कञ्चनपुरको पुनर्वास नगरपालिकाका केही वडा बाढीको जोखिममा छन्। यी वडाका केही ठाउँका खेतमा बर्खायाममा प्रायः बाढी पस्ने गर्छ। बाढीले खेतीमा केही क्षति पनि गर्थ्यो। हप्ता दिनपछि खेतको पानी सुकेर जान्थ्यो। पछि खेत हराभरा हुन्थ्यो। तर यो वर्ष भने बाढीपछि खेतीमा भएको नोक्सानीले पुनर्वासका किसानहरू चिन्तित र चकित भएका छन्।
पुनर्वास नगरपालिका-७ परासनका कृष्णराज रानाले २२ बिघा जमिनमा उखु र धान खेती गरेका छन्। १५ बिघा जमिन उनको आफ्नै हो। थप ७ बिघा जमिन भाडामा लगेर धान रोपेका छन्। उनले माघदेखि फागुनसम्म उखु रोपेका थिए। खेतमा रोपेका उखु ५ फिटजति अग्ला भएका थिए। साउन २४ र २५ गते दोदा नदी र कर्मी खोलाको पानी उनको खेतमा पस्यो।
बाढीपछि उनको खेती आगो लगाएर जलाएको जस्तो भएको छ। ७ बिघा उखु र एक बिघा जति धान गरी ८ बिघा खेतमा लगाएको खेती नष्ट भएको छ।
‘धान त आश नगरे हुन्छ, सबै सुकिसक्यो, उखु पनि त्यस्तै हो,’ उनले सुनाए।
खेती लगाउन ८ बिघा जमिनमा उनले ५ लाख बढी लगानी गरेका थिए। अहिले त्यो लगानीसँगै सबै खेती सखाप हुँदा घाटा व्यहोर्नु परेको उनले सुनाए।
‘बाढी त पहिला पनि आउथ्यो, तर यस्तो क्षति कहिल्यै भएन, यो पटक त रोपेको धान माटोमा कुहिएर सकियो। बोटै छैन। पानी पुगेको ठाउँसम्म उखु पनि सेतो भएको छ। पात सडेको छ,’ उनले भने।
अहिले त उनको खेतसम्म जाने बाटो नै बन्द छ। खेत जलेको जस्तो भएको छ। बाटो कहाँनेर थियो भन्ने नै थाहा छैन।
उनकोजस्तै पीडा पुनर्वास-७ परासनका छल्लु रानाको पनि छ। उनको खेत भगर खोलाको किनारमा छ। उनले पाँच बिघा जमिनमा खेती गरेका थिए। बाढीपछि अढाई बिघा जमिनमा लगाएको उखु र धान नष्ट भएको छ।
लगाएको आधा खेतीमा क्षति हुँदा उनको वर्षभरिका योजनामा असर पुगेको छ।
‘केमिकल बाढीमा मिसाएपछि उखु र धान नष्ट भयो, वर्षभरिका योजना टुटेर गए,’ उनले भने।
उनको मुख्य आम्दानी उखु हो। पोहोर धान लगाएको खेतमा पनि यसपटक उनले उखु लगाएका थिए।
‘उखुबाट नगद पैसा आउँछ भनेर धेरै उखु रोपेको थिएँ। घर बनाउने सोच थियो, अब त्यसो गर्न नसकिने भयो,’ उनले भने।
बाढी पसेका खेतमा धान, उखु र अन्य वनस्पति मरेर कुहिएर सुकेका छन्।
पुनर्वास नगरपालिकाको कृषि शाखाका अनुसारका केमिकल बाढीमा मिसिएपछि त्यहाँका तीन वटा वडामा गरी ३ सय ६१ बिघामा लगाइएको धान र उखुबाली नष्टको भएको छ।
स्थानीयहरूले नजिकै रहेको चिनी मिलले बाढीमा केमिकल मिसाएपछि मेहनत गरी लगाएको धानबाली नष्ट भएको दाबी गरेका छन्।
किसानहरूले बाढीको पानी परीक्षण गर्नुपर्ने माग गरेका थिए। सोहीअनुसार दुई पटक नमूना संकलन गरियो। संकलन गरिएको दुबै नमूना सुदूरपश्चिम प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत् भदौ ३ मा परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा पठाइएको थियो। नार्कमा पानी परीक्षण हुन नसक्ने भएपछि काठमाडौंमै निजी प्रयोगशाला वाटर इन्जिनियरिङमा परीक्षण गरियो। रिपोर्टमा बाढीमा केमिकल नै भएको पुष्टि भयो।
बाढीमा केमिकल कहाँबाट आयो भन्ने बारेमा पत्तो भने नलागेको पुनर्वास नगरपालिकाको कृषि शाखाका प्रमुख कर्णबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार परीक्षण गरिएको पानीमा केमिकल अक्सिजन डिमान्ड (सिओडी) र बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) को मात्रा फेला परेको छ। साउन ३० मा संकलन गरिएको नमूनामा सिओडीको मात्रा १४४ मिलिग्राम प्रतिलिटर र बिओडीको मात्रा ५७ मिलिग्राम प्रतिलिटर भेटिएको कृषि शाखा प्रमुख शाहीले जानकारी दिए।
उनका अनुसार दोस्रो पटक ४ दिनपछि भदौ १ मा संकलन गरिएको नमूनामा पनि सिओडीको मात्रा ११ र बिओडीको मात्रा ४ फेला परेको थियो।
नगरपालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेर केमिकल कहाँबाट आयो भन्नेबारे थप छानबिन प्रक्रिया अघि बढिरहेको शाहीले बताए।
सुगर मिलले पानीमा भेटिएको केमिकल प्रयोग गर्छ वा गर्दैन पत्ता लगाएर आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको पुनर्वास नगरपालिकाले जनाएको हो।
सो क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सासंद बीरबहादुर थापाले भने बाढीमा मिसिएको सो केमिकल चिनी मिलको नै भएको दाबी गरे। उनका अनुसार केमिकलका कारणले खेती नष्ट भएको कुरा ल्याब टेस्टले नै प्रमाणित गरेपछि मिलको नै दोष देखिएको हो।
‘बाढीमा मिसिएको केमिकल चिनी मिलकै हो, यो कुरालाई स्वीकार गरेर सरकारले किसानलाई चिनी मिलसित उचित क्षतिपूर्ति भराउने काम गर्नुपर्छ,’ उनले भने।
पुनर्वास-७ का वडा अध्यक्ष मूलचन्द रानाका अनुसार सो वडामा धान ५० बिघा र सय बिघा उखु नष्ट भएको छ। जसबाट २ सय बढी किसानहरू प्रभावित भएका छन्।
बाढी त सधैँ आउँथ्यो यो पटक यति धेरै खेतीमा क्षति पुग्नुको कारण नजिकै रहेको भागेश्वर चिनी मिलको बदमासी भएको वडा अध्यक्ष रानाको पनि दाबी छ।
मिलले कसैले थाहा नपाउने गरेर बाढीमा मिलको फोहोर पानी छोडेका कारण खेती नष्ट भएको उनले बताए।
‘पहिला खेतमा पानी भरिए पनि फेरि खेती पलाउँथ्यो। अहिले त जलेर गयो। अहिले धान, उखु मात्रै होइन सिरो घाँस पनि जलेर नष्ट भएको छ,’ उनले भने।
उनका अनुसार ‘सिरो’ घाँसमा बाढीले क्षति हुँदैन थियो। तर, सो घाँससमेत पानीका कारण सुकेर जानु मिलले नै केमिकल मिसाएको भन्ने प्रमाणित हुन पुग्छ।
वडा अध्यक्ष रानाका अनुसार पहिला मिलले चिनी बनाउने काम मात्रै गर्थ्यो। यो वर्षदेखि मदिरा बनाउने काम पनि सुरू गरेको छ।
‘मदिरा बनाउँदा केही न केही केमिकल हालेको हुनसक्छ। पहिला फाल्ने केमिकल कमकम गरेर कहिलेकाहीँ नालामा फालेको हुन्थ्यो, बाढी आएको मौका पारेर, सबै केमिकल त्यही बाढीमै छोडेछ पानी नै कालो भएर आयो। जहाँसम्म त्यो पानी फैलियो, त्यहाँसम्म पुरा खेती नष्ट भएको छ,’ उनले भने।
वडा अध्यक्ष रानाले मिललाई दुर्गन्ध भयो, केमिकल जथाभावी छोड्नु भएन भनेर पटक-पटक कुरा सुनाइएको बताए।
‘मिलका कर्मचारी उखु लगाउन प्रोत्साहन गर्ने कार्यक्रम ल्याएर गाउँतिर आउँछन्, यसपालि पनि उखु कति छ, कहिलेदेखि काट्ने भनेर डाटा संकलन पनि गर्न गाउँमा पुगेका बेला मैले कुरा राखेको हो,’ वडा अध्यक्ष रानाले भने।
केमिकलको असर देखिएकाले आगामी दिनमा माटोको उर्वरा शक्ति नष्ट त हुने होइन भन्ने शंका त्यहाँका किसानलाई छ।
‘उर्वरा शक्ति पनि नष्ट होला भन्ने जोखिम छ, बाढी आउनपूर्व केमिकल छोडेको थियो, माछाहरू समेत मरेका थिए, खोला गन्हाउने भएको थियो, मिलले केमिकल भगर खोलामा छोड्छ,’ रानाले भने।
किसान रामकिसन रानाका अनुसार पुनर्वासका किसानका लागि चिनी मिल उद्योग मुख्य आयस्रोतको माध्यम बनेको छ। सोही चिनी मिलका कारण त्यहाँका किसानहरू उखु खेतीबाट उभो पनि लागेका छन्। धानभन्दा उखु खेतीबाट राम्रो आम्दानी हुन्छ। बाढी लाग्ने भएकाले उखुमा पानी पसे पनि केही असर हुँदैन भनेर उखु खेतीमा किसानले जोड दिएका छन्।
‘उखु खरिद गरेअनुसार मिलले राम्रै पैसा दिन्छ, मिलले गर्दा किसानलाई फाइदा छ। तर यो केमिकल असर नगर्ने गरी व्यवस्थापन गरेको भए हामीलाई मिलप्रति कुनै गुनासो हुने थिएन,’ रानाले भने।
अहिले किसानहरूले जनप्रतिनिधिलाई गुहारिरहेका छन्। कसरी हुन्छ समाधान गरिदिन माग गरिरहेका हुन्।
वडा सदस्य केशव सार्कीले किसानका समस्या समाधान गर्न सम्बन्धित निकायमा सबैतिर कुरा राख्ने काम भइरहेको बताए।
‘हामीले कृषि मन्त्री, नगरपालिकालाई सिफारिस गरेर कृषि ज्ञान केन्द्रबाट अनुगमन भयो, ल्याब परीक्षण भएर रिपोर्ट आयो, रिपोर्टमा केमिकल मिसिएको प्रमाणित पनि भयो, केमिकल कहाँ बाटो आयो भन्ने कुरा पत्ता लागेन, किसानलाई क्षतिपूर्ति दिने काम पनि भएको छैन,’ उनले भने।
उनले कृषि ज्ञान केन्द्र र प्रदेश सरकारले यस विषयमा छानबिन गर्ने प्रतिबद्धता जनाएअनुसार गरेको काम अधुरो नै रहेको बताए।
सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले क्षतिग्रस्त ठाउँको निरीक्षण र अवलोकन गरेका थिए।
केमिकल कहाँबाट आयो भन्नेबारे प्रमाणित गर्ने काम भइरहेको मन्त्री चौधरीले बताए।