठित महासंघका अध्यक्ष दावा साङ्ग्बु शेर्पाले महासङ्घको घोषणा तथा कार्यसमितिको परिचय प्रस्तुत गर्दै नवगठित कार्यसमितिका सदस्यलाई शपथ ग्रहण गराएका थिए।
महासंघको उद्धेश्य पशुचरणमा आवद्ध कृषकको संस्कृतिको पुस्तान्तरण रहेको र यसका लागि महासंघले गर्नुपर्ने कामहरूका बारेमा पनि अध्यक्ष शेर्पाले कार्यसमितिलाई ब्रिफिङ गरे।
महासंघमा ११ जिल्लाका याक चौंरी कृषक आवद्ध छन्। यसले आगामी दिनमा चौंरी याक संरक्षण र याक चौंरी कृषकको हितमा विभिन्न काम गर्ने लक्ष्य लिएको छ।